चाैरसिया हत्या प्रकरण : जाहेरी बुझ्नै १ हप्ता अान्दोलन, पुर्व सभासद गुप्तासहित भागाभाग

मूलखबर संवाददाता
काठमाडौं, १४ कात्तिक

मुकेश चौरसिया हत्याको जाहेरी दर्ता हुना साथ पूर्वसभासद राजकुमार गुप्ता लगायतका आरोपीहरु फरार भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्सा मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मृतकका भाई महेश चौरसियाले पूर्वसभासद गुप्तासहित १२ जनाबिरुद्ध जाहेरी दर्ता गराएका छन् ।

जाहेरीमा गुप्तासहित धीरज चौहान, लक्ष्मण चौरसिया, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, जोखु राउत कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, हनिफ मियाँ देवान, देवा सहनी मलाह र जनार्दन चौहानको नाम उल्लेख छ । जाहेरी परेका १२ जनामध्ये देवा सहनी मलाह र हनिफ मियाँ मात्र प्रहरी नियन्त्रणमा छन् ।

मृतक मुकेश चौरसियाको हत्याको मुख्य योजनाकारको रुपमा जाहेरी दर्ता भएपछि गुप्ता वीरगञ्जबाट फरार छन् । परिवारजनले चौरसियाको हत्या गुप्ताकै योजनामा भएको दावी गर्दै आएका छन्  ।

घटनामा लाठीभाटा प्रहार गर्ने देवा सहनी र हनिफ मियाँ गुप्ताकै श्रीपुरस्थित घरबाट पक्राउ परेका थिए । घटना भएकै दिन उनकोे घरबाट पूर्वसभासद गुप्ता सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर, पक्राउ परेका मध्ये २ जनालाई हिरासतमा प्रहरीले राखेर गुप्तासहित ६ जनालाई सोही दिन ‘माथिको आदेश’मा रिहा गरिएको थियो ।

घटनापछि पर्साका प्रहरी उपरिक्षक गङ्गा पन्तले गुप्ताको नाम हटाएर जाहेरी ल्याउन भनेपछी नेकपा पर्साले जाहेरी दर्ता गराउन एक सातासम्म आन्दोलन गर्नुपरेको थियो ।

यता जाहेरी दर्ता भएसँगै चौरसियाको शवको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अघि उनको शवलाई स्थायी समिती सदस्य तथा पूर्वमन्त्री मातृकाप्रसाद यादवले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।- राताेपाटी