नेकपा विवाद बढ्दो : कार्यदलका सदस्य भन्छन् -सुझाव कार्यन्वयन नहुँदा यस्तो स्थिति आयो

मूलखबर संवाददाता
काठमाडौं, १८ कात्तिक ।

सत्तारुढ दल नेकपाभित्रको विवाद समाधान हुनुको बदला झन पछि झन पेचिलो र तिक्ततापूर्ण बन्दै करिब करिब विभाजनको डिलमा पुगेको देखिएको छ । यस अघि लामो विवाद र तिक्ततालाई अन्त्य गर्न बनाइएको विवाद समाधान कार्यदलका सदस्यहरु भन्छन् हामीले दिएको सुझाव कार्यान्वयन नगरिँदा यस्तो दुखद अवस्था आयो ।

कार्यदल प्रतिवेदनमा ‘विगतका कमीकमजोरीहरूबाट शिक्षा लिने, पार्टी भित्रका, विशेषतस् नेतृत्व तहका असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने, परस्परमा विश्वास कायम गर्ने र पार्टी एकताको रक्षा एवं विकास गर्ने संकल्प’ छ । तर, नेतृत्वले संकल्प भुलेर अन्य बाटो समातेको कार्यदल सदस्यहरुको बुझाइ छ ।

नेकपाभित्र उत्पन्न अन्तर्विरोधहरूको समाधान केवल यस पार्टीका लागि मात्र होइन, आम जनता र सिंगो राष्ट्रका लागि समेत अपरिहार्य हुन आएको प्रतिवेदनमा छ । तर, राजनीतिक रुपमा केही परिवर्तन नभई नेकपाका शीर्ष नेता आफैले एकता विरोधी गतिविधि र अभिव्यक्ति दिइरहेको सदस्यहरु मान्छन् ।

प्रतिवेदनमा ‘एकताले राजनीतिक स्थायित्व सुनिश्चित गर्नुका साथै संविधानको रक्षा एवं कार्यान्वयन गर्ने, सामाजिक न्यायसहितको विकास एवं समृद्धि हासिल गर्ने र जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादतर्फ अधि बढ्ने बलियो आधार प्रदान गरेको’ बताए पनि नेकपा आफैभित्र अस्थिरता पैदा भएको कार्यदल सदस्यहरुको बुझाइ छ ।

कार्यदलका सदस्य पम्फा भुषाल आफूहरुले दिएको १५ बुँदे सुझाव कार्यान्वयन नगरिँदा अहिलेको अवस्था आएको बताउँछिन् ।

भुसालले निर्णय कार्यान्वयनको बुद्धि नेतृत्वमा नआएकोमा आक्रोश समेत व्यत्त गरिन् । उनले नेतृत्वमा सुझाव कार्यन्वयनको बुद्धि आउनुपर्ने बताइन् । उनले अहिले देखिएको विवादलाई विडम्बनापूणृ पनि भनिन् । ‘कार्यदल त सानो थियो । प्रतिवेदन परिमार्जन गरेर स्थायी कमिटीले सर्वसम्मतिले निर्णय लिएको हो । १५ बुँदे परिपत्रका रुपमा छ । त्यसको कार्यान्वयन नर्गर्नुनै अहिलेको समस्याको जड हो । यो विडम्बना हो’ उनले भनिन्, ‘तत्काल यस्तो समस्या आउला भन्ने सोचेको थिएन । अब महाधिवेशनमा पार्टी जान्छ । सरकार पनि पार्टीको सल्लाह सुझाव, निर्देशनमा चल्छ भन्ने थियो । संघ, प्रदेशका सरकारलाई पुर्नगठन गर्ने, स्थानीय सरकारलाई निर्देशिका जारी गर्ने भन्ने थियो । भएन बडो दुःखद पाटो हो । त्यसलाई पालना गर्ने, कार्यान्वय गर्ने सद्बुद्धि आवोस् नेताहरुलाई ।’

त्यस्तै अर्का सदस्य भिम रावलले पनि विवाद पुन बल्झिएकोमा दुख व्यत्त गरे । उनले भने, अहिले जे विवाद देखा परिरहेको छ, यो हुनु हुँदैनथ्यो । किनभने स्थायी कमिटीको बैठक भन्दा अगाडि पार्टीभित्र मतभेद अत्यन्तै चर्केर गएको थियो । त्यसलाई समाधान गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्छ भनेर स्वयं अध्यक्षद्वय, सचिवालयका नेता र स्थायी कमिटी सहमत भएर, प्रधानमन्त्री र अध्यक्षले हस्ताक्षर गरेर अन्तरपार्टी निर्देशिका जारी गरिसकेपछि कार्यान्वयन नहुनु चिन्ताको विषय हो,’ उनले भने ।

रावल थप अगाडि भन्छन्, ‘पार्टी विधि, प्रणाली, पद्धती र संस्थागत निर्णयबाट सञ्चालन हुने हुँदा प्रधानमन्त्री स्वयंले कदर गर्नुपर्छ । हामीले त्यतिबेला कतिपय आफ्ना मान्यता, भनाइहरुलाई समेत थाँती राखेर अब पार्टीलाई अगाडि बढाउने, देश र जनताको बृहत्तर हितलाई साधना गर्नको लागिसहमति गरेका थियौं । आज कार्यान्वयन नभएर फेरि मतभेद अगाडि आएको देख्दा निसन्देश नै दुःख लागेको छ ।’
रावलले नेकपाभित्र उत्पन्न पछिल्लो तनाव र विभाजनसम्मको कोसिसलाई देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराधका रुपमा व्याख्या गरेका छन् । ‘कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुनेछ,’ उनले भनेका छन् ।

विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार भएको भन्दै उनले स्थायी कमिटीको बैठकको माग गरेका छन् । र, समझदारी, एकता र देशहित मनमा राखी समस्या समाधान गर्न उनको आग्रह छ ।

कार्यदल संयोजक एवं महासचिव पौडेलले यस अघि नै फेसबुकमा स्टाटस लेख्दै नेतृत्वबीचको अन्तरविरोधले देखिएको विवादले गर्दा उकताको र संयुत्तः पार्टीको अस्तित्व नै संकटमा परेको भन्दै चिन्ता व्यक्त गरिसकेका छन् । उनले विवाद हल गर्न सबैले आ आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने बताएका छन् । उनले लेखेका थिए ‘आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ,’ उनले आइतबार भनेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’

पार्टीभित्र लामो विवादपछि गत साउन ३० मा अध्यक्षद्वयको निर्णयबाट महासचिव पौडेल संयोजक र जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल, शंकर पोख्रेल र सुरेन्द्र पाण्डे सदस्य रहेको ‘समस्या समाधान सुझाव कार्यदल’ गठन भएको थियो । भदौ १ मा केन्द्रीय सचिवालय बैठकबाट अनुमोदन भएको कार्यदलले पार्टीको आन्तरिक जीवनमा उत्पन्न समस्या र स्थायी कमिटीको पाचौँ बैठकका कार्यसूचीमा केन्द्रित भएर भदौ ६ मा सुझाव प्रतिवेदन दिएको थियो ।

त्यसपछि केन्द्रीय सचिवालय बैठकमा प्रतिवेदन माथि छलफल भयो । र, अन्तिम रुप दिएर स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्ने जिम्मेवारी अध्यक्षद्वयले पाएका थिए । त्यसै आधारमा स्थायी कमिटी बैठकमा कार्यदल प्रतिवेदन पेश भयो र भदौ २६ मा सम्पन्न बैठकबाट अनुमोदन भएको थियो । त्यसबेला कार्यदल सदस्यहरुले पार्टीभित्रको तिक्ततापूर्ण अन्तर्विरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रीत गर्ने परिस्थिति निर्माण भएको बताएका थिए । तर, डेढ महिनामै नेकपा फेरि विभाजनउन्मुख बाटोमा दौडिएको छ । यसलाई लिएर कार्यदल सदस्यमा गहिरो चिन्ता छ ।