नेपालमा कोरोना : मृतकको संख्या हजार नाघ्यो, ३७ हजार ४७६ सक्रिय संक्रमित, छैन उच्च सतर्कता

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, १९ कात्तिक ।

नेपालमा कोरोना भाइरसका कारण पछिल्लो चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एकहजार नाघेको छ । मंगलबार अपरान्हसम्म मृतकको संख्या एक हजार चार पुगेको छ ।

त्यसैगरी मंगलबार सम्म नेपालमा कुल सङ्क्रमित एक लाख ७९ हजार ६१४ पुगेको छ । हाल ३७ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मंगलबार मात्रै तीन हजार ११४ जना सङ्क्रमित थपिएका थिए। पछिल्लो चौबीस घण्टामा जनामा सङ्क्रमण तीन हजार ११४ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार १४२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४१ हजार १३४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।