अाज नेकपा स्थायी समिति बैठक : केपी अाउने सम्भावना, नअाए विधान बमाेजिम अगाडि बढ्ने तयारी

मूलखबर संवाददाता
काठमाडौं, २८ मंसिर

सत्तारूढ दल नेकपाकाे स्थायी समिति बैठक अाज पनि बस्दैछ । नेकपाकाे अान्तरिक विवाद उत्कर्षमा पुगेपछि मंसिर २१ मा बसेकाे बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा सहभागी नभएपछि दुबै प्रस्ताव र पत्रहरू स्थायी समिति सदस्यलाई वितरण गरिएको थियाे ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे डाकिएकाे   बैठकमा केपी अाेली सहभागी हुने सम्भावना रहेकाे बताइएको छ । उनी सहभागी नभए पार्टी विधान बमाेजिम बैठक अगाडि बढ्ने प्रबक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

मंसिर २१ मा धुम्बाराहीमै बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली दुईपन्ने पत्र पठाएर अनुपस्थित भएका थिए । स्थायी कमिटीको बैठक मंसिर २१ गते केहीबेर बसेर २८ गते बस्ने गरी टुंगिएको थियो ।

त्यसो त २१ गतेको बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी हुने भनिएको थियो । तर, अन्तिम समयमा उनी सहभागी भएनन् र ईश्वर पोखरेलमार्फत पठाइएको पत्र बैठकमा वाचन भयो ।

यसअघि प्रधानमन्त्री ओलीले धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बैठक बस्न सुरक्षा थ्रेट रहेको बताएका थिए । त्यही कारणले गर्दा मंसिर २१ गते कार्यालयमा सुरक्षाकर्मीहरुको बाक्लो परिचालन गरिएको थियो ।

तर, ओली पक्षका एक नेताका अनुसार पार्टी कार्यालयमा अन्य सुरक्षाको समस्या नभएर स्वास्थ्य सुरक्षाको थ्रेट प्रधानमन्त्रीले ओलीले महसुस गरेका हुन् । पार्टी कार्यालयको बैठकस्थल बालुवाटारको भन्दा साँघुरो रहेकाले कोरोना संक्रमणको जोखिम रहेको उनलेे  बताए ।

मंसिर २१ यता सहमति खोज्नका लागि शीर्ष तहमा अनौपचारिक छलफलसमेत गरिने नेताहरुले बताएका थिए । यो एक साताको अवधिमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच एक्लाएक्लै भेटवार्ता पनि भयो । तर, त्यो भेटवार्ताले कुनै सहमति जुटाएन । मंसिर २४ गते बालुवाटारमा भएको दुई अध्यक्षवीचको भेटवार्तामा प्रधानमन्त्री ओलीले माधवलाई छाडेर अाफुसँग सहकार्य गर्न प्रस्ताव  गरेका थिए ।

आइतबार बस्ने स्थायी कमिटीको बैठकमा कुनै ठोस एजेण्डामाथि छलफल गर्ने कार्यसूची नै नबनेको नेताहरु बताउँछन् । मंसिर २१ यता एजेण्डा तय गर्न सचिवालयको बैठक पनि बसेको छैन ।

स्थायी कमिटी बैठकमा केपी ओली र प्रचण्डका दुईवटा प्रस्ताव र विभिन्न चिठीपत्रहरु प्रस्तुत भएका छन् । स्थायी कमिटी सदस्यहरुलाई ती पत्रहरु पढेर आउन भनिएकाले आइतबारदेखि नेताहरुले बैठकमा बोल्ने क्रम सुरु हुने एक नेताले बताए । उनले भने, ‘ स्थायी कमिटीका सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम सुरु हुन्छ । नेताहरुले बोल्ने क्रम एकै दिनमा नसकिने भएकाले केही दिनसम्म चल्छ ।’

स्थायी कमिटीमा रहेका ओली, प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले आ-आफ्नो पक्षको लविङ गर्ने निश्चित छ । त्यसैगरी आफूलाई गुट निरपेक्ष बताउने हरिबोल गजुरेल लगायतका नेताले प्रचण्ड र ओलीलाई आपसमा मिल्न जोड गर्ने तयारी गरेको नेताहरु बताउँछन् ।