सत्ता जाेगाउन अाेलीकाे दाैडधुप, चिनियाँ राजदुत भेटेपछि राती १० बजे गए राष्ट्रपति निवास

मूलखबर संवाददाता
काठमाडौं, ३ मंसिर

नेकपा विवाद दुर्घटनातर्फ उन्मुख भइरहेको वेला विगतमा जस्तै चिनियाँ चासो अभिव्यक्त भएको छ । राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी छिन् । ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको थियो । गत वैशाख र असारमा झन्डै विभाजनको तहमा पुगेको नेकपा विवाद सुल्झाउन राजदूत यान्छी सक्रिय भएकी थिइन् ।

१७ वैशाखमा नेकपा सचिवालय बैठकमा प्रचण्ड, नेपाल, खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको थियो । राजदूत यान्छीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् । १८ वैशाखमा प्रधानमन्त्री ओलीसँग भेट गरकी राजदूत यान्छीले अर्को दिन प्रचण्ड र नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन् ।

१६ असारमा नेकपामा नेताहरूले फेरि पनि प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा तनाव सुरु भएको थियो । २५ असारमा उनले प्रचण्डसँग भेट गरेकी थिइन् । त्यसअगाडि उनले २१ असारमा नेता नेपालसँग र २३ असारमा खनालसँग भेट गरेकी थिइन् । त्यसवेला राजदूत यान्छीले प्रधानमन्त्री ओलीसँग पनि भेटेकी थिइन् । यही पृष्ठभूमिमा यान्छी फेरि सक्रिय भएकी छिन् ।

राष्ट्रपति सक्रिय : एकै दिन प्रचण्ड र प्रधानमन्त्रीसँग अलगअलग भेट

चिनियाँ राजदूत हाउ यान्छीसँग राति साढे १० बजेसम्म बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री केपी ओली पार्टी र सरकारमाथि आइपरेको संकटका विषयमा परामर्श गर्न राति नै शीतलनिवास पुगेका थिए ।

पार्टीभित्रको बहुमत आफूविरुद्ध प्रयोग भए संसदीय दलमा मात्र संख्या पु¥याएर नयाँ दल बनाउने ओलीको प्रयास जारी छ । तर, त्यसका लागि विद्यमान कानुन बाधक छ । अहिलेको कानुनअनुसार संसदीय दल र पार्टी केन्द्रीय कमिटी दुवैतर्फ ४० प्रतिशत आवश्यक पर्छ । त्यसैले ओलीले संसदीय दलमा मात्र न्यूनतम ४० प्रतिशत पु¥याएर पार्टी विभाजन हुन सक्ने कानुन ल्याउन खोजेका छन् । त्यसका लागि मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपतिबाट अध्यादेश जारी हुन सक्छ । यो विकल्पमा ओलीले राष्ट्रपति भण्डारीलाई पटकपटक भेटेर छलफल गरेका छन् । तर, राष्ट्रपतिले सकेसम्म पार्टी विवाद मिलाउन र आवश्यक परे संसदीय दलमा बहुमत साबित गरेर बस्न प्रधानमन्त्रीलाई सुझाब दिएकी छिन् । यसबाहेक संसद् विघटनको विकल्पलाई लिएर पनि प्रधानमन्त्रीले राष्ट्रपति र कानुन व्यवसायीसँग संवाद गरेका छन् ।

त्यसो त नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध प्रस्ताव प्रस्तुत भएपछि उत्कर्षमा पुगेको विवाद व्यवस्थापन गर्न राष्ट्रपति विद्या भण्डारीले अघि सरेकी छिन् । उनले मंगलबार साँझ शीतलनिवासमा नेकपा अध्यक्ष प्रचण्डसँग दुई घन्टाभन्दा लामो छलफल गरिन् । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई भेटेका थिए । फर्किएपछि पनि उनले भेटको विषयवस्तुबारे नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए । सचिवालयका एक नेताका अनुसार प्रस्ताव फिर्ता लिन र विगतको सहमतिअनुसार प्रधानमन्त्रीलाई पाँच वर्ष सरकार सञ्चालनमा अवरोध नगर्न राष्ट्रपतिले प्रचण्डलाई आग्रह गरेकी थिइन् । ‘प्रचण्डले भने आफूले प्रस्तुत गरेको प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुने र पार्टी कमिटीले गर्ने निर्णय सबैले स्वीकार गर्नुपर्ने मत राख्नुभएको बताउनुभएको छ,’ ती नेताले भने ।

उनका अनुसार एकताका साथ अघि बढ्न प्रचण्डलाई सुझाब दिए पनि गहिरिएको संकट समाधान गर्न राष्ट्रपतिबाट पनि कुनै ठोस प्रस्ताव आएको थिएन । सचिवालयका नेताले भने, ‘दुईजना मिलेर पार्टी एकता गर्नुभो, त्यसैले अहिलेको अवस्थामा पार्टीको विवाद समाधान गरेर एकताका साथ अगाडि बढाउने जिम्मेवारी पनि तपाईंहरूको काँधमै छ भनेर उहाँले मिलाउने प्रयास गर्नुभएको जानकारी प्राप्त भएको छ ।’ याे खबर नयाँ पत्रिकामा छ ।