आज पाँचौ संविधान दिवस : शुभकामना मात्रै दिने की के गर्ने ?

मूलखबर संवाददाता
काठमाडौं, ३ असोज ।

आज असोज ३ । नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको आज ५ वर्ष पुरा भएको छ । यस अवसरमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री के पी शर्मा ओली, नेकपा अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नीप्रसाद सापकोटालगायतले शुभकामना व्यक्त गरेका छन् ।

१० वर्षे माओवादी शसस्त्र जनयुद्ध र त्यसैको जगमा खडा भएको १९ दिने ऐतिहासिक जनआन्दोलनको बलमा नेपालबाट २४० वर्षे राजतन्त्रात्मक व्यवस्थाको अनत्य गरी गणतन्त्र नेपाल निर्माण गर्दा हजारौं नेपाली सपुतहरुको वलिदान भएको छ । हजारौं बेपत्ता र अंगभंग तथा घाइते भएका छन् ।

संविधान निर्माण मुख्य विषय त हो तर त्यो भन्दा पनि बढि महत्वपूर्ण विषय त्यसको कार्यान्वयन र लक्षीत वर्गले पाउने अधिकार हो । नेपालमा गणतन्त्र आएको १४ वर्ष हुँदा समेत वास्तविक श्रमीक जनताले अझैपनि गणतन्त्रको प्रतिफल प्राप्त गर्न नसकेको कटु यथार्थ हामीसँग छ । संघियताको अभ्यास गरिएको छ तर यसलाई सुसासन र पारदर्शीताको अभावमा हात्तिको सेतो दाँत बन्ने खतरा पैदा भएको छ ।

गणतन्त्र स्थापना भएको यति धेरै समय वित्दा पनि बेपत्ता नागरिकको स्थिति सार्वजनीक हुन सकेको छैन भने अझै पनि गणतन्त्र स्थापनाको लागि होमीएका योद्धाहरु घाइते र अपांग अवस्थामा चिच्याइरहनुपरेको छ ।

जनयुद्धमा सहभागि नेता कार्यकर्ताहरुलाई अझै पनि झुटा मुद्धाहरु लगाएर अल्झाउने र दुःख दिने काम भइरहेको छ, शान्ति प्रक्रियाका बाँकी कामहरु अझैपनि जिउँका तिउँ छन् ।

मधेशवादी दलहरुले अहिले पनि संविधान संशोधन गर्नुपर्ने माग गरिरहेका छन् भने आजको दिनलाई कालो दिनको रुपमा विरोध समेत गरिरहेका छन् । संविधानमा उल्लेख गरिएका नियम कानुन र प्रावधानहरुको खिल्ली उडाउँदै निर्वाचनमा पराजितलाई पुन चोरबाटोबाट सांसद बनाएको भनेर आलोचना पनि भइरहेका छन् ।

जसले संविधान निर्माणको लागि र गणतन्त्र स्थापनाको लागि रगत बगायो, योगदान गर्यो तीनिहरु अहिलेपनि सडकमा भौतारिरहनुपर्ने अवस्था विद्यामान छ भने जसले गणतन्त्रलाई असम्भव भन्दै त्यसको पक्षमा लाग्नेलाई कत्लेआम गरिरहेका थिए तीनै शासनको बागडोर सम्हालिरहेका छन् यस्तो बेला संविधान दिवसको शुभकामना दिएर मात्रै पुग्दैन यसको सहि कार्यान्वयनमा जोड दिनुपर्छ, शहीद परिवार, वेपत्ता परिवार, घाइते, अपांग र परिवर्तनको लागि योगदान गरेकाहरुलाई सम्मान, सहानुभुति र सहयोग गर्नु आजको आवश्यकता हो ।

व्यवस्था फेरिएपनि त्यसलाई नेतृत्व गर्ने नेता र नेतृत्वमा सोँच नफेरिएसम्म कुनै पनि मुलुकले प्रगति गर्न सक्दैन भन्ने कुरा चरितार्थ हुँदै गएको छ । के हामी व्यवस्था मात्रै फेर्नका लागि संघर्ष गरेका थियौं, जनताको जिवन फेरिनुपर्दैन ? नेताको घर फेरिएर हुन्छ की जनताको झुपडि फेरिनुपर्छ, नेताको रङ फेरिएर हुन्छ की जनताको पहिरन फेरिनुपर्छ ? देश झन झन गरिबीको रेखामुनि जाकीँदै जाने, नेताहरु झन पछि झन धनी र अमीर बन्दै जाने ? युवाहरु रोजगारीको लागी भौंतारिँदै खाडिका देशहरुमा आफूलाई बेच्नुपर्ने, दिनदिनै बाकसमा कैद भएर फर्किनुपर्ने ? यी गम्भीर प्रश्नहरु कहिले समाधान हुन्छन ? के यी प्रश्नहरुको उचित उत्तरविना संविधान दिवसको शुभकामना सार्थक बन्ला ?