राष्ट्रपति भण्डारीले प्रचण्डलाई भनिन् : पार्टी विभाजन भए प्राप्त उपलव्धिहरु पनि गुम्न सक्छन्

मूलखबर संवाददाता
काठमाडौं, २ मंसिर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी एकता बचाउने जिम्मा प्रचण्डको भएके भ्न्दै घुमाउरो पारामा धम्क्याएकी छिन् ।
पार्टीभित्रको विवाद बढ्दै गएर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष के पी ओली एक्लो बन्दै गएपछि आज राष्ट्रपति भण्डारीले प्रचण्डलाई बोलाएर छलफल गरेकी थिइन् ।
पार्टी सचिवालयको बैठक भोली बुधबार दिउँसो बस्ने र त्यसमा प्रधानमन्त्री ओली नआउने भन्न्े समाचार आइरहेका बेला राष्ट्रपति भण्डारीले राजनीतिक भेटवार्ता गरेकी हुन् ।

प्रचण्डसँगको भेटमा पनि राष्ट्पति भण्डारीले मुलुकको समसामयिक विषयका साथै नेकपाभित्रको बढ्दो विवादका बारेमा छलफल गरेकी थिइन् ।  ‘अध्यक्ष प्रचण्डसँगको करिव २ घण्टाको भेटवार्तामा राष्ट्रपति भण्डारीले सत्तारुढ दलमा बढेको विवादप्रति जिज्ञासा र चासो राख्नु स्वभाविक हो । अध्यक्ष प्रचण्डसँग पनि सोही विषयमा कुराकानी भएको हो’, शीतलनिवास स्रोतले भन्यो, ‘ अवश्यपनि यस्तो बेलामा राष्ट्रपतिको प्रयास भनेको समझदारी निर्माण गर्ने कुरामै हुन्छ सोही अनुसार प्रचण्डसँग पनि भेटवार्ता भएको हो ।’

राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डसँगको कुराकानीमा पार्टी विभाजन भए प्राप्त उपलव्धिहरु पनि गुम्ने अवस्था आउनसक्ने भन्दै मिलेर जान सुझाव दिएकी थिइन् ।
‘तपाईंहरु मिलेर जाँदा नै राम्रो हुन्छ । पार्टी फुट्दा आन्दोलन र उपलब्धि पनि गुम्ने खतरा हुन्छ भन्ने सदासयता नै राष्ट्रपतिको हो’, प्रचण्डलाई राष्ट्रपतिले दिएको सुझावलाई उदृत गर्दै स्रोतले भन्यो, ‘बरु चाँडो महाधिवेशन गर्नुस् र एकल अध्यक्ष तपाईंनै बन्दा पनि हुन्छ । तपाईंहरु दुईजना मिल्यो भने जस्तै कठिन कामपनि सहजै हुन्छ । त्यसैले त्यतातर्फ विचार पुर्याएर निर्णय गर्दा राम्रो हुन्छ ।’

‘राष्ट्रपतिले समसामयिक विषयमा जिज्ञासा र चासो राख्नुभयो । मैले उहाँका कुरा सुनेर फर्किएँ, धेरै बोलिनँ’, बालुवाटारबाट फर्केपछि आफू निकट नेतालाई प्रचण्डले भेटबारे संक्षिप्त बताएका थिए ।

यस अघि पनि पार्टीभित्र प्रचण्ड र ओलीबीच देखिएको तिक्तता र पार्टी विभाजनको डिलमा पुगेको बेला राष्ट्रपति भण्डारीले सक्रिय भएर मेलमिलाप बनाउन विभिन्न कसरत गरेकी थिइन् ।
केही समय अगाडि नेकपा उपाध्यक्ष बामदेव गौतमलाई डाकेर राष्ट्रपति भण्डारीले ओलीको प्षमा लागिदिन र रोजेर मन्त्रालय लिन आग्रह समेत गरेकी समाचार आएको थियो ।