प्रधानमन्त्रीले रअ प्रमुखलाई भेटेपछि नेकपा, काँग्रेस र विप्लवकाे यस्तो माग

मूलखबर संवाददाता
काठमाडौं, ८ कात्तिक

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद्, नेपालले बुधबार राति प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ)का प्रमुख सामन्तकुमार गोयलबीच भएको छलफलको विषयवस्तु सार्वजनिक गर्न माग गरेको छ ।

केन्द्रीय जनपरिषद्, नेपालका तर्फबाट प्रमुख सन्तोष बुढामगरले शनिबार विज्ञप्ति जारी गर्दै छलफल गोप्य रहनु गम्भीर आपत्तिजनक भएको बताएका छन् ।

बुढामगरले विज्ञप्तिमा भनेका छन्, ‘हालै नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति हदैसम्मकाे लज्जास्पद विषय हो ।यसले नेपालको संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित छ भन्ने कुरा स्पष्ट गर्दछ । भेटघाटमा कुन विषयमा छलफल भयो भन्ने कुरा गोप्य रहनु गम्भीर आपत्तिको विषय हो । तत्काल उक्त विषयलाई नेपाली जनतासामु सार्वजनिक गर्न माग गर्दछौँ ।’

प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि भेटका विषयवस्तु सार्वजनिक गर्न माग गरेको छ । सत्तारुढ दल नेकपाका नेताले पनि परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानविपरीत प्रधाममन्त्री ओलीले ‘रअ’ प्रमुखसँग भेटेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले दसैँको उपलक्ष्यमा देशवासीका नाममा शुक्रबार सम्बोधन गरे, तर ‘रअ’का प्रमुख गोयलसँगको भेटबारे मौनता साधेका थिए । प्रधानमन्त्री ओलीको सम्बोधन मूलतः दसैँ र कोभिड– १९ को रोकथाम र उपचारमा केन्द्रित थियो।

छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रअ’का मुखिया गोयलले बुधबार राति ९:१५ देखि मध्यराति १२:१० सम्म बालुवाटारमै प्रधानमन्त्री ओलीसँग भेटेका थिए ।

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटले उनको आलोचना भएको छ ।

उक्त भेटबारे अाेली इतरकाे नेकपा टिम नै शशंकित बनेकाे छ । पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गाैतमसमेतले यश विषयमा पार्टीलाई प्रधानमन्त्रीले बाइपास गरेको र यथार्थ जानकारी गराउनुपर्ने माग गरेका छन् ।