वर्तमान सरकार अपारदर्शी छ : प्रचण्ड

मूलखबर संवाददाता
सिन्धुपाल्चोक , १ माघ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अपारदर्शी भएको बताएका छन् । मंगलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले वर्तमान सरकार ढल्ने निश्चित रहेको समेत ठोकुवा गरे

‘रातको १२ बजे सुटुक्क बसेर जनताबाट लुकाएर तत्कालीन गठबन्धनबाट सरकार बनाइएको छ ,यस अप्राकृतिक , असंवैधानिक सरकारप्रति जनता पनि खुसी छैनन् ,’दाहालले भने ।

कांग्रेसभित्रै सरकारलाई लिएर तीव्र असन्तुष्टि रहेकोसमेत उनको भनाइ छ । ‘यस सरकारप्रति जनता खुसी छैनन्, सरकारलाई लिएर कांग्रेसभित्र पनि गहिरो र चरम असन्तुष्टि देखिन्छ,’उनले भने । संवैधानिक व्यवस्था,विद्युत् प्राधिकरणमा हस्तक्षेप गर्दै सरकारले सदन छलेर अध्यादेशबाट शासन गरिरहेको उनले उल्लेख गरे । उनले सरकारलाई सदन खुलाउन माग गरेको र सदनका लागि कुरिरहेको बताए ।

सिन्धुपाल्चोकको प्रत्येक विपद्‍मा आफू साथमा रहेको र तातोपानी नाकालाई अझै सहज बनाउन चीनका राष्ट्रपति सी चिनफिङसँग तीन पटक सिधै कुरा गरेको उनले बताए । अरनिको र कोदारी राजमार्ग को जीर्ण अवस्था देखेर सुकुटे आएलगत्तै भौतिक तथा योजना मन्त्रालयमा कुरा गरेको र मन्त्रालयले चाँडै सडक स्तरोन्नति गर्ने प्रतिबद्वता गरेको उनले जानकारी दिए ।