कोरोना कहरको चुनौती र अवसर

खेम शर्मा
काठमाडौं, २३ भदौ ।

विश्व अहिले महामारीसंग लडिरहेको छ । सायदै संसारको कुनै पनि देश यो महामारीको असरबाट बचेका छन् । संसार भरिका चिकित्सा क्षेत्रका बैज्ञानिकहरु यो महामारीबाट मानिसलाई कसरी बचाउने भन्ने मुख्य अनुसन्धानमा छन् । महामारीको छ महिना बितिसक्दा पनि उचित उपचार पद्दति नभेटिएकोले कतै मानव अस्तित्व नै संकटमा त छैन भन्ने प्रश्न पनि अहिले गम्भिर रुपमा उठेको छ । यहि बिन्दुमा गम्भीर चुनौती संगै महान् अवसर पनि छन् ।

यहि संकटकाबीच नयाँ उपचार पद्दति मात्रै होइन जीवनशैलीकै खोज अनुसन्धान गर्नु विश्व मानब समुदायको लागि अहिलेको मुख्य आवश्यकता हो । चिकित्सा विज्ञानका बैज्ञानिकहरु आफ्नो ठाउबाट दिनरात लागिरहेकै छन् तर समाज बिज्ञानमा हामीले केहि नयाँ खोज अनुसन्धान गर्न सकेनौ भने त्यो आविस्कारले मात्रै मानव अस्तित्व माथिको संकटको अन्त्य गर्दैन । यिनै चुनौती र अवसर क्षितिजमा देखापरेका छन् । मानव मात्रै यस्तो प्राणि हो जसले चुनौतीलाई नयाँ अबसरमा रुपान्तरण गर्न सक्छ ।

यो समय बास्तवमा समाज विज्ञानमा नयाँ विचार जन्माउने समय हो । नयाँ विचारले नयाँ संस्कार जन्माउँछ , नयाँ संस्कारले सभ्यता र नयाँ सभ्यताले मानव समाजलाई संचालन गर्छ । यदि अहिले नयाँ विचार र संस्कार जन्माउन सकिएन भने मानिसको मृत्यलाई पर सार्ने औषधि त पत्ता लाग्ला तर अहिले भएको मानबिय सभ्यता र संस्कार बच्ने कल्पना पनि गर्न सकिदैन र नवीन मानव सभ्यता र संस्कार निर्माण हुनेमा पनि संकट पैदा हुन्छ । यो समय सामाजिक दुरी कायम गर्नैपर्ने तर प्रेम र सद्भावको दुरी घटाउनु पर्ने समय हो । नयाँ संस्कार, सभ्यता वा जीवनशैली यहि भित्र जन्मिन्छ ।

नेपाली समाजको सन्दर्भ

नेपाली समाजको विश्लेषण गर्दा अहिले सर्बाधिक राजनीतिक शक्तिमा रहेका नेताहरु सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली , पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवा आदि हुन् । हामि इतिहासका घटनाको यात निकै प्रशंशा गर्छौ या घृणा मात्रै, हामी के पी ओलीको संघर्षमय जेल जीवन देखि देशभक्तिको चट्टानी अडानको प्रशंशा गर्छौ तर उनका केहि उडन्ते कुराको चर्को आलोचना पनि गर्छौ । नेपालको जनयुद्दमा १७ हजार नेपालीको निधनको दोष प्रचण्डलाइ मात्रै दिन्छौ । तर, त्यो जनयुद्द पछी गरिएको बृहत शान्ति सम्झौता र त्यसपछिको राजनीतिक रुपान्तरण बिर्सन्छौ

शेरबहादुर देउवाका पछिल्ला कतिपय राजनीतिक कमजोरीको आलोचना गरिरहदा पंचायत बिरुद्दको आन्दोलनमा उनले जिब्रोमा करेन्ट लगाइपाएको कठोर यातना बिर्सन्छौ।

नेपाली समाजको सन्दर्भमा यहाँ भन्न खोजिएको कुरा चाहि के हो भने एक पटक बैधानिक र स्वीकार्य भैसके पछी फेरी फेरी त्यो कुरा अल्झाई रहनु इतिहासको परिघटनालाई पछाडी धकेल्नु मात्रै हो । तर संगसगै नेतृत्वले पनि उनको संघर्ष , त्याग समर्पणको गरिमालाई कायम राख्न सकेको भए पनि उनीहरुको यति ठुलो आलोचना हुदैनथ्यो र समाजले एक पछी अर्को निराशा भित्र रुमलिरहनु पर्दैनथ्यो । केपी ओलीले केहि हलुका कुरा नगरेको भए र आफ्नो टीमका गलत व्यक्तिहरुलाई सिधा कारबाही गर्न सकेको भए , प्रचण्डले हिजोको बलिदान र सहादतको मर्म अनुसार आफ्ना पाइला चालेको भए र शेर बहादुर देउवा पजेरो काण्ड लगायतमा नलागेको भए सायद यी नेतृत्व विरूद्व जनतामा चरम निराशा पैदा हुदैनथ्यो।

को चाहन्छ र आखिर रत्नाकर डाकु रहिरहन

कुनै बेलाका मुर्ख रत्नाकर डाकु पछि निकै सज्जन भएका कथा सबैले एकचोटी पढ्यौ । सहि अवसर र समय आएपछि उतिबेला मुर्ख रत्नाकर डाकु सज्जन वाल्मिकी ऋषि बन्न सक्नेरहेछन । अहिले पनि परिस्थितिले रत्नाकर बनेकाहरु सज्जन वालमिकी बन्ने अवसर पो खोजिरहेका छन् कि ?बाल्मिकी भैसके पछी फेरी उनलाई हिजोका रत्नाकर डाकु भनेर इतिहासमा आरोपित गरिरहनु वालमिकी जन्मने प्रक्रियालाई बन्ध्याकरण गर्नु पो हो कि । यसले समाजलाई अगाडी बढाउने होइन कि पछाडी धकेल्ने कुरा हुन्छ । अब यो कुराको अन्त्य हामिले नै अहिले गर्नुपर्छ किनकि हाम्रो पुस्ताले ढुंगे युग देखि चरम विकासको आधुनिक युगसम्मको सबै परिस्थिति देखि भोगिसकेको छ ।

हामि सबैले आ–आफ्नो ठाउँमा केहि गल्ति गरेका हुन सक्छौ । म पनि विदेश आएर बिगत लगभग डेढ दशक देखि यतै छु चाहेर पनि मातृभूमिको लागि थोरै मात्रै गर्न सकेको छु । मेरो केहि कमजोरी पक्कै छ जसको कारणले मैले देशको लागि चाहेर पनि थोरै मात्रै गर्न सकेको छु भन्ने कुराको मन पखाल्ने वा प्रायश्चित गर्ने सुरक्षित ठाउँ मैले नपाएको हुनसक्छ । विद्यार्थी स्कूल नगएर कक्षा छोडिरहेका पो छन की , शिक्षकले समयमा स्कूल गएर पढाएका पो छैनन् कि, कर्मचारीले घुस पो खाएका छन् कि , व्यापारीले नचाहिदो नाफा पो असुलेका छन् कि, इन्जिनिएरले विधि मिचेर काम पो गरेका छन् कि , डाक्टरहरुले कमिसनको लागि कमसल औषधि पो रिफर गरेका छन् कि, पत्रकारले समाचार विचार प्रवाहमा निश्पक्षता अपनाएका पो छैनन् कि , न्याय मुर्तिहरुले सहि न्याय नदिएका पो छ कि र हाम्रा राजनीतिक नेताहरुले सही र देशकेन्द्रित नीति पो निर्माण गरिरहेका छैनन् कि, तर सबैलाई अर्काको र स्वयं आफ्नो पनि गल्ति कमजोरी भने राम्रोसंग थाहा छ । अर्काका थाहा पाइएका गल्ति वा कमजोरीका लागि अड्डा अदालत , दण्ड सजाँय वा जेल र सुधार गृहको परिकल्पना छ तर आफैलाई थाहा भएका आफ्ना गल्ति कमजोरीको प्रायश्चित गर्ने सुरक्षित र उपयुक्त थलो कहा छ ? अहिले सम्म यो कुराको सार्थक परिकल्पना गरिएको छैन त्यसैले गल्तिहरु झन् बढेका छन् तर घटेका छैनन् ।

यहाँ नेर एउटा संक्षिप्त कथा थपौ, एउटा गाउँमा मन्दिर थियो । त्यहाँ मुख्य पुजाको दिन गाउँभरिका मानिसले दुध चढाउने चलन थियो । एक जना मानिसलाई चिन्तन आयो आखिर सबैले दुध चढाई हाल्छन् म एक जनाले पानी चढाए पनि केहि फरक पर्दैन । त्यो चिन्तन पुजाको दिन सबैजनालाई एक्कै चोटी आयो । परिणाम, मन्दिरमा दुध कुण्ड होइन जल कुण्ड मात्रै भयो । हाम्रो समाजमा पनि त्यहि भएको होकी ? सबैले अरुले राम्रो गरिहाल्छन् नि भन्दै हरेकले आफ्नो क्षेत्रमा दुध चढाउनु पर्नेमा पानी चढाएकाले र हरेकले आ–आफ्ना गल्ति कमजोरीको आत्मसमिक्षा होइनकी अर्कोलाई दोषारोपण मात्रै पो गरेकाले हाम्रो परिवार, समाज र देशको विकास नभएको हो कि?

अहिले सबैलाई आफ्ना गल्ति, कमजोरी, अपराध वा भष्ट्राचारको आत्मसमिक्षा वा प्रायश्चित गर्न पक्कै पनि मन छ। किनकि सबैलाई प्रश्न रहित किसिमले खुशी बन्ने चाहना छ । सबै खालका विकारहरुले भरिएको मन र मस्तिस्कलाई आत्मालोचना मार्फत धोइपखाली गर्ने र खराव नियतले जम्मा गरेका भौतिक बस्तुहरु स्व–घोषणा गर्ने उपयुक्त बैज्ञानिक र मनोबैज्ञानिक बिधि चाहिएको छ । किनकि मानिस अन्तत खुशी हुन चाहन्छ, देखाउन नमिल्ने अथाह धन र दुखि मन आफैसंग राखेर अहिलेको मानिस खुशी हुन सकेको छैन ।

सबैले असल काम कसैले सुरु गरिदिएको भए, असल नेता अरु भैदिएको भए, कसै न कसैले यो अफ्ठेरो र बरफको पहाड फोड्ने काम गरिदिएको भए त्यसपछि म पनि लाम लाग्थे भनेर मनमनै सोचिरहेका छन् तर सबैले यो कुरा मनमै सोच्ने तर आफ्नो स्थानबाट आफ्नो ब्यबहारले सानै भएपनि काम सुरु गर्न भने सकेका छैनन् । अर्को हिसाबले यो पनि माथिको कथाको जस्तै सबैले मन्दिरमा दूधको ठाउँमा पानी हालिरहे जस्तै हो । कसैले दुध हाल्न सुरु गरेका भए म पनि सुरु गर्थे भन्ने जस्तै भएको पो छ कि ?

विधि र प्रबिधि के हुनसक्लान ?

यसकालागि छुट्टै नयाँ विधि र प्रबिधिको आवश्यकता छैन । छ भने केवल सामाजिक विस्वासको आवश्यकता छ । अहिले सामाजिक विश्वास नै नयाँ विचार हो । यदि समाज , राज्य, परिवार सबैले आफ्ना गल्तिहरुलाई माफी दिन्छ , प्रायश्चित गर्ने अवसर दिन्छ र भोलिपल्ट देखि कुनै किसिमको भेदभाव हुदैन भन्ने ग्यारेन्टी विश्वास दिलाउन सकिएको दिनदेखि रामराज्यको सुरुवात हुनसक्छ । अथवा यसो भनौ त्यो विश्वास भएमा स्वीस बैंकको धन आफै फिर्ता आउँछ, देश विदेशमा भएका आफन्तलाई राख्न दिएका लगायतका अन्डरग्राउण्ड धन होस् वा पानी ट्यांकी र जमिनमुनी गाडिएको धन होस् त्यो स्व–घोषणाद्वारा निस्कन सक्छ । अनि हाम्रो देशको विकास गर्न अन्यत्रै ऋण खोज्नु पर्ला र ? यो पक्का हो कि कोहि पनि नेपाली नेपाललाई निकै माया गर्छ । सबै नेपाली देशभक्त पक्का हो । कहिले काही भएको गल्तिलाई आफ्नो बिरोधिले चकलेट दिदा बच्चाले आफ्नो बाआमालाई एकछिनलाई गाली गरेजस्तै मात्रै हो । सबैको त्यो बालसुलभ कमजोरीको आत्मालोचना गर्ने स्थान सुरक्षित गरिदिनु पर्दछ ।

उदाहरणका लागि यसो गर्न पनि सकिन्न। आर्थिक भष्ट्राचारको कुरालाई नै लिउ न। हिजो कसले के गर्यो वा गर्न चाहेन त्यो अलग कुरा हो । तर अब केहि नयाँ गर्न सकिन्छ । देशको परिस्थिति –बदलिरहेको छ । हालैको एक तत्थ्यांक अनुसार देशलाई अहिले केहि खर्ब ऋणको भारी बढेको छ । यो अवस्थाबाट पार पाउन सबैभन्दा ठुलो कुरा राज्यले नै नयाँ घोषणा गर्नसक्छ । त्यो हो निश्चित समय तोकेर सबैलाई आफुले अनुचित रुपमा जम्मा गरेको सम्पति एउटा गोप्य राष्ट्रिय खाता निर्माण गरि त्यसमा जम्मा गर्न खुल्ला आह्वान गर्ने, स्व–घोषणा गर्नेको परिचय राज्यले सधै नै गोप्य राख्ने र त्यो दिन देखि उसमाथि कुनै पनि कानूनी वा नैतिक प्रश्न नउठाउने ग्यारेन्टी गर्नुपर्छ र त्यो विस्वास दिलाउने वैधानिक र प्राबिधिक संरचना निर्माण गर्नुपर्दछ । यो अख्तियार वा सम्पति सुद्दिकरण जस्तो होइनकी त्यो भन्दा नितान्त नयाँ संरचना र एक पटकका लागि मात्र । त्यो भएमा आफुसंग अनुचित रुपमा जम्मा हुन आएको सम्पति राज्यलाई बुझाएर भोलि पल्ट देखि उ खुशी कमाउन र सुख संचय गर्न थाल्ने छ । झट्ट हेर्दा यो काल्पनिक र आदर्श कुरा लाग्छ तर यो सम्भव छ ।

यसको “सदाचार महाकोश” नाम राख्न सकिन्छ र त्यसमा जम्मा भएको रकम देश निर्माणको गौरबमय काममा लगानी गर्नुपर्दछ ताकी हिजोसम्मका गल्ति गर्नेहरु आफुले गल्ति गरेपनि अन्तिममा राज्यले दिएको सच्चिने अवसरमा जम्मा भएको “सदाचारकोष” बाट बनेको गौरबमय आयोजनाको आफुलाई हिस्सेदार ठानेर खुशी बटुलिरहेको हुन्छ । नत राज्यले फलानो फलानोबाट खोसिएको रकमबाट बनेको भनिरहनुपर्छ नत जम्मा गर्नेले मैले जम्मा गरेर बनेको भनेर खुल्मखुल्ला नै भन्नु पर्दछ । यदि इतिहासमा दिबंगत भैसकेका केहि नेताहरुलाई यो अवसर भएको भए सायद उनीहरु पनि श्वास जानु अघि नै त्यसो गर्थे र इतिहासले उनीहरुलाई धिक्कारीरहनु पर्दैनथ्यो । उखान जे सुकै भएपनि कसैलाई पनि जिउँदै त के मरिसकेपछी पनि आफ्नो घृणा हुने स्थान राखिरहन मन कसैलाई हुदैन।

यस्तो एउटा घोषणा बनोस्

यस्तो घोषणामा सबैको जीत हुनेछ । सदाचार र उच्च नैतिकताको जित हुनेछ । सदाचार र उच्च नैतिकता जाच्ने भौतिक प्राबिधिक संरचना हुनेछन् तर ति सबैले अभेद्य गोपनियता कायम राख्नेछन् तर यदि त्यो समय सिमा सकिएपछी भने राज्य निर्मम भएर सत्य पत्ता लगाउदै सदाचार “स्वोघोषणा” को अबज्ञा गर्नेलाइ गल्तिको पाँच गुणा सजाए गर्ने बिधि पनि समानान्तर रुपमा लैजानु पर्दछ । अख्तियार वा सम्पति सुद्दिकरण जस्ता सँस्थालाई त्यो उचाईमा त्यसपछि उठाउन सकिन्छ र त्यो सर्बस्वीकार्य पनि हुने निश्चित नै छ।

एकातिर महामारीको त्रास र अर्कोतिर आजीवन आरोप, प्रत्यारोप, अपमान , घृणाको पात्र बन्न कसैलाई मन छैन । सबैलाई आरोपको आजीवन ट्याग भिरेर र भिराएर दुखि आत्मा भड्काइ रहने अवस्थाको अन्त्य गर्न अनुशासन , सदाचार , आत्मनिर्भरता र स्वाधिनताको संयुक्त अभियानको थालनी नै मुख्य कुरा हो । तर यो सदाचारको विचार लागु गर्ने चाहि कहाँबाट ? यो प्रश्नको सहि उत्तर हो हरेक परिवारले आफ्ना हरेक सदस्यलाई आत्मसुद्दिकरणको सभ्यता पनि दिउन र त्यो अवसर जुटाई दिउन जहाँबाट एक पूर्ण, संस्कारयुक्त र सदाचारी मानवको निर्माण होस् ।

जब संस्कारयुक्त बालक विद्यार्थीका रुपमा अनुशासित रुपमा स्कूल जान थाल्दछ , जब शिक्षक समयमै गएर पढाउन थाल्दछन , कर्मचारी आफ्नो कर्तब्यपथमा आत्मानुशासन पुर्बक हिड्छ , जब डाक्टरले आफ्नो फी भन्दा बिरामीको अनुहारका खुशी हेर्न थाल्दछ , ब्यापारीले नाफामात्र भन्दा ग्राहकको सेवालाई प्राथमिकता दिन्छ, पत्रकार इन्जिनिएर ,डाक्टर, न्यायमुर्ति –अआफ्नो पेशामा इमान्दार हुन्छन र नेताहरु जब राजनीतिमा त्यागको ब्यबहार र भावनाले मात्रै आउछन् तब न समाज र संसार सुन्दर बन्दछ । त्यस पछी कल्पना गरौ त अहिलेको महामारीले तोकिदिएको डेड मिटर भौतिक दुरी भन्दा बढी दुरी कुनै व्यक्ति–व्यक्तिबीच, समाज समाज बीच वा देश–देशबीच कायम राखिरहन आवश्यक होला र ?

हामीले उदाहरण दिनेहो भने हाम्रा सर्बशक्तिमान नेताहरुको दिनचर्या कस्तो छ? माहामारीले सृजना गरेको अहिलेको परिस्थितिकाबिचमा पनि उनीहरुको दिनचर्याको अनुकरण गर्न योग्य छैन । बिहान सुर्योदय नहुदै उनीहरुका निवासमा भेटघाटको भिड जारी छ, महामारीले ठुलालाई र ठुलालाई भेट्नेलाइ छुदैन जस्तो भान दिदै त्यो लस्कर बिहानभरि हुन्छ, दिउसो देशको लागि दिनु पर्ने खास समयको पनि सदुपयोग हुन पाउदैन र साझँ फेरी त्यस्तै भेटघाट र अनाबश्यक कुरामा नै समय जान्छ , मानौ कुनै आत्मानुशासन नै छैन । आफै आत्मानुशासनमा रहन नसक्ने नेताले गर्ने शासन कसरि सुशासन हुनसक्ला ? यो प्रश्न गर्ने बेला भएको छ ।

मानव सभ्यतालाई अर्को उचाईमा पुर्याउने गरि स्वस्थ्य, आत्मअनुशासित, आत्मनिर्भर, स्वाधीन, संस्कारी, उद्यमशील र स्वयंसेवी नेतृत्व अहिलेको समयले माग गरिरहेको छ । बिहानको समय आफ्नो लागि दिएर मानसिक र शारीरिक तन्दुरुस्तिको लागि ध्यान, योग , जीम , स्विमिंग र अध्ययन गर्ने, दिउसो समयको आवश्यकताले विकास गरेका र आधुनिक बिज्ञानले आविस्कार गरेका फाइभ जीको रफ्तारमा कामगर्ने र आविस्कार हुनबाकी सिक्स जीको आयाम र रफ्तारमा सामाजिक तथा व्यवसायिक जिम्मेवारी बहन गर्न योग्य बनाउने , अनि साझँको समय सकारात्मक चेतनाले आफ्नो परिवार, साथीसंगी र समाजलाई खुशी राख्नसक्ने ब्यबहार र विचारयुक्त व्यक्ति नै यो समयले खोजेको नेतृत्व हो । के हामी यो चुनौती र अवसरलाई स्वागत गर्न तयार नहुने ?

अमर मार्गको यात्रा

सबैको यस्तो र उस्तो हुनुपर्छ भनेर अरुमै यस्ता गुण देख्न चाहने मात्रै भयो । हामि सबैमा अरुमा होइनकि आफैमा यो कुराको जीवनशैली निर्माण गर्न लाग्नु पर्दछ । यसपछि समाजले प्रश्न गरोस् मेरो जीवन शैलीका बारेमा । अरुका लागि होइन मैले आफ्नो लागी , समाजको लागि र परिवारको लागि यो अनुकुलको जीवनशैलीको अभ्यास सुरु गरिसकेको छु । अहिले शारीरिक रुपमा इम्युन सिस्टम बलियो बनाउने बहस हुन्छ । त्यसकालागि बेसार पानीको चर्चा समर्थन वा बिरोधमा मात्रै हुन्छ तर बेसार पानि पिउनु राम्रो हो साथै त्यो अघि र पछी पनि अरु केहि कुरा हुन सक्छ वा गर्न सकिन्छ भन्ने सकारात्मक बहस किन नगर्ने ?

बेसार पानी लगायत भौतिक बस्तु शारीरिक इम्युन सिस्टमका लागि ठिककुरा हो तर शारिरीक इम्युन सिस्टम मानसिक इम्युन सिस्टम बलियो नबनी सम्भव छैन । उदाहरणका लागि हामिले रुख काट्नु अघि बन्चरो तिखार्नु परे जस्तै हो। हामीले बन्चरो तिखार्नु भनेको पहिले मानसिक इम्युन सिस्टम बलियो बनाउनु हो। व्यक्ति, ब्यबसाय वा सिंगो राज्यले नै सोसियल रेस्पोंसिबिलीटि स्वरुप पहिले मानसिक र संगै शारीरिक इम्युन सिस्टम बलियो बनाउने योजना निर्माण गर्नु पर्दछ । त्यसपछि व्यक्ति, समाज र देशको विकास जुनसुकै परिस्थितिसंग सामना गर्ने क्षमता बढ्ने र विकास अर्को उचाईमा पुग्ने सुनिश्चित छ ।

र अन्त्यमा मृत्यु सत्य कुरा हो । यो सबैलाई थाहा छ । तर थाहा होइन कि बोधको स्तरमा सबैमा हुने हो र नयाँ जीवनशैली अपनाउदै मानसिक, शारीरिक र सामाजिक रुपमा तन्दुरुस्त हुदै प्राकृतिक निधनलाई सचेतना पुर्वक स्वीकार गर्दा पछिल्लो पुस्ताको भन्दा अघिल्लो पुस्ताको निधन पहिले हुने पक्का छ । यो सत्यलाई सस्कार पनि बनाउने हो भने हरेक पहिलो पुस्ताको व्यक्तिले नयाँ पुस्तालाई यो सत्यको बोध गराउदै जान्छ र सबै अमर बन्ने सभ्यताको सुरुवात यहि बिन्दुबाट सुरु हुन्छ ।