काठमाडौंमा १४२० सहित देशभर थपिए २७३६, सक्रिय संक्रमित ३८०३५, मृत्यु ११४८ जना

मूलखबर संवाददाता
काठमाडौं, २५ कात्तिक

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नेपालमा हालसम्म ११ सय ४८ जनाले ज्यान गुमाएका छन् भने १ लाख ९९ हजार ७ सय ६० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको हो । थपिएकामा १४ सय २० जना काठमाडौं उपत्यकाका रहेका छन् भने बाँकी देशैभरको संक्रमितको संख्या हो ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको हो ।

हालसम्म पीसीआर विधिबाट १५ लाख ६४ हजार २ सय १४ परीक्षण भएको मन्त्रालयले जनाएको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् भने १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

मनत्रालयका हनुसार काठमाडौं उपत्यकामा गत २४ घण्टामा मंगलबार संक्रमित पुष्टि हुनेमा ६ सय ३ महिला र ८ सय १७ पुरुष रहेका छन् । काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर मंगलबार संक्रमित पुष्टि हुनेमा २ हजार ७ सय ३६ रहेका छन् ।