रोबोटको प्रयोग र मानव श्रम शक्तिमाथि नयाँ खतरा

नरसागर श्रेष्ठ
काठमाडौं

विश्वमा कोरोनाको सङ्क्रमण फैलिएर धेरै देशले बन्दाबन्दी गरेको समयमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका कार्यकारी निर्देशक गाय राइडरले विश्वका एक अर्ब ६० करोड श्रमिक प्रभावित हुने आँकडा प्रस्तुत गर्नुभएको थियो । यो सङ्क्रमणको विस्तार रोक्न बन्दाबन्दी गर्नुपर्ने र यसले आर्थिक गतिविधिमा आउने सुस्तताले गर्दा अर्थव्यवस्थाका धेरै क्षेत्रमध्ये श्रमक्षेत्र बढी प्रभावित भएको पाइन्छ । यो सङ्क्रमणबाट बच्न मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने र कार्यस्थललाई निरन्तर निर्मलीकरण गर्ने जस्ता कार्य सुन्दा जति सरल लाग्छ व्यवहारमा लागु गर्न त्यत्तिकै कठिन भएको पाइन्छ । सङ्क्रमणले गर्दा एउटा व्यक्तिले आफ्नो बानी सोचाइ र व्यवहारमा परिवर्तन गर्नु परेजस्तै श्रमिकहरूलाई काममा लगाउने व्यवस्थापकहरूले पनि आफ्नो काम गर्ने तरिका र सोचाइमा परिवर्तन ल्याउनुपर्ने भएको छ । यसले गर्दा अबका दिनमा श्रमबजार नराम्रोसँग प्रभावित हुने आँकलन गर्न थालिएको छ ।

स्थायी समाधानका रूपमा भ्याक्सिन ननिस्कुञ्जेल अब ठूला कारखाना र निर्माण कम्पनीले मानिसको सट्टा रोबोट प्रयोग गर्ने हुन् कि भन्ने आँकलन गर्न थालिएको छ । विश्वका धेरै देशको जनसङ्ख्या बुढ्यौलीतिर ढल्किरहेको अवस्थाले गर्दा यो आँकलन सत्य सावित हुनसक्ने देखिएको छ । रोबोटको बढ्दो प्रयोगले ज्याला दरमा हुने वृद्धि रोक्ने र यसको सामाजिक र राजनीतिक प्रभाव हुने नोबेल पुरस्कार विजेता अर्थशास्त्री फेल्प बताउनुहुन्छ । श्रमिकले रोबोटको कारणले रोजगारी गुमाउने हुनाले बिल गेट्सले रोबोट प्रयोग गर्ने कम्पनीलाई थप कर लगाई त्यसबाट प्राप्त रकमले श्रमिकलाई प्रशिक्षण दिनुपर्नेमा जोड दिएको पाइन्छ । यो अवस्था विकासोन्मुख देशभन्दा औद्योगिक र विकसित देशहरूमा देखापर्ने हुन्छ ।

रुचिर शर्माले आफ्नो ‘राइज एन्ड फल अफ नेसन्स’ नामक पुस्तकमा उल्लेख गरेअनुसार दक्षिण कोरियामा सन् २०१३ मा प्रतिदश हजार श्रमिकमा ३८२ वटा औद्योगिक रोबोट भएको, जापानमा ३२३ र जर्मनीमा २८२ भएकोमा अबका दिनमा यो अनुपात बढ्ने आँकलन छ । डेनियल काह्नेम्यानको भनाइअनुसार यस्ता रोबोटको सङ्ख्या चीनजस्तो औद्योगिक राष्ट्र्रमा धेरै मात्रामा बढ्नेछ । यसले गर्दा विकसित र औद्योगिक देशमा धेरै मान्छेले रोजगार गुमाउने आशङ्का गरिएको छ । रोबोटको बढी प्रयोगले उच्च दक्ष कामदारहरूले मात्र रोजगारी पाउने र मध्यम र अर्ध दक्ष कामदारमध्ये धेरैले रोजगारी गुमाउने भारतीय अर्थशास्त्री डा. तिलक झाले अनुमान गर्नुभएको छ । यसले गर्दा प्रायः देशहरूमा यो सङ्क्रमणपछि १५ वर्षभन्दा माथि र ५९ वर्षभन्दा तलका सक्रिय जनसङ्ख्या बेरोजगारको शिकार हुने अनुमान गर्न थालिएको छ ।

कोभिड सङ्क्रमणले अबका दिनमा वृद्ध मानिसको रोजगारीमा असर पु¥याउने भएको छ । विकसित देशको जनसङ्ख्या बुढ्यौलीको तहमा ढल्केको र आप्रवासी श्रमिकबाट काम लिन नचाहेका धेरै देशले आआफ्ना देशमा अवकासको उमेर बढाएर औसत आयुसँग दाँजेर ६० वर्षभन्दा माथिका जनसङ्ख्यालाई काममा लगाउने गरेको पाइन्छ । उदाहरणका लागि फ्रान्स र मेक्सिको जस्ता देशले श्रमिकको अवकासको उमेर ६५ वर्ष राखी उनीहरूलाई सक्रिय जनशक्तिका रूपमा काममा लगाएको पाइन्छ । जर्मनीले सन् २००७ मा कार्यरत श्रमिकहरूको अवकासको उमेर बढाएर ६७ वर्ष तोकेको छ । यसलाई ७० वर्ष पुर्याउने बारेमा छलफल भइरहेको छ ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुने अधिकांश ६० वर्षभन्दा माथि रहेको र यो उमेरका जनसङ्ख्यामा रोगविरुद्ध लड्ने शक्ति कमजोर हुने भएकाले यस्ता श्रमिकहरूले रोजगारी गुमाउनुपर्ने अवस्था निस्कन्छ भने अर्कोतिर यस्ता श्रमिकलाई आगामी दिनमा रोजगारी दिन रोजगारदाताहरू हिच्किचाउने अवस्था आएको छ । भारतमा सुरुमा बन्दाबन्दी खोल्दा ५२ वर्षभन्दा माथिका प्रहरी र सरकारी कर्मचारीलाई कार्यालयमा आउन नपर्ने व्यवस्थाले यसलाई पुष्टि गर्दछ । यसले गर्दा विश्वका सबै देशमा अर्काको भर पर्नुपर्ने जनसङ्ख्याको अनुपातमा वृद्धि हुने आँकलन गर्न सकिन्छ ।

यति मात्र नभई यो सङ्क्रमणले अर्थव्यवस्थाका विविध क्षेत्रहरू जस्तै कृषि, उद्योग र सेवाको उत्पादकत्वमा धेरै अन्तर आउने आँकलन गरिएको छ । यसले गर्दा वस्तुमा आधारित अर्थव्यवस्थाहरू जस्तै रुस, अस्ट्रेलिया र ओपेकका सदस्य देशहरू बढी प्रभावित हुने आँकलन गर्न थालिएको छ । उत्पादनमा आधारित अर्थव्यवस्थाहरू कमै मात्र प्रभावित हुने आँकलन गरिएको छ । अहिले कृषि र गैर कृषि क्षेत्रमा भएको उत्पादकत्वको भिन्नता यो सङ्कटपछि अरू गहिरिने सम्भावना छ ।

विकासोन्मुख देशहरूमा धेरै श्रमिक सूक्ष्म, साना र मझौला प्रतिष्ठानमा मात्र होइन कि अनौपचारिक क्षेत्रमा बढी संलग्न रहेको पाइन्छ । जुन देशको अनौपचारिक अर्थतन्त्रको हिस्सा कुल गार्हस्थ उत्पादनमा धेरै हुन्छ त्यस्ता देशका श्रमिकहरू यो सङ्क्रमणबाट धेरै मात्रामा प्रभावित भएको पाइन्छ । भारतमा मात्रै १४ करोड आप्रवासी श्रमिक प्रभावित भएका छन् जो सूक्ष्म साना प्रतिष्ठानहरू र अनौपचारिक क्षेत्रमा काम गर्दछन् । एकातिर कारखाना, प्रतिष्ठानहरूको सञ्चालन लागत बढ्ने र अर्कोतिर समय समयमा गरिने बन्दाबन्दीले श्रमिकहरूको सीमान्त उत्पादकत्वसमेत घट्ने भएकाले रोजगारीका अवसर अरू गुम्ने आशङ्का गर्न सकिन्छ । लामो समयसम्मको बन्दाबन्दी र कोरोना सङ्क्रमणले स्वास्थ्य सेवा प्रवाहमा आएको अवरोधले (धेरै देशहरूमा आत्महत्या गर्नेको सङ्ख्या बढेको) गर्दा भविष्यमा जन्मदर घट्ने र यसबाट श्रमिक आपूर्तिमा दीर्घकालीन असर पुग्ने अनुमान गरिएको छ ।

भियतनाम, चीन सिङ्गापुर जापान, जर्मनी आदि देशले यो सङ्क्रमणलाई समयमै नियन्त्रण गरेको हुनाले यी देशका श्रमबजार त्यति धेरै प्रभावित हुन पाएको छैन । अझ जर्मनीले आफ्नो शताब्दी पुरानो कुर्जाबेइतको व्यवस्था प्रयोगमा ल्याएको छ । जसमा कम्पनीहरूले अस्थायी सङ्कट समाधान गर्न श्रमिकको काम गर्ने अवधि घटाएर रोजगारी गुम्न नदिने व्यवस्था यो सङ्क्रमणको अवस्थामा लागु गरेको पाइन्छ । यसले गर्दा धेरै जर्मन श्रमिकले यो सङ्कटमा रोजगारी गुमाउनुपर्ने अवस्था आएन ।

रोबोटको प्रयोग नेपाली उद्योगहरूमा त्यति धेरै भएको नपाइए पनि माथि उल्लिखित श्रमक्षेत्रका अरू विषयमा नेपाल अछुतो रहन सक्दैन । भ्याक्सिन नआउञ्जेलसम्म श्रमबजारको व्यवस्थापन गर्न सरकारबाट उपयुक्त उपाय कार्यान्वयन गर्न सकिएन भने यसले अन्य आर्थिक, सामाजिक र राजनीतिक समस्या निम्त्याउने सम्भावना रहन्छ । -गोरखापत्रबाट

(लेखक आन्तरिक राजस्व विभागका सेवानिवृत्त निर्देशक हुनुहुन्छ ।)