राष्ट्रपतिले बोलाएपछि प्रचण्ड शितलनिवासमा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, २ मंसीर ।
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिले भेट्न बोलाएपछि शितलनिवासमा प्रचण्ड र राष्ट्रपति विद्या देवी भण्डारी बीच वार्ता भएको छ ।

नेकपा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् । शीतल निवास स्रोतका अनुसार प्रचण्ड केही समयअघि  शितलनिवास भित्र प्रवेश गरेका हुन् ।

नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतल निवास पुगेको स्रोतले जनाएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री के पी ओलीले पार्टी र सरकार दुबै एकलौटी ढंगले सञ्चालन गर्न खोजेको र आफूहरुलाई अपमानित गरेको भन्दै सचिवालय बैठकमा एक दस्तावेज प्रस्तुत गरेपछि राजनीतिमा नयाँ बहस सिर्जना भएको छ ।
ओली सधैं बैठक बाट भाग्ने, आफ्नै सहकर्मीहरुलाई अनेक आरोप प्रतयारोप गर्ने र एक अर्काबीच लडाएर फाईदा लिने प्रवृत्तिबाट नसच्चिएपछि प्रचण्डसहितका ५ नेताहरुले सामुहीक छलफल गरी प्रचण्डले दस्तावेज पेश गरेका थिए ।