प्रचण्डले पार्टी कार्यालयमा बोलाए सचिवालय बैठक, ओली नजाने, के गर्ला बैठकले ?

मूलखबर संवाददाता
काठमाडौं, २१ कात्तिक ।

सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका छन् । लामो समयदेखि पार्टीभित्र देखिएको विवाद र मुख्य गरेर दुई अध्यक्षबीच देखिएको विवादपछि हिजो अर्का अध्यक्ष के पी ओली सँग सचिवालय बैठक राख्न छलफल गर्दा प्रधानमन्त्री समेत रहेका ओली अनिच्छुक देखिएपछि उनले केन्द्रीय कार्याल्यमा बैठक डाकेका हुन् ।

पार्टीभित्र विवाद बढिरहेका बेला प्रचण्डले सचिवालय सदस्यहरूलाई आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका हुन्।

बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका थिए। तर प्रधानमन्त्री ओलीले अहिले बैठक बोलाउन जरूरी नरहेको प्रतिक्रिया दिएका थिए।

गत आइतबार प्रचण्डले आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए। ६ नेताको भेलाले पार्टी सचिवालय बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र उनीइतर समूहबीचको तनाव चुलिएको छ।

कर्णाली प्रदेशमा देखिएको विवाद, भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट लगायत विषयमा मतभिन्नता बढ्दै जाँदा नेकपाको एकता संकटमा परेको हो।

पार्टीको स्थायी समितिको बैठकले पारीत गरेको निर्णइ कार्यान्वयनमा ओलीले उदासिनता देखाएको र अझ लत्याउने काम गरेको भन्दै नेकपाभित्र तिब्र विवाद भएको छ ।

प्रचण्ड र माधव नेपाल समुहले ओलीलाई पार्टीको निर्णय मान्न बाध्य पार्ने रणनीति लिएका छन् भने प्रधानमन्त्री समेत रहेका अध्यक्ष के पी ओली सत्ताको आडमा निर्णय कार्यन्वयन गर्न अनिच्छा देखाइरहेका छन् ।

ओली आफू पार्टीको निर्णय मान्न बाध्य नरहेको जिकीरका साथ पार्टीलाई आफ्नो अनुकूल लैजान चाहन्छन् । आज बस्ने सचिवालय बैठकले के निर्णय गर्ला त्यो भने हेर्न बाँकी छ ।