नेकपा स्थायी समिति बैठक धुम्बाराहीमा : प्रधानमन्त्री ओली आएनन्, विधिमा ढल्कीँदै नेकपा

मूलखबर संवाददाता
काठमाडौं, २१ मंसिर

सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षामा कडा सुरक्षा घेराबिच बैठक सुरू भएको बैठकमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष के पी ओली भने उपस्थित भएका छैनन् ।

हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको प्रधानमन्त्री निकट श्रोतले बताएको छ तर उनी हिजोको सचिवालय बैठकमै आज स्थायी समित बैठक राख्ने विषयमा असहमत भएकाले बैठकमा नआएको बुझिएको छ ।

ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको हो। नेकपाले यसअघि दुई अध्यक्षको सहमतिमा मात्रै बैठक डाक्ने र निर्णय गर्ने उल्लेख थियो।

स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ।

यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ। अहिले धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था अत्यान्त कडा पारिएको छ।

यसअघि पार्टी कार्यालयमा गर्ने तय भएको केन्द्रीय सचिवालयको बैठक ओलीले सुरक्षा जोखिमको सूचना आएको भन्दै अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटारमै गराएका थिए ।

बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन्।

आजको बैठकमा बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु सहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने दोहोर्‍याएका थिए।

नेकपाको स्थायी समितिमा कुल ४५ सदस्य रहने व्यवस्था छ । जसमा सभामुख भइसकेपछि अग्निप्रसाद सापकोटाले राजिनामा दिएका छन् ।

सभामुखबाट राजिनामा दिएका कृष्णबहादुर महरालाई अझैसम्म पनि स्थायी समिति सदस्यमा पुनर्वहाली गरिएको छैन । यसरी हेर्दा अहिले ४३ जना सदस्य रहेको स्थायी समिति रहेको छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले सचिवालय बैठकको सार सहित विभिन्न विषयहमा आफ्नो धारणा राखेपछि बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल सहितका सचिवालय सदस्यहरुले धारणा राख्न् र अन्य सदस्यहरुलाई अध्ययन सामग्री वितरण गरिने जनाइएको छ ।