नेपाल समुहलाई फकाउने प्रयासमा ओली : माधव भन्छन् -‘समस्याको जड ओली हुन्’

मूलखबर संवाददाता
काठमाडौं, २४ कात्तिक ।

सत्तारुढ दल नेकपाको आन्तरिक विवादको मुख्य जड प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष के पी ओली नै भएको निश्कर्ष बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीकै अगाडि राखीदिएका छन् ।
पार्टीमा आफू एक्लीँदै गएपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध लड्न वरिष्ठ नेता नेपाल खेमालाई मनाउने योजनाका साथ बालुवाटार बोलाएका नेपालले ओलीलाई सो बताएका हुन् । उनले ओलीलाई आफूले गरेका गतिविधि र निर्णयको समिक्षा गर्न र सच्चिन आग्रह गरे ।

नेपालले भेटमा ओलीलाई भनेका थिए-
‘पार्टीलाई फुट्न नदिने कुरामा साथ छ, तपाईं पार्टीको अध्यक्ष, तपाई पार्टीको प्रधानमन्त्री, पार्टी संकटमा आउँदा सबैभन्दा धेरै जिम्मेवारी पनि त तपाईंको होला, त्यो जिम्मेवारी तपाईंले अनुभव गर्नुपर्‍यो, पार्टी फुट्यो भने दोष मलाई आइलाग्छ भन्ने महसुस गर्नुपर्‍यो, ‘त्यसका लागि पार्टी बैठक बोलाउनुपर्‍यो, पार्टीका निर्णयहरू कार्यान्वयन गर्नुपर्‍यो, निर्णयलाई क्रमशः कार्यान्वयन गर्दै जाऔं।’
ओलीले माधव नेपाललाई पार्टी एकता संकटमा परेकाले साथ दिन आग्रह गरेका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीभन्दा वरिष्ठ नेता नेपाल लामो समयसम्म बोलेका थिए । नेपालले पार्टी अहिले गम्भीर संकटमा पर्नुको कारण ओली नै रहेको बताएका थिए । ‘तपाईं त मेरो पुरानो साथी हो । पार्टी कसरी निर्माण भयो भन्ने थाहै छ । यो पार्टी एउटा व्यक्तिले निर्माण गरेको हैन । तपाईंले निर्माण गरेको हैन, मैले निर्माण गरेको हैन, हामी दुई जनाले मात्रै पनि निर्माण गरेको हैन । धेरै कार्यकर्ताको रगत पसिना मिसिएको छ । स्थापना कालदेखि सामूहिक नेतृत्व प्रणालीमा निरन्तर रूपमा अगाडि बढेको हो । कुनै एउटा व्यक्तिको प्रयन्त र प्रयासले बनेको हैन,’ नेपालले ओलीलाई भनेका थिए, ‘अहिले आएको सबै समस्याको कारण भनेको तपाईंको एकलौटीपना हो । तपाईंको आफ्नो मन लागेको गर्ने प्रवृत्तिले यो समस्या आएको हो । त्यसैले अलिकति फर्केर आफूलाई हेर्नुस्, ऐनामा पनि हेर्नुस् आत्मालोचना गर्नुस् । तपाईं कहिल्यै आत्मालोचना गर्नुहुन्न, कहिल्यै गल्ती गरें भन्ने ठान्नुहुन्न ।’

साउन ९ गतेको भेटयता संवाद नगरेका ओली र नेपालबीच कात्तिक ४, ९ र ११ गते भेट भएको थियो । आइतबार भने नेपालले आफ्नो समूहका स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि साथमा लगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले पार्टी फुटको डिलमा पुगिसकेको बताउँदै त्यसबाट जोगाउन नेताहरूसँग आग्रह गरेका थिए । ‘हामीले पहिले पनि कार्यदलका तर्फबाट समस्या समाधान गर्न प्रयास गरेका नै हौं, त्यो पनि जहाँको त्यहीं भयो, पार्टी निर्णय मान्ने तत्परता देखिएन भन्यौं,’ स्थायी कमिटी सदस्य पाण्डेले भने, ‘प्रधानमन्त्रीले त्यो भन्दा गम्भीर कुरा त पार्टी फुटको डिलमा छ भन्नुभयो । तपाईंसँग समाधानको प्रस्ताव, योजना र सोच के छ भनेर सोध्दा त्यस्तो ठोस कुरा केही गर्नुभएन ।’

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सम्बन्ध तिक्ततापूर्ण बन्दै गएपछि पूर्वएमालेका नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । उनले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर करिब २ घण्टा छलफल गरेका थिए ।