कोरोनाका बिरामी १४ दिनमात्र अस्पतालको आइसोलेनमा बस्न पाउने !

मूलखबर संवाददाता
काठमाडौं, ११ भदौ

कोरोना भाइरसका बिरामी १४ दिनसम्म मात्र अस्पतालको आइसोलेनमा बस्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको व्यवस्थापन गर्न सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा यस्तो परिपत्र गरेको हो।

कोरोनाको लक्षण तथा चिह्नहरू नभएका (एसिम्टोमेटिक ) र सामान्य लक्षण एवं चिह्नहरू भएका (माइल्ड) केसका बिरामीको १० दिनमा पीसीआर गरी डिस्चार्ज गर्न भनिएको छ। १० दिनमा पोजिटिभ आए १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्ने व्यवस्था मिलाउन परिपत्र गरिएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकभरका सम्पूर्ण कोभिड–१९ अस्पताललाई परिपत्र गरिएको छ। ‘१० दिनमा परीक्षण गर्दा पोजिटिभ आयो भने अरू ४ दिन राख्ने हो’, प्रवक्ता डा. गौतमले भने।

कोरोना संक्रमण एक दिनमै सयौंको संख्यामा वृद्धि हुन थालेपछि अस्पतालका बेड भरिभराउ छन्। १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ८ सय ८५ जना संक्रमित थपिएका छन्। पीसीआर परीक्षण गरेकामध्ये संक्रमणदर ५.४ प्रतिशत छ। हालसम्म ३४ हजार ४ सय १८ जनामा कोरोना पोजिटिभ देखिएको छ। जसमध्ये १९ हजार ५ सय ४ जना निको भएका छन्। निको हुने दर ५६.७ प्रतिशत छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले दिनहुँ संक्रमितको संख्या वृद्धि भइरहेकाले मन्त्रालयको परिपत्र स्वाभाविक भएको बताए। ‘१४ दिन राखिसकेपछि कोरोना भाइरस निष्क्रिय हुन्छ। अर्को व्यक्तिमा सर्ने सम्भावना हुँदैन’, डा. राजभण्डारीले भने। १० दिनमा पोजिटिभ आए पनि नसर्ने भएकोले १४ दिनमा डिस्चार्ज गर्दा केही फरक नपर्ने उनको भनाइ छ।

अस्पतालको आइसोलेसनमा बसिरहेका संक्रमितले पीसीआर परीक्षण गर्न दबाब दिन थालेपछि मन्त्रालयले दोस्रो पटक परिपत्र गरेको छ। सिकिस्त बिरामीले अस्पतालमा बेड पाउन नसक्ने अवस्था उत्पन्न भएको चिकित्सकले जनाएका छन्। कर्णाली र सुदूरपश्चिमबाहेक प्रदेशमा आइसीयू र भेन्टिलेटरमा बस्नेहरू बढेका छन्। आइसोलेसनमा बसेका कतिपय बिरामीले अझैं बढी बस्ने इच्छा देखाउन दबाब दिने गरेको एक चिकित्सकले बताए।

१४ दिनभन्दा बढी राखे सरकारले शोधभर्ना नगर्ने परिपत्रमा उल्लेख छ। कोरोना संक्रमितको उपचार गराएबापत सरकारले अस्पताललाई अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। शंकास्पद र संक्रमित उपचार निःशुल्क हुँदै आएको खबर अन्नपूर्णमा छ ।