होसियार ! यसरी टाउको दुखेमा सामान्य नठानौं !

मूलखबर संवाददाता
काठमाडौं

स्नायु प्रणालीलाई असर गर्ने विकारहरू मध्ये टाउको दुख्नु पनि एक हो । स्वास्थ्यसम्बन्धी विभिन्न अध्ययनअनुसार विश्वको आधाभन्दा बढी जनसंख्याले टाउको दुख्ने समस्या भोगिरहेका छन् । टाउको दुखाई सामान्य र जटिल गरी दुई प्रकृतिको हुन्छ । सामान्य स्वास्थ्य समस्या, वातावरण, तनाव आदिले हुने टाउको दुखाई हरेक व्यक्तिले भोगिरहेका हुन्छन् । यस्तो दुखाई कुनै निश्चित विषयमा निर्भर रहन्छ । जस्तैं खानपान, डिहाइड्रेसन, काम र घरको वातावरण र स्वास्थ्य अवस्था आदि । सामान्य किसिमको टाउको दुखाईले स्वास्थ्यमा खासै असर गरिरहेको हँुदैन । तर, कतिपय अवस्थामा सामान्य लाग्ने टाउको दुखाई ब्रेन ट्युमर, स्ट्रोक, रक्तश्राव आदिको लक्षण पनि हुन सक्छ ।

घाँटी दुख्ने, ज्वरो आउनुसँगसँगै टाउको दुख्ने समस्या भए कुनै रोगको संकेत हुनसक्छ । लक्षणहरूका आधारमा टाउको दुखाईको कारण थाहा थाहा पाउन भने गाह्रो हुन्छ । तर करिब १० प्रतिशतमा भने टाउको दुखाईको कारण गम्भीर समस्या हुने अध्ययनहरूले देखाएका छन् । यी अवस्थामा टाउको दुखेमा सामान्य मान्न नसकिने अध्ययनहरूको सुझाब छ :

असामान्य महशुस हुनु
दैनिक जीवनमा आइपर्ने विभिन्न तनाव आदिका कारण अधिकांशमा टाउको दुख्ने समस्या हुन्छ जुन सामान्य हो । तर यदि असामान्य लाग्ने गरी टाउको दुखेमा कुनै गम्भीर स्वास्थ्य समस्याको लक्षण बुझ्नु पर्छ । अचानक तिव्र रुपमा टाउको दुखाई जोखिमपूर्ण अवस्थाको संकेत हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।

अचानक टाउको दुख्नु
अचानक टाउको दुख्नु र करिब पाँच मिनेट नपुग्दै अत्यधिक दुखाई हुनु सामान्य लक्षण होइन । एक्कासी गम्भीर बनाउने गरी टाउको दुख्नु मस्तिष्कमा हुने रक्तश्रावका कारण हुन सक्छ । यस्तो टाउको दुखाई केही घण्टा वा केही दिनसम्म पनि रहन सक्छ । चिकित्सकहरूका अनुसार एक्कासी टाउको दुखेमा दुखाई कम गर्ने औषधि खाएर सुत्ने प्रयास गर्नु हँुदैन । यसले थप समस्या निम्त्याउन सक्छ । तसर्थ यस्ता लक्षण देखिए सकेसम्म छिटो सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ ।

टाउको दुखाईसँगै ज्वरो र घाँटी दुख्नु
अत्यधिक टाउको दुखाईसँगै ज्वरो आउने र घाँटी दुख्ने समस्या मेनेन्जाइटिसको लक्षण हो । मस्तिष्कमा हुने सुजन र मेरुदण्डको मेम्ब्रेनका कारण हुने गर्छ । अचानक हुने टाउको दुखाई र ज्वरो कुनै अन्य मानसिक अस्वस्थताको लक्षण पनि हुन सक्छ ।

अचानक मुड परिवर्तन हुनु
टाउको दुखाईका कारण अचानक मुड परिवर्तन हुनुलाई गम्भीर समस्याको लक्षण मानिन्छ । बिना कारण तिव्र दुखाई हुनु, दुखाई असामान्य लाग्नु र मुड परिवर्तन गर्नुले कमजोर मानसिक अवस्थाको संकेत गर्छ ।

आँखा वरिवरि दुख्नु
यदि टाउको दुखाईको समयमा आँखा वरिपरि दुख्छ भने त्यो गम्भीर रोगको लक्षण हुन सक्छ । टाउको दुखाईले आँखाको दृष्टिमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जसले भविष्यमा मोतीविन्दू र आँखामा पार्ने दबाबका कारण आँखामा रक्तसन्चार बन्द हुन सक्छ । जसको कारणले अन्धोपनको जोखिम समेत रहन्छ ।

यस्तै, चोटपटकका कारण टाउको दुख्नु, दुखाईसँगै लगातार बान्ता हुनु वा पखाला लाग्नु, व्यतित्व र कार्यशैलीमा परिवर्तन आउनु, बेहोश हुनु, काप्न थाल्नु, हिड्न गाह्रो हुनु, राती पसिना आउनु, मांशपेसी वा जोर्नी दुख्न थाल्नु, सन्तुलन गुमाउनु आदि टाउको दुखाई सामान्य होइनन् । यस्ता लक्षण देखिएमा समयमै चिकित्सकको परामर्श आवश्यक हुन्छ ।

–एजेन्सीको सहयोगमा