परिक्षण घटेपछि थपिने संक्रमित संख्या पनि कम, १२ सय ३० ले गुमाए ज्यान

मूलखबर संवाददाता
काठमाडौं, २ मंसिर

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १ हजार २ सय ३० पुगेको छ । पछिल्लो अवधिमा सरकारले कन्ट्रयाक्ट ट्रेसिङमा पनि खुकुलो नीति लिएको तथा परिक्षणको दायरा पनि कम भएपछि दैनिक संक्रमित थपिने क्रम पनि कम हुँदै गएको छ ।

भाइटिकाको दिन आएको पिसिआर परिक्षणको नतिजा अनुसार एक दिन अर्थात पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार १९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार १९७ जना सङ्क्रमित थपिएको र दुई हजार ९३४ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको जनाएको छ । हाल ३३ हजार ३७९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७६ हजार ३६४ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २३० पुगेको छ ।