जलवायु परिवर्तन र पर्यावरणीय असर

रिना चौधरी
काठमाडौं

नेपालमा जलवायु परिवर्तनको विभिन्न परिदृश्य अन्तर्गत वार्षिक तापमान बढ्दै गएको छ भने वार्षिक वर्षादर घट्ने क्रममा छ । ‘नेशनल एडप्टेसन प्रोग्राम अफ एक्शन’ सन् २०१० ले जलवायु परिवर्तनबाट जोखिमयुक्त जिल्लामध्ये पर्सा जिल्लालाई उच्च जोखिमको समूहमा वर्गीकरण गरेको थियो । १ अप्रिल २०१९ मा आएको विनाशकारी आँधीले पर्सा र बारामा २८ भन्दा बढी व्यक्तिको ज्यान लिनुका साथै लगभग ४० घर ध्वस्त भएका थिए ।

बहुजातीय नेपालमा सीमान्तकृत समूहको रूपमा वर्गीकृत गरिएको थारू जातिको बसोबास मुख्यतया भित्री मधेश, चुरेको फेददेखि सिमानासम्मको तराई मैदानमा छ । पर्सा जिल्लाका थारूमा गरिएको यस अध्ययनले जलवायु परिवर्तनले थारू समुदायको सांस्कृतिक रीतिरिवाज, खेतीपाती र खाद्य सुरक्षा, वनजङ्गलमा ठूलो असर परेको देखाएको छ जसले गर्दा आदिवासीको पहिचान घटाउनका साथै थारू समुदायको परम्परागत सीप र ज्ञानसमेत लोप हुने देखाएको छ ।

थारू समुदाय प्राकृतिक स्रोतसाधनको उचित तवरले दिगो रूपमा व्यवस्थापन गर्दै वातावरण मैत्री शैलीमा बाँच्ने गर्दछन् । आफूलाई परम्परागत इन्जिनियरको रूपमा विकसित गरेका छन् । उनीहरूले घर निर्माण गर्नका लागि आवश्यक माटो, काठ र घाँसलाई राम्रोसँग चिन्ने, भाँडाहरू बनाउन ढुङ्गा, हस्तशिल्प र औजारका लागि बिरुवा, काठ दाउरा प्रयोगमा आउने चीज राम्ररी चिन्दछन् । त्यस्तै प्रजातिहरूको प्रशस्तता, फूलेको फूल, कीरा र चरा वासस्थान र चारा, औषधि र विष बोट, प्राङ्गारिक कीटनाशक र जडीबुटीदेखि जनावरहरूको हिंड्ने मार्ग इत्यादिको सङ्केतलाई राम्ररी बुझेका हुन्छन् । पुर्खाकालदेखि नै थारू नदीको किनार र वनज ङ्गलको छेउमा बसोबास गर्ने, सामूहिक खेती गर्ने र शिकारमा निर्भर भई जीवनयापन गर्ने गर्दथे । त्यसैले यस समुदायको प्रकृतिसँग घनिष्ठ सम्बन्ध छ ।

प्राकृतिक संसाधनहरूमा यस समुदायको निर्भरता बढी हुनाले ‘कार्बन फुटप्रिन्ट’ तुलनात्मक रूपमा न्यून देखिन्छ । प्रकृतिसँगको तिनीहरूको अनौठो तालमेलले उनीहरूलाई उत्तम पर्यावरणविद्को रूपमा विकसित गरेको छ तर अहिले जलवायुमा आएको परिबर्तनको असर नदीनाला, वनजङ्गलमा परेको हुनाले आदिबासीको दैनिक जीवनयापन र पहिचानमा असर परेको छ ।् अन्नका भकारीहरू उत्पादन गर्ने थारूजातिको जीवन माटोसँग जोडिएको हुनाले थारू आफूलाई भूमिपुत्र भन्छन् । यस समुदायमा भूमिसँग एक किसिमको पुस्तैनी लगाव देखिन्छ । खेतबाट पहिलो फसलको केही हिस्सा चरा र जनावरहरूलाई प्रदान गर्नुपर्दछ भन्ने थारू किसानहरूको विश्वास छ । कुनै पनि चाडपर्व अथवा विवाह समारोहमा भूमिपूजन गर्ने चलन छ ।

अध्ययन क्षेत्रमा दुई दशकको अवधिमा जमिन क्षयका मुख्य चालकहरूमा जङ्गलको अतिक्रमण गरी खेती गर्नु र बाढी मुख्य छ । हाल कृत्रिम मल र कीटनाशकको प्रयोगले कृषिजन्य भूमिको उर्बरा शक्तिमा गिरावट निम्त्याएको छ । हात्तीझुलन, खेरा, कार्तिका, भोलनी, ठूलो मन्सुली जस्ता परम्परागत धानका प्रजातिलाई १४४२, सोना मन्सुली, गङ्गा कावेरी जस्ता नयाँ प्रजातिले विस्थापन गरेको पाइन्छ । नयाँ प्रजातिमा रोग र कीरा लाग्ने उत्तिकै सम्भावना हुन्छ ।

नदी, पोखरी र इनारजस्ता जलाशयले थारूको जीविकामा महत्वपूर्ण भूमिका खेल्दछन् । चुरेको जङ्गलले खडेरी, बाढी र मरुभूमिकरण जस्ता प्राकृतिक प्रकोपबाट बच्न महत्वपूर्ण भूमिका खेलेको छ । चुरेबाट उत्पन्न भएको गादी खोलाको पानी अध्ययन क्षेत्रमा सिंचाइ तथा जीविकोपार्जनको लागि मुख्य स्रोतको रूपमा रहेको थियो तर विगतको दुई दशकको अवधिमा चुरेक्षेत्रमा वन फँडानी भएकोले स्थानीय मौसममा परिवर्तन, खडेरी, बाढी, भूमिगत पानीको सतहमा कमी, नदी र पोखरी सुख्ने जस्ता समस्या देखिएका छन् । नतिजा स्वरूप, आर्टिसियन कुवामा निर्भरता बढ्दो दरमा छ । भूमिगत पानी निकाल्ने क्रममा जमिन भासिने जस्ता अन्य वातावरणीय समस्या देखापरेका छन् ।

पर्यापर्यटन विकासका लागि आदिवासी जनजातिका संस्कृति र जीवनशैलीलाई पनि एउटा आधार बनाएको देखिन्छ । थारू महिलाले परम्परागत शैलीमा बनाउने ढक्की, दउरी र पाथिया, एक प्रकारको स्थानीय घाँसले बनेको हस्तकला हो जसले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन मद्दत पुर्याउँथ्यो, ती हस्तकला बनाउने कच्चा पदार्थहरू नदी, पोखरी र जङ्गलमा पाइन्छ । पानीको स्रोत घट्दै गएको कारण ती सामग्रीहरू विरलै पाउन सकिन्छ । यी पदार्थ सजिलैसँग नभेट्नुको मुख्य कारणमध्ये चुरेक्षेत्रबाट अत्यधिक मात्रामा ढुङ्गा, गिट्टी र बालुवा जस्ता नदीजन्य पदार्थहरूको उत्खननले जलस्रोतमा परेको असर पनि हो ।

थारूका चाडपर्वहरूमा माछा, सिद्रा, गँगटो र घोंगीको छुट्टै विशेषता हुन् । तर दुई दशक यता नदी, पोखरी र खोलाहरू सुक्दै गएपछि माछा र प्रजातिहरू पाउन छोडेको छ जसको फलस्वरूप थारू संस्कृतिमा केही हदसम्म प्रभाव परेको देखिन्छ ।
अन्तर्राष्ट्रिय अनुसन्धानका अनुसार आदिवासी जनजातिहरूको परम्परागत अभ्यास र रीतिसंस्कृतिको कारण विश्वका धेरैजसो वनजङ्गल क्षेत्र आदिवासी जनजातिले बसोबवस गर्ने भूमिमा पाइन्छन् । पर्साको वनमा साल, असना, टुनी बर्रो (टर्मिनलिया बेलेरिका), हरो, कर्मा, भुडकुल, शिरीष, जामुन, कदम, आदि र भोर्ला डेब्रे जस्तै लहरा अन्य गैर वन पैदाबारमा च्याउ, निउरो, सान्तावर, बोजो, भ्याकुर, डतिवान, अमला, कुरिलो आदि पाइन्छ ।

थारूहरूले सालको भूमि, जङ्गल, गादी खोला, सूर्यको पूजा गर्दछन् । प्रत्येक सालको कात्तिक पूर्णिमाको रातमा गादीको जङ्गलमा पुर्खादेखि नै चलिआइरहेको कुलदेवीको पूजा जङ्गलमै बसेर मनाउने चलन छ । सालका रूखलाई वनशक्ति देवीको रूपमा लिइन्छ त्यसैले जङ्गलमा प्रवेश गर्नु अघि रूखहरूको पूजा गरिन्छ । विगत दुई – तीन दशकमा परिपक्व हुनका लागि लगभग सय वर्षको लाग्ने ती अग्ला सालका रूखहरू हराउँदै गएका छन् । भोज, विवाह, धार्मिक समारोहमा प्रयोग गर्ने लहरे बिरुवाहरू पहिला जङ्गलको प्रवेशद्वारमा सजिलै पाइन्थ्यो भने अहिले ती खोज्न जङ्गलको भित्री भागसम्म हिंड्नुपर्दछ ।

थारू समुदाय सरकार र राजनीतिक मामिलामा सीमित पहुँच भएको सिमान्तकृत समुदाय हो । तिनको जीविकोपार्जन, जीवनशैली र संस्कृतिलाई जङ्गल, भूमि र पानीको स्रोत बिना कल्पना गर्न सकिदैन । यी प्राकृतिक संसाधनहरू जलवायु परिवर्तन र केही मानव सिर्जित कारणले नष्ट भइरहेको अवस्थामा सरकार र अन्य सम्बन्धित निकायले यस समुदायको अस्तित्वमा ध्यान दिन जरुरी छ ।

राष्ट्रिय चुरे संरक्षण गुरुयोजना लागू गरी वन क्षेत्रको संरक्षण र संवद्र्धन गर्न कडा सुरक्षा परिचालन गर्न आवश्यक छ । त्यस्तैगरी नदी नियन्त्रण र अवैध उत्खनन नियन्त्रण गर्न पनि जरुरी देखिन्छ । आदिवासी संस्कृतिले पर्यटनलाई प्रभाव पार्दछ । आदिवासी मानिससँग प्राकृतिक स्रोतलाई आफ्नै मौलिक तरिकाले संरक्षण गर्ने क्षमता हुन्छ । त्यसैले सरकारले त्यस्तो समूहका ज्ञान र सीपलाई प्राकृतिक स्रोतहरूको व्यवस्थापनमा परिचालन गर्नुपर्ने अति आवश्यक छ । -गोरखापत्रबाट
(लेखक वातावरण विभागमा वातावरण निरीक्षक हुनुहुन्छ । )