उत्तरी सिमा पुगेर प्रधानमन्त्री ओलीले फेरी भने -‘राजीनामा कुनै हालतमा दिन्नँ’

मूलखबर संवाददाता
काठमाडौं, २७ कात्तिक

सत्तारुढ दल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले उत्तरी सिमाना पुगेर फेरी आफूले कुनै हालतमा राजीनामा नदिने घोषणा दोहोर्याएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभएको बताउँदै कसैले भन्दै राजीनमा दिन तयार नभएको बताएका हुन् । उनले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासबाट पछि नहट्ने र राजीनामा नदिने बताए ।

चीनसँग जोडिएको किमाथांका नाका, सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी र जोगवनी(खाँदबारी(किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेश्रो आयोजनाको स्थलगत अनुगमन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू जनमतबाट प्रधानमन्त्री भएकाले तत्काल राजीनामा नदिने दोहोर्याएका हुन् ।

सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै भएको पनि प्रधानमन्त्री ओलीको दाबी थियो । जनताले आवश्यकता देखेर, देशको आवश्यकता बुझेर आफू प्रधानमन्त्री भएको उनको भनाइ थियो ।

उनले भने – ‘बिहानै उठ्यो सरकार परिवर्तनका कुरा तपाईहरु रेडियोबाट सुन्नुहुन्छ । बिहानै उठ्यो पार्टीको नेतृत्व परिवर्तनका कुरा सुन्नुहुन्छ । अहिल्यै सरकार गयो, भरै सरकार गयो, प्रधानमन्त्री फाइल बोकेर राष्ट्रपतिका तिर कुद्दैथ्यो, राजीनामा दिन गयो, यस्ता कुराहरु पनि सुन्नुहुन्छ ।
मैले धेरै ठाउँमा भन्ने गरेको छु, म रहरले प्रधानमन्त्री भएको होइन ।जनताले आवश्यकता देखेर, देशको आवश्यकता बुझेर जनताको भोटबाट, जनताको मायाबाट म देशको प्रधानमन्त्री भएको हुँ ।
पार्टीभित्रका समस्याहरु, म अध्यक्ष छु, तपाईहरु किन चिन्ता गर्नुहुन्छ ? यो पार्टी यत्तिकै बनेको होइन, ५० वर्ष अगाडि जुँगामा भर्खर रेखी बस्दैथ्यो, अहिले टन्न फुलेको देख्नुहुन्छ । त्यसबेलादेखि टुटेफुटेको पार्टी मिलाउँदै मिलाउँदै मिलाउँदै यहाँ पुर्याएको हो ।’

आफ्नो पार्टीभित्र आलोचित र एक्लो बन्दै गएका प्रधानमन्त्री ओली सचिवालय बैठक छल्दै त्यहाँ पुगेका बेला फेरी पनि राजीनामाको कुरा उठाउँदै बैठकबाट अझै भाग्ने मनसाय व्यक्त गरेको नकेपाका एक स्थायी समिति सदस्यले प्रतिक्रिया दिए ।

उनलाई सचिवालय बैठक राख्न बहुमत सचिवालय सदस्यले लिखित पत्र दिएपछि अचानक कार्यक्रम बनाउँदै प्रधानमन्त्री ओली किमाथांका पुगेका थिए ।