अब काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल, होटलहरु आइसोलेसन बनाइने

मूलखबर संवाददाता
काठमाडौं, २६ असोज ।

सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण काठमाडौंमा अत्याधिक हुन थालेपछि सरकारले यस्तो निर्णय लिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।

नेपालमा कोरोना भाइरसका चार हजार ४७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख ११ हजार दुई जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३३ हजार ८८० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । संस्थागत आइसोलेसनमा १३ हजार ९२३ होम आइसोलनसनमा १९ हजार ९५७ छन् । क्वारेन्टाइनमा चारहजार ८३१ छन् ।
आइसीयूमा रहेर २७९ जना र भेन्टिलेटरमा ६७ संक्रमितको उपचार भइरहेको छ ।