तिम्राे नजर खास छ (कविता)

भगवती प्रधान
काठमाडौं

” नयन ”
हजारौं नयनहरूको माझमा
असंख्य मानिसहरूको पंक्तिमा
खै ! किन हो ? तिम्रो सुन्दर नयन
तिम्रो सुन्दर नजर
बेग्लै-बेग्लै जस्तो थियो
अनि फरक-फरक जस्तो पनि
तिम्रो नजरको तेजस्वी किरणहरू
मेरो अँध्यारो मुटुमा पसेपछि
मुटु जाज्वल्यमान भएको थियो
त्यही भएर तिम्रो नयन खास लाग्छ
तिम्रो नजर खास लाग्छ
तिम्रो नजर पवित्र छ
तिम्रो नजर न्यायपूर्ण छ
तिम्रो नयन दोषरहित छ
तिम्रो नजरले समानता ल्याएको छ
त्यसैले त !
तिम्रो नजर उथलपुथल ल्याउने
खालको छ
आमूल परिवर्तन ल्याउने
खालको छ
क्रान्तिको बहार बोकी ल्याउने
खालको छ
तिम्रो र मेरो नजरको बिन्दु
यहीँ आधारमा मिलेको छ
अनि शक्तिशाली भएको
नौलो आभाष मिलेको छ

रचनाकार : भगवती प्रधान
दिनाङ्क : ७ आषाढ २०७७