शुरुदेखि अन्तसम्म स्थायी समिति बैठक रोक्ने ओलीको प्रयास विफल

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री तथा नेकपाका अध्यक्षसमेत रहेका के पी शर्मा ओलीले शनिवारको सचिवालय बैठकमा शुरु देखि अन्तिमसम्म नै बैठकको विरोध गरिरहे । कार्यकारी अध्यक्षले प्रस्तुत गरेको प्रस्ताव खारेजी सहित उनले स्थायी समिति बैठकको औचित्य र आवश्यकता नै नरहेको भन्दै आफू त्यसको लागि तयार नभएको बताइरहे । तर उनको एच्छा र चाहना विपरित सचिवालय बैठकले भोली पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा स्थायी समितिको बैठक बस्ने त्यसमा दुबै प्रस्ताव र पत्रहरुलाई छलफलमा लैजाने निर्णय गर्यो ।

आजको बैठकको सुरुवातदेखि अन्तिमसम्म भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक राख्ने वा नराख्ने भन्ने विषयमा छलफल भएको एक सचिवालय सदस्यले जानकारी दिए । उनका अनुसार बैठकको सुरुदेखि अन्तिमसम्म नै प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठक रोक्ने अनेक प्रयास गरेका थिए ।

भोलिको सचिवालय बैठकमा दुबै प्रतिवेदन पेश गरेर छलफल सुरु गरे पनि अनौपचारिक संवादलाई पनि थप निरन्तरता दिनेगरी बैठक राख्ने सहमति भएको छ । ती सचिवालय सदस्यले भने, ‘सुरुदेखि नै ओली कमरेड बैठक नराख्नेगरी प्रस्तुत हुनु भएको थियो । उहाँले बैठक रोक्ने अनेक प्रयास गरे पनि भोलि बैठक बस्ने भन्ने निर्णय भयो ।’

एक सचिवालय सदस्यका अनुसार अ‍ोलीले बैठकमा भने, ‘के गर्न स्थायी कमिटी बैकठ आवश्यक भयो रु मलाइ कू गर्नका लागि वा मेराविरुद्धको आरोपपत्र पास गर्नका लागि रु यहीँबाट निकास निकाले हुँदैन रु बहुमतको निर्णय मैले मान्दिँन ।’

बैठकमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलले पनि बैठक राख्न नहुँने बताएका थिए । तर, अनौपचारिक संवादलाई पनि निरन्तरता दिने भनेपछि पौडेल र पोखरेल पनि बैठकका लागि तयार भएका हुन् ।

नेकपामा विवाद चर्किदै गएपछि कात्तिकको अन्तिम हप्ता बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सरकार चौतर्फी असफल भएको निष्कर्षसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बहुमत सचिवालय सदस्यको सहमतिमा पेश भएको प्रतिवेदनमा ओलीले निकास दिनुपर्ने निष्कर्ष निकालिएको छ ।

आफूविरुद्ध विभिन्न प्रश्नसहित पेश भएको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै प्रचण्डको प्रतिवेदनको जवाफ पनि नदिने र बैठकमा छलफल पनि नहुने बताएका ओलीले मंसिर ३ गतेको बैठकमा आफूलाई जवाफी प्रतिवेदन तयार गर्नका लागि १० दिनको समय माग गरेका थिए ।

१३ गतेको सचिवालयमा ओलीले नेपालको शान्ति प्रक्रियादेखिका विषयबस्तु समेटेर प्रचण्डको प्रस्तावविरुद्ध जवाफी प्रस्ताव पेश गरेका थिए । प्रचण्डले पार्टी एकतापछिका गतिविधिमात्र समेटेकोमा ओलीले शान्ति प्रक्रियापछिका विभिन्न विषयमा प्रश्न उठाएका छन् ।

प्रतिवेदन पेश गरेपछि ओलीले १६ गतेको बैठकमा प्रचण्डको प्रस्तावमा छलफल हुन नसक्ने र सचिवालय बैठकको औचित्य नभएको बताएका थिए । ओलीले बहुमतको निर्णय पनि नमान्ने भन्दै १७ गतेको सचिवालय बैठक बहिष्कार गरेका थिए ।

प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले २० गते अर्थात आजसम्मका लागि सचिवालय बैठक स्थगित गरेको थियो । १८ गते बस्ने तय भएको स्थायी कमिटी बैठक भोलि आइतबारका लागि बोलाइएको छ । यसअघि नै नेकपा केन्द्रीय कमिटी बैठक २५ गतेका लागि बोलाइसकिएको छ ।

पार्टीका हरेक तहमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफूले बहुमतको निर्णय नमान्ने बताउँदै आएका छन् ।