बा..हरूलाई काेटीकाेटी जदाै (कविता)

मनऋषि धिताल
काठमाडौं

थाड़ो भरिएको
बाटो पुरिएको
हिउँको चुली
नाङ्गा खुट्टै पन्छाउने
र, हाम्रा हात सेकाउन
घामको स्वागत गर्ने मेरा बा .

गज्याङ्ग किड़ीसंग
देउडा गाउदै
र , भालु धपाउदै
लिपि लेकमा
आलु, मकै र सिमि जोगाउने
र , बिहान नहुदै
हाम्रा लागि सिम्पाटी पातमा
कैलु गाइको खीर बोकेर
नदेल्माडुको ओरालो झर्ने मेरा बा

अजङ्गका हिमाल नाघ्दै
अनकन्टार ओडारमा सुतेर
औलो लाग्ने
मलअर कुल्चिदै
कता कता……..
सुदुर सिमाना पारी
ढाका टोपी ढल्काउदै
बख्हू र दोचा टल्काउदै
पंजाव , लुधियाना र झासि पुगेर
नाङ्गो इन्डियाको ठण्डी भगाउन
कम्मल र बिर्के टोपी बेचेर
हाम्रा लागि नून तेल
र सियो धागो जुटाउने मेरा बा

पश्चिम पाटनै पाटन
हाट बजारको खोजीमा
बयलपाटा हुदै जोल्जीबी पुगेर
पहाड जत्रा घोडा बेच्ने
र, चिसापानी, गोलाघाट हुदै
गुड र मरमसला बोकेर सिंजा उक्लने
मेरा बा र बाका दौतरीहरु

ती आदरणीय हटारुहरु ….

पूर्व नेपाल हानिएर
कहानेर होला ???
कुभिन्डो कम्मरमा बाध्दै
भेरी, राप्ती र गण्डकी तरेर
बागमती किनारको
कालमोचनघाटमा अड्डा राख्दै
बिरामी भात्गाउ, कान्तिपुर र पाटन सहरलाइ
कस्तुरीको बिना,
भालुको पित्त
रतुवाको हड्डी
पाच औले, पदमचाल
हिंग सिलाजित, तितो कटुको
र, भीर मौरीको मह पुर्याउने
भोका महाराजहरुका दरबारको भान्सामा
मार्सीचामल र नौरंगी सिमि पुर्याउने
फर्कदा रिपुहरुका गोर्खे लौरी छल्दै
ढोरपाटन, मुसिकोट र बारेकोटका
मितहरुको गोठमा पुगेर
नया डोको फेर्दै र भैसी डोर्याउदै
टोप्ला झर्ने मेरा बाहरु …….

दुध नछोडेको
र, आमा गुमाएको
टुहुरो भाइ डोको माथि
र उसकी दिदिलाइ औलाले डोर्याउदै
दुइ छाक खाना
र, एक आंग नाना नटुटाउन
कर्णाली संगै सुसेल्दै
राजापुरको कासे घारीमा
जिन्दगिभरिको भारी बिसाउने
र, लमक लमक गाउ छिर्दै
खेत खलियाँन भत्काउने हात्ती धपाउन
रातभर अगुल्टो बोकेर
जाग्राम बस्दै
‘आगी बुढो’को उपनाम कमाउने मेरा बा

आफु,
मुखियाको फरमानमा
जहा भन्छन त्यही
ल्याप्चे लगाउदाको पिडा सुनाउदै
निगालोको कलम
जौका पात निचोरेर मसि
र, भोज पत्र माथि
हामीलाई बार्हखारी सिक्न लगाउने
मेरा बाहरु र लाहरे जेठा बाहरु .

मास्टरी गरोस भन्ने उनको सपना
प्रमाणपत्रहरुको अगुल्टो बनाएर डढाई दिए पनि
र, त्यहि अगुल्टो बालेर अर्कै बाटो खोज्न हिडेपनि
“आफु हिडेको बाटो कहिले पनि नछोड्नु
र, आफुले पिउने मूलधाराकाे पानी कहिले नबिर्सनु”
भन्ने आशिर्बाद सदा सदा दिइरहने
मेरा बा र बाहरुलाइ
कोटी कोटी जदौ .