रक्सी खाँदा किन मात लाग्छ ?

कमल घिमिरे

रक्सी नेपाली नाम हो यसलाई अंग्रेजीमा अल्कोहल भनिन्छ । यसलाई नेपालमा तरल मादक पदार्थ पनि भनिन्छ । मादक भनेको मात लाग्ने पदार्थ हो । हुन त कतिपय औषधीमा पनि रक्सी मिसाइएको हुन्छ । अहिले कोरोना भाइरसको संक्रमणबाट बच्न प्रयोग गरिने ह्याण्ड स्यानिटाइजरमा पनि ७५ प्रतिशत अल्कोहल प्रयोग गर्ने गरिएको छ । रक्सीको प्रजाती अनुसार अल्कोहलको मात्रा पनि फरक फरक हुन्छ । अल्कोहलको मात्राअनुसार रक्सीलाई पनि सफ्ट ड्रिङक्स र हार्ड ड्रिङ्क्स भनेर वर्गिकरण गरिएको हुन्छ । जस्तो वियरमा ६ देखि १० प्रतिशत अल्कोहल रहेको हुन्छ भने हार्ड ड्रिङक्समा ४० प्रतिशत सम्म अल्कोहल रहेको हुन्छ । त्यसैगरी नेपाली घरेलु रक्सीहरुमा त सत प्रतिशत नै अल्कोहल समेत हुन सक्छ ।

लेखक : कमल घिमिरे

रक्सी यस्तो पेयपदार्थ हो, जसको अधिक सेवनपछि मान्छेको मस्तिष्क ठिक ठाउँमा रहँदैन । ऊ टेबलमाथि नाच्न थाल्छ, छिनछिनमा पिसाब फेर्छ, अरुलाई तथानाम गाली गर्छ र कहिलेकाहीँ हाँसेको हाँस्यै गर्छ । अधिक रक्सी सेवन गर्दा यस्तो किन हुन्छ त ? आउनुहोस्, यसबारे केही चर्चा चलाऔँ ।

मानिसले खाएको रक्सीले सबैभन्दा चाँडो केन्द्रीय स्नायु प्रणालीमा असर गर्छ । केन्द्रीय स्नायु प्रणालीले बोली, मांशपेशीहरु, ज्ञानेन्द्रीयहरु तथा पसिना ग्रन्थीहरुको नियन्त्रण गर्ने गर्छ ।

केन्द्रीय स्नायु प्रणालीले आँखा, कान, छालाजस्ता अङ्गहरुबाट सूचना लिई सामान्यत ः मांसपेशी खुम्याई त्यसको प्रतिक्रिया दिन्छ । तर, रक्सीले केन्द्रीय स्नायु प्रणालीको काम गर्ने क्षमता घटाउने हुनाले अधिक रक्सी सेवन गर्दा मान्छे अनियन्त्रित हुने, उसले नसोची बोल्ने, आँखा तिर्मिराउने, पसिना धेरै आउने र पीडा चाल नपाउनेजस्ता समस्याहरु देखापर्छन् । रक्सीले मस्तिष्कको बाहिरी तह फ्रोन्टल कोर्टक्स्मा पनि असर गर्छ । फ्रोन्टल कोर्टेक्स्ले विचार गर्ने कार्यको नियन्त्रण गर्ने गर्छ ।

रक्सीले शरीरबाट धेरै पानी बाहिर निकाल्ने कार्यको नियन्त्रण गर्ने हर्मोनहरुको उत्पादनमा कमी ल्याउँछ, जसको कारण रक्सी खाँदा धेरै मात्रामा पसिना र पिसाब आउँछन् । यही कारणले शरीरमा पानीको कमी हुन्छ । त्यसैले रक्सी धेरै खायो भने पानी पनि धेरै खान मन लाग्छ । शरीरमा पानीको कमी हुँदा पोटासियमको मात्रामा पनि असर पर्छ । यही कारणबाट शरीरले आफ्नो नियन्त्रण गुमाउँछ ।

रक्सी सेवन गर्दा शरीरमा ग्लुकोजको मात्रा बढ्न जान्छ । यसबाट रगतमा ग्लुकोजको मात्रा कम गर्ने इन्सुलीनको उत्पादन बढ्न थाल्छ । इन्सुलीनले विस्तारै रगतमा ग्लुकोजको मात्रालाई घटाउँदै लान्छ । ग्लुकोजको मात्रा निकै घट्यो भने काँप्ने, धेरै पसिना आउने, थकाइ लाग्ने र आँखा तिर्मिराउने हुन्छ ।

हाम्रो शरीरमा रक्सीलाई पचाएर शक्तिमा बदल्ने (मेटाबोलाइज गर्ने) प्रमुख अङ्ग कलेजो हो । यसले शरीरभित्र प्रवेश गरेको ९० प्रतिशत रक्सी मेटाबोलाइज गर्छ भने १० प्रतिशत मात्र पिसाब वा श्वासप्रश्वासबाट शरीरबाहिर पठाउँछ । तर, कलेजोमा रक्सी मेटाबोलाइज हुने प्रक्रिया निकै ढिलो हुन्छ । कलेजोलाई आफ्नो काम गर्न पानीको निकै आवश्यक पर्छ । तर, रक्सीले शरीरमा पानीको मात्रा घटाउने हुँदा कलेजोलाई काम गर्न पानी अपुग हुन्छ । यस्तो स्थितिमा कलेजाले मस्तिष्कबाट पनि पानी लिन्छ । यही कारणले गर्दा रक्सी सेवनपछि टाउको दुख्ने हुन्छ ।

साथै, कलेजोमा रक्सी मेटाबोलाइज हुँदा एसिटलडिहाइड नामक विषालु पदार्थको निर्माण हुन्छ । यसले कलेजो स्वयं, मस्तिष्क र पेटमा समेत असर गर्छ । यी कारणहरुबाट टाउको दुख्ने, वाकवाक लाग्नेजस्ता समस्याहरु देखा पर्छन् ।