एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं – नेकपा प्रवक्ता श्रेष्ठ

मूलखबर संवाददाता
काठमाडौं, १६ कात्तिक

नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता संकटमा परेको बताउँदै एकता रक्षाकाे लागि पहल गर्न सबैलाई अपिल गरेका छन् ।

पार्टी एकता संकटमा परेर पार्टी फुटसम्म जानसक्ने संभावना बढेपछि प्रबक्ता श्रेष्ठले फेसबुकमार्फत अाफ्नाे धारणा सार्वजनिक गरेका हुन् ।

श्रेष्ठले स्टाटसमा लेखेका छन् –  हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो ।

यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन। फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुध्द हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं ।

पार्टी भित्र देखिएको छलफल, बहश र मतभेद अन्ततः बिचार, सिध्दान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन। तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ , पार्टीको बिधि, पध्दति एवं निर्णयको पालना र कार्यान्वयन ।

ब्यक्तिवाद,अहंकार ,आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन । देश, जनता,श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्तिहरुको चाहना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौं ।