गन्तव्यविनाको यात्रा : दुराडाँडा त हराएछ

मूलखबर संवाददाता
काठमाडौं

लमजुंगमै जन्मेर अनि एसएलसी परीक्षा उत्तीर्ण हुँदासम्म लमजुंग नछाडेपनि लमजुंगको धेरै भाग देख्न पाईएको थिएन । जति घुमेको थिएँ, आफन्त भेट्न जाँदा, विहेमा जन्त जाँदा वा अलिक टाठो केटो भएकोले विद्धालयवाट विभिन्न अतिरिक्त क्रियाकलाप छानिएर सदरमुकाम वेशीशहर वा कुन्छा, चिति, अल्काटार जस्ता ठाउँमा घुमेको थिएँ ।

पुर्वी लमजुंगका केहि भाग भने २०४६ को जनआन्दोलन र २०४७ को संसदीय निर्वाचनको वेला घुम्न पाइएको थियो । घुम्नु पनि कसरी, त्यति वेला पैसा खर्च गरेर घुम्न जाने संस्कार पनि थिएन । घुम्नै भइपनि काठमाडौँ पोखरा जाने हो, अन्त होइन भन्ने थियो ।

तर मलाई नयाँ नयाँ ठाउँ जाने र हेर्ने ठूलो सौख थियो । त्यो सौख भने २०६५।६६ मा वल्र्डभिजनको लमजुंग कार्यक्रमले दियो । किनभने म त्यति वेला त्यो संस्थाको स्वास्थ्य, पोषण कार्यक्रम हेर्ने गरि भर्ना भएर गएको थिएँ र त्यहि वेला जिम्मेवारीको काम पर्दा वा आफ्रनै रहरले लमजुंगका विभिन्न ठाउँहरुको भ्रमण गर्ने मौका पाएँ । यसक्रममा लमजुंगका तत्कालिन ६१ गाउँ, नगरपालिकामध्ये ५७ वटामा पुग्ने सौभाग्य पाएछु ।
त्यसै सिलसिलामा यौटा स्मरणीय भ्रमणको याद गर्ने जमर्को गर्दैछु ।
मेरो यौटा गजबको बानी छ त्यो के भने म विना कुनै पूर्व योजना वा तयारी नै हिँडीदिन्छु कतै जाने मन वा इच्छा भयो भने ।
यसै क्रममा २०६६ वैशाखको कुनै एक शनिवार विहानै कतै घुम्न जाने इच्छा भयो तर कहाँ जाने भन्ने कुनै योजना थिएन । त्यहाँ भएका सहकर्मी र अन्य साथीहरुलाई फोन गरेँ, संगै घुम्न जाने कोहि साथी भेटिन्छ कि भनेर । त्यति वेला वेशीशहरमै भएको मेरो मामाको छोरा राजेन्द्र जान तयार भयो भने अर्का एकजना सहकर्मी साथीले आफूलाई घुम्न जाने फुर्सद नभएको तर आफ्रनो वैनी लमजुंग घुम्न आएको भएपनि घुमाउन नपाएकोले संगै लगेर घुमाइदिन अनुरोध गर्नुभयो ।

हामी तीनजनाको टोली विहान ७ वजेतिर विना गन्तव्यको यात्रामा गाउँशहरतिर लाग्यो, पहिला भाई वैनीलाई गाउँशहर देखाइदिउँ, अनि वाँकि योजना वनाउँला भन्दै ।
मैले २०४६ मा गाउँशहरकै लमजुंग माविवाट एसएलसी परीक्षा दिएकोले त्यो ठाउँको वारेमा मेरो दिमागमा यौटा चित्र थियो । तर अहिलेको परिवर्तनले गर्दा गाउँ निकै वेग्लै भएको रहेछ । गाउँशहर दरवार भने उस्तै रहेछ । भाई वैनीलाई वाहिरैवाट अवलोकन गराएँ किनभने गाउँशहर दरवार भित्र कसैलाई पस्ने अनुमति थिएन । भित्रको लमजुंग कालिकाको मुर्ति अघिल्लो शासन व्यवस्थाको एकजना ठूलै व्यक्तिले वेपत्ता पारेकाले भित्र मुर्ति नभएको भन्ने अनुमान गर्दा रहेछन् स्थानियहरु ।

त्यति बेला परीक्षा दिँदा वसेको नेवार हटियाको घर खोजेँ, तर भेटिएन, सडक वनाउँदा भत्किसकेछ । तर घरवेटी दाईको पसल भने भटियो । त्यहीँ चिया खाइयो ।
एसएलसीको वेला दाइको हुनुहन्थ्यो, रातभर सपनामा वोलेर हैरान गर्ने, धेरै वर्ष अगाडी परलोक भैसक्नु भएछ । आमा पनि वुढी भएर मान्छे नचिन्ने भैसक्नु भएछ । ति दाइकी योटी वैनी थिइन पुतली जस्ति, तिनको विहे भैवरी कतिवटा हो भनट्रयांग भुन्टुंगकि आमा भैसकिछन् । म पनि त वुढै भैसकेँनि भनेर चित्त वुझाएँ ।

वच्चैमा सुनेको शितलेस्वाँराको विमानस्थल पनि नजिकै भएकोले आएको वेला त्यहाँ पनि पुग्ने रहर भयो र लागियो त्यतै । त्यता जाने वाटो साह्रै सुन्दर थियो । वाटोमा ठूलो चौर थियो , शायद गल्फ खेल्ने मैदान वनाउन मिलथ्यो । अहिले त्यहि ठाउँतिर फिल्म नगरी वनाउने कुरा हुँदैछ भन्ने सुनेको छु । तर हेर्न गएको शितलेस्वाराको विमानस्थलले मन तान्न सकेन । अव के गर्ने ।
त्यतिवेलासम्म खाना खान पाइएको थिएन, गाउँशहरमा चिया पिए वाहेक । अलि पर वाख्रेजगत पुगौँ अनि अलिक पेट भरिने खाजा पनि खाउँ र ठाउँ पनि हेरोँ भनेर हिँडीयो ।
मेरो अफिस हप्तामा दुइृदिन शनिवार र आइतवार विदा हुन्थ्यो । आज फर्किन भ्याइएन भने भोलि फर्कौंला भनेर तर आज भने अलिकति घुमेर जाउँ भनेर भने मैले । घुम्न आएका भाईवैनीलाइ जहिले फर्केपनि समस्या थिएन ।
वाख्रेजगत बजार पुगेर चिया र चाउचाउ खाइयो । अव यतावाट पुरानाकोट गाउँ हुँदै अगाडी वढौ, जहाँ पुगिन्छ त्यहीँ पुगेर वास वसौँला भनेर अगाडी वढीयो ।
त्यहाँका मान्छेसंग वाटोको वारेमा जानकारी लिएर ओरालो लागियो । पहिले एकदम चल्तिको वाटो भएपनि अहिले त्यो वाटो कोहि हिँडदा रहेनछन् । वाटो भुलेर जंगलतिर लागिएछ । कोहि नहिँड्ने भएकोले सोध्ने मान्छे कोहि भेटिएन । अलिक अगाडी वढेपछि ठूला ठूला चट्टान भेटियो । वरपिरी पाखामा लालिगुराँस फूलेको थियो । यो ठाउँसंग पुराना घले वा लमजुंग राज्यहरुको केह न केहि साइनो हुनु पर्छ भन्ने लाग्यो ।
त्यहाँवाट भिरैभिर काँडा पन्छाउंदै अगाडी वढियो, कतै मान्छे भेटिन्छन र गाउँतिर जाने वाटो देखाइदिन्छन् कि भन्ने आश गर्दै ।
भाई वैनीहरु मलाई कस्तो भूतले तर्साउने ठाउँमा ल्याएको, न खाने ठाउँ छ न वस्ने ठाउँ छ भन्दै गालि गर्थे । म विहान किनेर खल्तिमा हालेको ववलगम दिएर उनीहरुको चित्त वुझाउने प्रयास गर्थेँ ।
वल्ल वल्ल पुरानाकोट गाउँ भेटियो । यौटा मनकारीको घरमा अमिलो मोई र दुई दिन अगाडी भुटेको मकै खान पाइयो ।
सकेको खाएर अनि वाँकि मकै झोलामा हालेर मकैदाताको जयगान गर्दे लागियो दूराडाँडातिर । साँझ पर्नलाग्दा तुर्लुंगकोट पुगियो । नाम धेरै सुनेको तर कहिल्यै जाने मेसो नमिलेको ऐतिहासिक थलोमा पुग्दा असाध्यै खुशि लाग्यो । तर दूःखको कुरा तुर्लुंगकोटको वारेमा जाकारी दिने मान्छे त्यहाँ त्यसवखत कोहि भेटिएन ।

त्यहाँवाट तल हेर्दा दूराडाँडाको च्यानपाटा गाउँ देखियो ।
म सानै वच्चा हुँदा एकजना आफन्तको विहेमा दूराडाँडा गएको थिएँ । त्यति वेला दूराडाँडा असाध्यै रमाइलो लागेको थियो ।

नेपालका जुनसुकै भागमा पुगे पनि दूराडाँडाको वारेमा थाहा नभएको टाठो वाठो मान्छे भेट्न गाह्रो पथ्र्यो । शायद नेपालकै धेरै विद्धानहरु जन्माउने थलो हुनु पर्छ दूराडाँडा ।
त्यो दूराडाँडा फेरी कहिले जान पाइएला भन्ने रहर थियो । तर किन हो कुन्नी, अहिले हेर्दा दूराडाँडाको गाउँ उजाड जस्तो लाग्यो ।

पछि त्यो ठाउँको वासिन्दाहरुसंग त्यो प्रसंग निकाल्दा दूराडाँडाका मान्छे सवै टाठावाठा वुद्धिजिवी भएकोले गाउँ छोडेर गएको र त्यही कारण सिंगै गाउँ नरमाइलो देखिएको वताउँथे । हुँदा हुँदा संघियताले पनि दूराडाँडालाई मायाँ गरेनछ, लमजुंगका ८ वटा स्थानिय तह मध्ये कुनै पनि दूराडाँडाको नाममा छैन ।
त्यहाँ वास माग्ने जस्तो कुनै ठाउँ नभेटेकोले पाखै पाखा तल लागियो । झन्डै एकघन्टा जति हिँडेपछि दुई चारवटा पसल भएको ठाउँ आइपुग्यो । शायद सिन्दुरे या त्यतैको कुनै ठाउँ हुनु पर्छ ।

नेपालकै यौटा दुर्लभ दूरा समुदायको उद्रगम थलो र नेपालको इतिहासमा उल्लेखित खजेदूराको गाउँ नजिकै आइपुगेको थाहा भयो ।
तर त्यहाँ खान पाइने, वास नपाइने कुरा भयो । रात परिसकेको थियो, नौलो ठाउँ कता जानु ।
वल्ल वल्ल एकजना मनकारी आमैले वास दिने हुनु भयो । खाना खाएर हामी दूई भाई वाहिर पिँढीमा सुत्यौँ भने वहिनीलाई आमैले आफूसंगै सुताउनु भयो ।
भोलिपल्ट विहानै उठेर नेटा हुँदै भोर्लेटार तिर लागियो । नेटा पुग्दा गाउँकै स्वर्गिय भाई जयरामसंग भेट भयो ।
जयराम भाई अलिक वर्ष पहिले युवा अवस्थामै मुटुको व्यथाले परलोक भए ।

नेटावाट हेर्दे भोर्लेटार तर्फ अगाडी वढीयो । वाटोमा रमाईलो वनपाखा थिए । तर विकासको नाममा जतातै सडक खन्ने होडबाजीले गर्दा हरिया डाडाकाँडा वाँदरले चिथरेको मकै जस्तो कुरुप भएका थिए ।

खाना खाने वेला भोर्लेटार पुगियो । पश्चिम लमजुंगको महत्वपूर्ण यो वजार अहिले सडकमार्गद्धारा तनहूँको दमौली र पोखरासंग जोडिन्छ । सायद अहिले त सदरमुकाम वेशीशहर र मध्य लमजुंगको केन्द्र भोटेवडार पनि भोर्लेटारसंग सडक मार्गद्धारा जोडिइसकेका होलान् ।
भोर्लेटारको चर्चा वालककाल देखिनै सुनेको हुनाले त्यहाँ पुग्दा असाध्यै खुशि लाग्यो ।

भोर्लटारसंगै भोर्लेटार संगै मिदिम नदी बगेको थियो र सो नदीको पारीपट्टि करापुटारमा शिवरात्रीमा ठूलो मेला लाग्ने लमजुंगकै प्रख्यात इशानेश्वर महादेवको मन्दिर थियो । परैवाट ति महादेवको दर्शन गरियो ।

भेडीखर्के साइँला भनिने दीर्घराज अधिकारीले कैयौँ रात त्यही मन्दिरमा ठाडोभाकामा गीत गाउँथे रे । केहि वर्ष अगाडी ति ठाडोभाका शिरोमणिको निधन भयो ।
त्यहाँवाट खाना खाइवरी लमजुंग र मिदिम तरेर रामवजारमा पुगि पोखरा जाने वस चढियो । रामबजार पर्तिर मादी नदीले लम्जुङ्ग र कास्की सिमानाको काम गर्दछ।

अलिक वर्ष अघिसम्म पश्चिम लमजुंगका मान्छे पोखरा जाने पैदल वाटो त्यतैवाट जान्थ्यो । वस अलिक अगाडी रुपातालको उपल्लो छेउका चिया खान रोकियो । रुपातालको धेरै भाग खेत र वस्तिमा रुपान्तरण भएको रहेछ । तालको दुर्गती देखेर मन भारी भयो ।

मशानघाट मिचेर प्लटींग गर्ने दलालहरुको चकचकी भएको देशमा जावो यौटा ताल मिचेर खेत र घर वनाउनु कुन ठूलो कुरा भयो र ।

हामीले विद्यालयमा हुँदा सामान्यज्ञानमा पोखरामा सातवटा ताल छन् भन्ने पढेको थिएँ । रुपातालको यो गति छ, अरु फुच्चे तालको हालत के होला खै भन्ने लाग्यो ।
जे भएपनि वाँकि रुपाताल देख्न पाएकोमा मनै खुशीनै भयो । एकैछिनमा वेगनासतालको किनारामा पुगियो । रुपाताल र वेगनास ताल सुन्दरी डाँडा नामको यौटा सानो डाँडाको दुईतिर पर्दा रहेछन् ।

वेगनासतालमा भुसको वोरा हाल्दा रुपातालमा निस्कियो भन्थे । शायद दूइवटा तालको वीचमा कुनै सम्वन्ध थियो होला ।

वेगनास तालको वरिपरी प्रशस्त होटेल र रिसोर्टहरु रहेछन् । वेगनासतालमा सयौँ डुंगाहरु चल्दा रहेछन् भने नहर निकालेर हजारौँ रोपनी जगगा सिंचाई पनि गरिँदो रहेछ । यस्तै केज राखेर माछा पालन पनि गरिएको रहेछ जहाँ भैसीका पाडा जत्रा ठूला ठूला माछा पनि भेटिंदो रहेछ ।
जेहोस्, रुपाताल भन्दा ठूलो तर पोखराकै फेवाताल भन्दा अलिक सानो वेगनासतालले चाहिँ राम्रै संरक्षण पाए झैँ लाग्यो । यसले यहाँका वासिन्दाहरुलाई पनि राम्रै लाभ दिएको रहेछ । त्यही भएर होला, यो तालको संरक्षण पनि राम्रै भएको रहेछ ।

वेगनासतालवाट उत्तरतिर डाँडामा रमाइलो गाउँ देखिन्थ्यो भने अझै पर अन्नपूर्णा र माछापुच्छ्रे्र हामीलाई हेर्दे मुस्कुराई रहेका थिए । हामी प्रकृतिकाे सुन्दरतासित वात मार्दा मार्दे पोखराको तालचोक आइपुगेछौँ ।
तालचोकवाट त्यो वस छोडी पोखरावाट काठमाडौँ जान लागेको वस चढियो । केहि छिनमा त्यो वसले पोखरा उपत्यका छोड्यो ।
डुम्रेमा त्यो वस छोडेर वेशीशहरको वस चढियो ।
विना गन्तव्यको दुईदिने यात्रा टुंग्याएर वेशीशहरको डेरामा छिर्दा रातको नौ वजेको थियो ।

रामहरि अधिकारी
दोर्दी १, लमजुंग
मितिः २०७७ कात्तिक १४ गते