पार्टी फुटाउने प्रवृत्तिलाई परास्त गरिनेछ : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, १८ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको अहिले देखिएको विवाद पदको लागि नभई विचार संघर्षको नै भएको दोहोर्याउनुभएको छ ।

शनिबार तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीमा बहस र विवाद हुनु सामान्य कुरा भएको बताउनुभयो । विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र भएको भन्नुहुँदै त्यसलाई प्रतिक्रियावादीहरूले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकोले नपत्याउन उहाँको आग्रह थियो ।

पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेको उल्लेख गर्दै जनताको चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्ने बताउनुभएको हो ।

अध्यक्षले भन्नुभयो, “पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो । पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं ।”

उहाँले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले बहस हुने कुरा स्वभाविक बताउनुभयो । अध्यक्ष प्रचण्डले राजनीतिक अस्थिरता र एकताका निम्ति पद त्याग गर्दै आएको समेत स्मरण गर्दै भन्नुभयो, “मैले संविधान बनाउने बेलामा पनि, स्थानीय तहको निर्वाचन गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेका थियौं ।”

अहिलेको बहसले पार्टी फुटाउने प्रवृत्ति परास्त हुने दावी गर्दै अध्यक्ष प्रचण्डले अहिले भइरहेको बहसलाई छोपछाप गर्न नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अहिलेको बहस तिखो भइरहेको छ । हामीभित्रको तिखो बहस चलिरहेको छ, चिल्ला शब्द छैनन् । इतिहासको अनुभवबाट शिक्षा लिएर पार्टी एकता कायम गर्नुको विकल्प छैन । पार्टी फुटाउने प्रवृत्तिलाई परास्त हुन्छ, गरिनेछ । बहसले माथिल्लो स्तरमा लगेर पार्टीलाई सुदृढ गर्छ ।’