महाधिवेशन अघि कांग्रेसमा कलह : देउवा आक्रामक, अरु रक्षात्मक

मूलखबर संवाददाता
काठमाडौं, १७ भदौ ।

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको आसन्न महाधिवेशनको रन्कोले कांग्रेसमा कलह बल्झेको छ । १४ औँ महाधिवेशन आफ्नोअनुकूल हुने गरी कांग्रेस सभापति शेरबहादुर देउवाले एकपछि अर्को संगठनात्मक काम अगाडि बढाएका छन् । तर, चार वर्षसम्म देउवाको पेलानमा परेको दाबी गर्ने इतर पक्ष भने प्रतिक्रियात्मक र रक्षात्मक देखिएको छ ।

०७६ पुसमा सभापति देउवाले अरू पक्षको बहिष्कारबीच केन्द्रीय समिति बैठकबाट १४औँ महाधिवेशनको घोषणा गरिदिए । यसमा विरोधपछि कार्यतालिका हेरफेर त भयो । तर, देउवाले अरू पक्षलाई महाधिवेशन घोषणापछिका सबै प्रक्रियामा तान्दै–तान्दै अघि बढेका छन् । महाधिवेशन घोषणापछि देउवाका सबै कदम रणनीतिक देखिन्छन् ।

महाधिवेशनको घोषणाबाहेक देउवाले विभागको संख्या बढाउने, जिम्मेवारी दिने, नौ भ्रातृ संस्थाको म्याद थप गर्ने, क्रियाशील सदस्यता आफूअनुकूल जिल्लामा मात्रै वितरण गर्ने, आफ्नो अवस्था बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी दिनेजस्ता रणनीतिक कदम चालेका छन् । र, आफू कमजोर भएको ठाउँमा विभागसहितका संरचनामा जिम्मेवारी दिनेमा सभापति केन्द्रित छन् । जसको प्रत्यक्ष फाइदा उनलाई महाधिवेशनमा हुनेछ ।

देउवाले एकपछि अर्को विधानविपरीतका काम गरेको दाबी गर्ने इतर पक्ष भने विरोधमा मात्रै सीमित छ, देउवाविरुद्ध आक्रामक योजना छैन । फागुनका लागि घोषणा महाधिवेशन नजिकिँदो भए पनि इतर पक्षले केन्द्रको असन्तुष्टिलाई पार्टीको तल्लो तहमा प्रभावकारी रूपमा लैजान सकेको छैन ।

‘आफ्नो गुटका भएनन् भनेर प्रदेश– १ र गण्डकी प्रदेशमा संसदीय दलका नेता फेर्ने मात्रै होइन, आफूअनुकूल नभएका जिल्लामा अनुचित दबाब दिने, क्रियाशील सदस्यता वितरणको फर्म नै नपठाउने गरी सभापति अघि बढ्नुभएको छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले नयाँ पत्रिकासँग भने, ‘तर, सभापति महाधिवेशनकेन्द्रित रणनीतिमा अघि बढे पनि अरू पक्ष यसलाई चिर्ने गरी प्रभावकारी रूपमा अगाडि बढ्न सकेका छैनन् ।’

मनोमानी गरेको भन्दै दुईपटक इतर पक्षले सभापतिलाई यस्ता गतिविधि नगर्न र गरेकालाई खारेज गर्न लिखित रूपमै माग गरेको छ । तर, देउवा रोकिएका छैनन् । लिखित ध्यानाकर्षण गराउँदा पनि देउवाले नटेरेपछि अहिले भने इतर पक्षले पार्टीमा भएका गलत पद्धतिबारे तल्लो तहसम्म लाने तयारी गरेको छ । ‘सभापतिले विधानविपरीत महाधिवेशनलाई प्रभावित गर्ने गरी काम गरेकाले नियमित रूपमा सच्चिन आग्रह गर्दै आयौँ । तर, उहाँ सच्चिनुभएन । सुधारको संकेतसमेत नगरेपछि विरोधका कार्यक्रमसम्म गर्ने तयारीमा छौँ,’ केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले भने, ‘साथीहरूले सभापतिका गलत कामको विस्तृत विवरण नै तयार पार्नुभएको छ । अब पुनः बैठक बसेर विरोधका कार्यक्रम तय गर्छौँ ।’

संस्थापन पक्षका नेता डा। महतले इतरपक्षले नाम नपठाएर समस्या आएको बताए । ‘विभागमा उहाँहरूलाई पर्खिएकै कारण चार वर्ष खेर गएको हो । सहमति जुटाउन पर्खिँदा अहिले आएर विभाग गठन गर्नुपरेको हो । तर, ढिलाइ भए पनि विभागमा सबै पक्षका मान्छे बसेका छन् । नेताहरूले केन्द्रमा विरोध गरे पनि कार्यकर्तालाई यस्ता विभागमा बस्ने मन छ, बसेका छन् । पार्टी नेतृत्वले यसरी कार्यकर्ताको चाहनालाई सम्मान गर्नुपर्छ । अरू विभाग बन्न बाँकी छन् । नाम पठाए समस्या हुँदैन,’ उनले भने ।

राजनीतिक विश्लेषकको बुझाइमा पनि देउवाका अगाडि अरू कसैको केही नचलेको मान्छन् । ‘यतिखेर कांग्रेसमा डाडु–पन्यु सबै सभापतिको हातमा छ । उनको ‘एक्सन’मा अरू पक्षको ‘रियाक्सन’ मात्रै छ,’ विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘राजनीतिक रूपले लड्नुपर्नेमा सामान्य प्रतिक्रियामा मात्रै सीमित भएका छन् । जित्नका लागि साम, दाम, दण्ड, भेद सबैको प्रयोग देउवाले गर्न सक्छन् । अरूले सामान्य विरोध र वक्तव्य जारी गरेर मात्रै हुँदैन ।’

इतर पक्षले देउवाका कदमको विषयलाई सूचीकरण गरेर तल्लो तहसम्म लैजाने तयारीस्वरूप डकुमेन्ट बनाउने जिम्मा केन्द्रीय सदस्यहरू बद्री पाण्डे, जीवन परियार र गुरुराज घिमिरेलाई दिएको छ । देउवाले गरेका विभाग गठन, समायोजनमा अलमल, सदस्यतामा मनोमानीजस्ता विषय समेटेर डकुमेन्ट बनाउँदै छन् । केही दिनमै नेताहरूले छलफल गरी पार्टीको तल्लो तहसम्म छलफलमा लैजाने र संस्थापनविरुद्ध विरोधकै कार्यक्रम तय गर्ने उनीहरूको तयारी छ ।

संस्थापन पक्षका नेता डा। प्रकाशशरण महतले भने पौडेल पक्षले राजनीति गर्न खोजेको बताए । ‘सभापतिले गरेका काम विधानअनुसार नै छन् । तर, अधिवेशनको मुखमा बढाइचढाइ गरेर उहाँहरू प्रचारमा उत्रिनुभएको छ । यो शैली उचित होइन । सभापतिसँगको संवादमा उहाँहरूले यतिसारो विरोध गरिरहनुभएको छैन । तर, कार्यकर्तासम्म पुग्ने प्रचारात्मक शैली अपनाइरहनुभएको छ । बढाइचढाइ गर्दा महाधिवेशनमा फाइदा पुग्छ भन्ने भएर जबर्जस्त विवाद कार्यकर्तासम्म लाने उहाँहरूको मनस्थिति हो । जतिसुकै विवाद छ भनेर विरोध गर्छौँ, आन्दोलन गर्छौँ, अनशन बस्छौँ भनेर मात्र हुँदैन,’ महतले भने ।

केन्द्रीय सदस्य, जिल्ला सभापति तह र तल्लो तहसम्म सभापतिका गलत कदमलाई लिएर जाने केन्द्रीय सदस्य बडूले बताए । बडूले आफूहरूका असन्तुष्टि पार्टीको तल्लो तहसम्म पुर्‍याएर कार्यकर्तालाई जानकारी गराउने बताए । ‘सभापतिको रणनीति कब्जा गरेर जित्ने भन्ने होला । तर, हामी उहाँ गलत हुनुहुन्छ भनेर आवाज उठाइरहेका छौँ । सभापतिले पाँच वर्षमा केही गर्न सक्नुभएन, उहाँको कार्यशैली नै गलत हो भन्ने भएपछि कार्यकर्ताले समर्थन जुटाउन सहज हुन्छ,’ बडूले भने । तर, देउवा पक्षले सभापतिका सबै कदम जायज रहेको र विरोधका लागि विरोध भएको बताएको खबर नयाँ पत्रिकामा छ ।