नेकपा विवाद : प्रचण्ड समुह एकताको पक्षमा, ओली फुटको पक्षमा : के होला अब ?

मूलखबर संवाददाता
काठमाडौं, १७ कात्तिक ।

सत्तारुढ दल नेकपा गम्भीर विवादको भुमरीबाट उम्कन नसक्ने गरी फसेको छ । पार्टीको भर्खरै सम्पन्न स्थायी बैठकको निर्णय कार्यान्वयनमा लैजानुको सट्टा त्यसलाई लत्याउने कार्यमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष के पी ओली उद्धत भएपछि नेकपा करिब करिब विभाजनको डिलमा पुगेको छ ।

करिब ११ दिनसम्मको संवादहिनतापछि शनिवार दिउँसो भएको दुई अध्यष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको बालुवाटार भेटमा ओलीले सहकार्य गर्ने र पार्टीको निर्णय कार्यान्वयन गर्ने इच्छा र प्रतिवद्धता देखाउनुको सट्टा पार्टी पुटाएर अलग अलग जान प्रस्ताव गरेपछि नेकपा अब विभाजनको डिलमा पुगेको हो ।

शनिवार भएको भेटमा ओलीसँग प्रचण्डले सचिवालय बैठक राख्न प्रस्ताव गरेपछि ओली सहमत नभएको र सहमति नजुटेपछि पसन आइतबार विहान पनि ओलीसँगको टेलिफोनमा ओलीले कर्णालीको प्रदेश सरकारको सन्दर्भमा समेत अब पाटीृ फुटाऔं भनेर दोहोर्र्याएपछि प्रचण्डले आफ्नो पक्षमा रहेका सचिवालय सदस्यहरुलाई आइतबार भेट र फोन वार्ताको कुरा व्रिफिङ गरेका थिए ।

त्यसक्रममा प्रचण्डले ओलीले पार्टी अलग–अलग गरेर जाउँ भनेर गरेको प्रस्तावबारे अन्य सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । त्यसक्रममा पार्टी नेताहरुले समेत बैठक राख्न माग गरेकाले ओलीसँग बैठक राखेर छलफल गर्न गरेको प्रस्तावमा ओलीले बैठक नराख्ने जवाफ दिएको नेताहरुलाई जानकारी गराएका थिए ।

‘बैठक किन राख्ने ? बैठक सैठक चाहिँदैन । बैठकको निर्णय मान्ने मान्छे म हुँ ? बैठक पनि म राख्दिनँ र तपाइँहरुले बैठक राख्नुभयो भने त्यसको निर्णय पनि म मान्दिनँ । टाउको गनेर बहुमत जुटाएर केन्द्रीय समिति, स्थायी समिति र सचिवालय बैठक गर्नुस् तर म मान्दिनँ’ भन्ने जवाफ दिएको प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले भने, ‘र तपाइँहरुले छुट्टै बैठक गर्नुभयो भने त्यसको बदला म ठूलो एक्सन लिन्छु । त्यसैले बरु पार्टी अलग अलग गरौं ।’

ओलीको यस्तो भनाइपछि अध्यक्ष प्रचण्डले त्यस्तो बाटोमा जान नहुने जवाफ दिएका थिए । आइतबार बिहान मात्रै पनि ओलीले अध्यक्ष प्रचण्डलाई फोन गरेर कर्णालीका सन्दर्भमा पार्टी फुटाऔँ भनेको प्रचण्ड निकट एक नेताले जानकारी दिए ।
आइतबार खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुुर थापा ‘बादल’ सहभागी थिए । खुमलटारमा सहभागी सचिवालय सदस्यहरुको भेलाले पार्टी फुटाउन नहुने निष्कर्ष निकालेको छ ।

‘पार्टी कुनै हालतमा फुट्न दिनुहुँदैन । अहिलेको आन्दोलनको आवश्यकता, कार्यकर्ताको चाहना र जनताको जनादेश अनुरुप हामी जानुपर्छ त्यो फुट होइन’, खुमलटारमा भएको छलफलको निष्कर्ष रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘त्यसैले बैठकबाटै निष्कर्ष निकाल्ने र पार्टी एकता बचाउने अचुक अस्त्र पार्टी निर्णय सबैले मान्नुपर्ने निष्कर्ष निकालेका छौ’, श्रेष्ठको भनाइ छ ।

नेकपाका दुई पक्ष्बीच देखिएको विवाद हल नभएमा अब नेकपा ओली इतर पक्ष र ओली पक्षको रुपमा विभाजन हुने सम्भावना देखिएको छ । प्रचण्डसँग वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रबक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहितको टिम रहने र ओलीसँग महासचिव विष्णु पौडेल र इश्वर पोखरेलसहितको टिम रहन सक्ने देखिएको छ । तर उपाध्यक्ष बामदेब गौतम, महासचिव विष्णु पौडेल अझै पनि फुटको स्पष्ट पक्षमा नभएकाले उनले पार्टी पुटेको अवस्थामा ओलीलाई साथ दिन्छन् की दिँदैनन् भन्ने अझै एकीन भएको छैन ।
यसरी हेर्दा नेकपा विभाजनाको स्थितिमा पुगेमा पनि ओली इतरको पक्षमा सचिवालय र स्थायी समिति सहित सबै कमिटिमा बहुमत हुने देखिएको छ । त्यसैगरी संसदिय दलमा पनि यो समुहको पक्षमा स्पष्ट रुपमा बहुमत हुने देखिएको छ ।

यदि अरु कुनै कारणले सहमति बनेमा बाहेक अब नेकपाका एक तिहाई सांसदले विशेष अधिवेशनको माग गरेर सभामुखले संसद बैठक आव्हान गर्ने र त्यसैबाट सरकार विरुद्ध अविश्वास प्रस्ताव लगेर माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने मार्ग चित्र अगाडि आएको छ । यो विषय रहको नभई वाध्यताको भएको प्रचण्ड पक्षधर एक नेताले बताए । उनले आफूहरु पार्टी एकता जोगाउने पक्षमा नै लविङमा लागिरहेको बताए ।