बस दुर्घटनामा आफैँ वेपत्ता भएको सूचना पढ्दा…

रामहरि अधिकारी
काठमाडौं

‘राम राम, हेर्दा हेर्दै वस कस्तरी खस्यो नि त्रीशुलीमा ।‘
‘कहिले कहाँको वस खस्यो र त्रीशुलीमा ?‘
’अघि भर्खर , म नारायणगढवाट आउँदै थिएँ, काठमाडौँवाट उता जाँदै गरेको वस कुरीनटार र मुगलिंगको वीचमा चेरेस भन्ने ठाउँमा खसेको देखियो । हेर्दा हेर्दे वस चुर्लुम्म पानीमा डुव्यो ।’
२०५९साल असोज ११ गते विहान म काठमाडौँवाट धादिंगवेशी जाँदै थिएँ ।
त्यही वसमा मलेखुमा चढेकी एक महिलाले आफूसंगै वसेका यात्रुसंग गरेको कुराकानी थियो त्यो ।
वसमा चढ्ने यात्रुको भिड वढेपछि ति महिला छेकिइन्, उनको कुरा पनि सुनिन छोड्यो । मैले पनि थप चासो दिइन ।
म युनाइटेड मिशन टु नेपालको पोषण कार्यक्रममा तनहुँको कार्यक्रम हेर्ने गरि नियुुक्त भएको थिएँ ।
तनहुँको फिल्डमा काम गर्ने स्थानिय सहितका हामी सम्पूर्ण नयाँ कर्मचारीलाई परियोजना र आफ्रनो कामवारे जानकारी दिन हाम्रो कार्यालयले २०५९ को असोज ७ वाट १० सम्म परिचयात्मक तालिम आयोजना गरेको थियो ।
असोज १२ गते तनहुँ परियोजनाको कार्यालय रहेको सतिश्वाराको चन्द्रावतीमा कार्यक्रम उद्रघाटन हुने तय गरिएको थियो । त्यसमा भाग लिन परियोजनाका फिल्ड कर्मचारीसहित काठमाडौँ केन्द्रीय कार्यालयका केहि कर्मचारी पनि तनहुँ जाने कुरा भयो ।
यस अनुरुप म, तनहूँका ४ जना फिल्ड कर्मचारी दिनेश पण्डित, प्रेम अधिकारी, सुशिला कुँवर र सुभद्रा देवकोटा, केन्द्रीय कार्यालयका निमित्त निर्देशक कल्पना चौधरी र फिल्ड सम्योजक विपिन वैद्य, साझेदार संस्था वाल तथा महिला विकास केन्द्रको वोर्ड सदश्य प्रकाश अकेला र फिल्डमा हुने सर्भेको लागि नियुक्त शोभा थापा गरि जम्मा ९ जना तनहुँ जाने भए ।
त्यति मुलुकमा चरमद्धन्दको अवस्था भएकोले अफिसको गाडी लैजाँदा झमेला होला भन्ने अनुमान गरि असोज ११ गते शुक्रवार सवैजना सार्वजनिक वसवाट यात्रा गरि तनहुँ जाने कुरा भयो ।
कार्यालयले हरेक फिल्ड कर्मचारुलाई आवश्यक समानहरु एक एक वटा वाक्सामा हालेर दिने भयो ।
अफिसको लागि अलिक ठूलो वाक्सा थियो ।
वाक्सा कर्मचारीहरु जाने वसमै तनहुँ लगिने भयो । तर वाक्साहरुको चावि मलाई दिइयो ।
वस खोजेर टिकट लिने जिम्मा तनहुँको टोलिका सवैभन्दा टाठा भाई प्रेम अधिकारीले लिए ।
सवैजना विहान ७ वजे कलंकीमा जम्मा भएर वस चढ्ने कुरा थियो । मैले हुन्छ भनेँ ।
मेरो व्यथा अर्कै थियो । म त्यतिवेलासम्म काम गरेको धादिंगको वुढाथुम हल्थपोष्टको वाँकि प्रशासनिक कामकोलागि एकपटक जनस्वासथ्य कार्यालय धादिंग नपुगि नहुने थियो ।
मैले सोचेँ, आखिर तनहुँमा कार्यक्रम शनिवारको १२ वजे मात्रै हो । म शुक्रवार विहानै धािदंग जान्छु अनि काम सकेर शनिवार विहान ५ वजेनै पोखराको वसमा गएँ भने १२ वजे त पुगिहाल्छु ।
अनि म शुक्वार कलंकीमा तनहुँको लागि सिट रोकेको वस नचढि धादिँगको वस चढँे । कलँकीमा पुग्दा तनहुँ जाने साथीहरु नआइपुग्दै म धादिँगको वस चढेँ ।
त्यतिवेला मोवाइल फोन आइनसकेको र इमेलको पनि चल्ति भैनकेको हुनाले विहानै कसैलाई खवर गर्न पनि पाइएन ।
साथीहरुले मलाई एकछिन कलंकीमा पर्खे होलान्, अनि गालि गर्दै मलाई छोडेर अगाडी वढे होलान् भन्ने सोच्दै धादिंगतिर लागेँ ।
त्यहि वसमा जाँदा हो मलेखुमा चढेकी ति महिलाले दूर्घटनाको वारेमा वताएको सुनेको ।
दिनभरमा धादिंगको काम सकेर वेलुका काठमाडौँ फर्किन लागेँ ।
मेरा सवै परिवारका सदश्यहरु रविभवनमा साढुदाईको डेरामा जम्मा हुने कुरा भएकोले म पनि किर्तिपुरको डेरामा नगई त्यतै लागेँ ।
वेलुका रेडीयोले काठमाडौँवाट तनहुँको पोखरीछाप जाँदै गरेको गाडी त्रीशुली नदमिा खसेर वेपत्ता भएको समाचार दियो ।
यो विहान सुनेकै दूर्घटना हुनु पर्छ भन्ने भयो । तर पोखरीछाप भन्ने नाम कहिल्यै नसुनेको हुनाले खासै मतलव गरिएन ।
भोलिपल्ट १२ गते विहान ५ वजेनै कलंकीवाट पोखराको वस चढेँ । र १० वजेतिर डुम्रे पुगेर झरेँ ।
अनि चन्दावती वस लाग्ने ठाउँको टिकट काउन्टरमा गएर ‘हिजो विहान काठमाडौँवाट प्रोजेक्टका मान्छेहरुलाई लिएर आएको चन्द्रावतीको वस कति वेला गयो ?’ भनेर सोधेँ ।
काउन्टरवालाले मेरो मुखमा एकछिन हेरेर भने,
‘ओहोे हिजो आएको त्या वस त त्रीशुलीमा खसेर वेपत्ता भयो नि, थाहा पाउनु भएन ?’
हिजोे ति महिलाले भनेको र रेडीयोले समाचार दिएको वस त्यहि रहेछ । त्यो वस चन्द्रावतीवाट अगाडी पोखरीछाप भन्ने ठाउँसम्म जाने भएकोले रेडीयोले पोखरीछाप जाने वस भनेको रहेछ । अनि ‘चन्दवती जाने हाम्रा साथीहरु चढेको त्यही वस हो’ भन्ने मैले अनुमान नगरेको रहेछु ।
ति काउन्टरवालाले त्यो दूर्घटनाको वारेमा नजिकैको प्रहरीचौकिमा गएर सवैकुरा वुझ्न भनेपछि म त्यतै गएँ ।
चौकिका प्रहरीहरुलाई मेरो परिचय दिँदै हिजोको दूर्घटनाको वारेमा सोधेँ ।
प्रहरीले मलाई उद्धारको क्रममा भेटिएका सवै शव र घाइतेहरुलाई भरतपुर अस्पताल लगिएको अनि वेपत्ताहरुको खोजि भैरहेको वताए अनि सवेको नाम हेर्न त्यहीँको सूचनापाटीमा हेर्न भने ।
सूचनावाटीमा गएर हेर्छु त मृतक र घाइतेको नाम मुन्तिर वेपत्ताको सूचिको एक नम्वरमा मेरो नाम थियो । मैले अरु नाम हेर्नै सकिन, के गरँ, कसो गरुँ भयो । सोचेँ, कोहि पनि जिवित छैन होला भनेर ।
मैले प्रहरीलाई आफू जिवितै भएको वताएँ ।
भएको के रहेछ भने दूर्घटनामा परेको वस क्यू छलेर भागेको वस रहेछ । त्यसलाई चेकपोष्टमा रोक्न खोज्दा पनि रोकेको रहेनछ । तसर्थ दूर्घटना पछि गाडीका यात्रुको सूचि कहिँ खोज्दा पनि भेटिएको रहेनछ ।
दूर्घटना स्थलमा हाम्रा टोलीका कुनै सदश्यको परिचयपत्र भेटिएपछि प्रहरीले परिचयपत्रमा भएको अफिसको फोन नम्वरमा सम्पर्क गरेर दूद्र्धटनाको जानकारी दिएछ । अनि त्यति वेला अफिसमा रहेका कर्मचारीले तनहुँ जाने कर्मचारीको सूचि हेरेर नाम टिपाएका रहेछन् । उनीहरुलाई म त्यो वसमा नगएको थाहा थिएन ।
अफिसवाट त्यहाँका कर्मचारीहरुले म वस्ने डेराको घरवेटीको ल्याण्डलाइनमा फोन गरेछन् ।
घरवेटीले म विहानै जागीरमा गएको र मेरा अन्य परिवारहरु आफन्तकोमा गएको तर कुन आफन्त हो र कहाँ वस्छन् थाहा नभएको वताएछन् ।
अनि म समेत त्रीशुलीमै वेपत्ता भएको अनुमान गरेको रहेछ मेरो अफिसले ।
मेरो नाम प्राप्त गरेका उद्धार टोलिका प्रहरीले घटनास्थ्लमा मेरो जिवित वा मृत शरीर केहि पनि नभेटेकोले पानीमा वससंगै वगेर वेपत्ता हुनेको सूचिमा मेरो पनि नाम आएको रहेछ ।
त्यसपछि अरु कुरा नगरी म सिधै लागेँँ भरतपुरतिर ।
भरतपुर अस्पताल पुग्दा त मैले जिवित भनेर आशै नगरेका प्रकाश अकेला र विपिन वैद्यदाई अस्पताल वाहिर आउँदै गरेको देखेँ । उहाँहरु वस खस्न लागेपछि झ्रयालवाट वाहिर हाम्फाल्नु भएको रहेछ । सामान्य घाइते मात्र भएकोले सामान्य उपचार पछि डिस्चार्ज हुनु भएको रहेछ । उहाँहरु त्यसपछि काठमाडौँ पर्किनु भयो ।
प्रकाश अकेला र विपिन वैद्य दाईसंग त्यसपछि धेरै वर्ष काम गरियो । विपिन वैद्यले अहिले पोषण विज्ञानमा उच्चस्तरिय विज्ञता हाँसिल गर्नु भएको छ भने पैकाश अकेला अहिले वृद्ध र असक्त भएर गाउँतिरै हुनु हुन्छ ।
अस्पताल भित्र वार्डमा सुशिला र सुभद्रालाई उपचाररत भेटेँ ।
तर कल्पना दिदी, शोभा वैनी, दिनेश र प्रेम भाईहरु देखिन । उनीहरु सवैलाई त्रीशुलीले निलेर वेपत्ता वनाएछ ।
केहि दिन पछि कल्पना दिदीको शव दूर्घटनास्थल भन्दा निकै तल भेटियो । अरुको शव पनि भेटिएन ।
पुराना शिर्षस्थ नेता परशुनारायण चौधरीकी छोरी कल्पना चौधरी असाध्यै शालिन हुनु हुन्थ्यो । उहाँ आफ्रना पिताको नाम लिएर कहिल्यै घमण्ड गर्नुहुन्न थियो ।
यस्तै प्रेम अधिकारी वाल तथा माहिला विकास केन्द्र संग आवद्ध असाथ्यै कुशल नेतृत्व क्षमता र राम्रो सम्भावना भएको भाई थियो ।
गहिरो चोट लागेका सुुभद्रा र सुशिला केहि दिन पछि अस्पतालवाट डिस्चार्ज भए ।
गाडीमा भएका वाक्साहरु केहि दिन पछि मुंग्लिननेर भेटेर प्रहरीले हामीलाइ वुझायो ।
म चितवन प्रहरीसंग वेपत्ताको खोजिकोलागि आवश्यक समन्वय गरेर त्यतैवाट काठमाडौँ फर्केँ ।
यो घटनाले गर्दा कतै यात्रा गर्दा सूचना र सम्पर्कको कति धेरै महत्व हुन्छ भनेर मैले सिकेँ ।
आजसम्म पनि त्रीशुलीको किनारै किनार मुंगलिंग हुँदै यात्रा गर्दा त्यो दूर्घटनाको सम्झनाले झसंग वनाउँछ ।
तर ‘काल नआई मरिदँन’ भन्ने नेपाली उखान पनि सत्य होकि जस्तो पनि लाग्छ ।

रामहरि अधिकारी
मितिः २०७७ कार्तिक २६ गते, मंगलवार