दलितहरुलाई कमजोर देखाएर राजनीति नगरौं : मन्त्री गुरुङ

मूलखबर संवाददाता
काठमाडौं, ३१ भदौ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दलितहरुलाई कमजोर देखाएर राजनीति गर्न नहुने बताएका छन् ।

दलित सेवा संघको २६ औं स्थापना दिवसको अवसर पारेर आयोजित ‘भर्चुअल’ बैठकमा मन्त्री गुरुङले दलित मुक्ती आन्दोलनलाई सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरण आवश्यक रहेको बताए ।

दूर्गम क्षेत्रका अशिक्षित, गरिव दलितहरुलाई आर्थिक रुपले सशक्त नबनाई उनीहरुको मुक्ति सम्भव नहुने उनको तर्क छ । “आज दलितहरु, जनजातिहरु, महिलाहरु समाजमा जसरी पिल्सिएर बसेका छन, उनीहरुको मुक्तिका लागि आर्थिक सशक्तिकरणमा जोड दिनुको विकल्प छैन” गुरुङले थपे।
मन्त्री गुरुङले मुक्ति आन्दोलनलाई सफल बनाउन एकतावद्ध भएर अघि बढन पनि दलित समूदायका अगुवाहरुलाई आह्वान गरेका छन् । “राजनीतिक परिवर्तन भयो तर अझै पनि सामाजिक रुपान्तरण भएन, समाजमा विभेदहरुको अन्त्य भएन, सामाजिक कूरीति र अन्धविश्वासको अन्त्य भएन” मन्त्री गुरुङले भने ।
मन्त्री गुरुङले सामाजिक रुपान्तरणको माध्यामबाट ओझेलमा परेका दलितहरुको मुक्तिका लागि सरकार लागि परेको जानकारी गराए ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलित समुदायको सशक्तिकरणमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराउनुभएको मन्त्री गुरुङका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए ।