पेले र ब्राजिलकाे रंगिन विश्वकपकाे सम्झना

मूलखबर संवाददाता
काठमाडौं

ठीक ५० वर्षअगाडि आधुनिक फुटबलको जन्म भएको थियो । जतिबेला मेक्सिकोमा विश्वकप भएको थियो । त्यसो भनेको ती पेलेका दिन थिए । त्यो त्यही अवसर पनि थियो, जतिबेला विश्व फुटबलप्रेमीसामु टेलिभिजनबाट रंगीन खेल पनि घर–घर पुगेको थियो । ती दिन सम्झेर तयार पारेको एएफपीको ऐतिहासिक क्षणको सामग्री :

सन् १९७० को विश्वकप सिधा प्रसारण भएको पहिलो संस्करण त पक्कै थिएन । त्यसको पनि चार वर्षअगाडि इंग्ल्यान्डले तत्कालीन पश्चिम जर्मनीलाई हराएर विश्वकप जित्दा त्यो फाइनल टेलिभिजनमा हेर्नेको संख्या थियो, ४० करोड । ती दिन थिए, श्यामश्वेत टेलिभिजन प्रसारणको । त्यतिबेला ब्राजिल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन थियो । तर चाँडै प्रतियोगिताबाट बाहिरियो । ब्राजिलको प्रदर्शन टेलिभिजन दर्शकको नजरमा कि कालो थियो, होइन भने सेतो । मेक्सिकोमा यही ब्राजिली टिमले लगाएको जर्सीमा पहेँलो पनि थियो, निलो पनि थियो । अहिले त यी सबै सामान्य लाग्न सक्छ, तर त्यतिबेला यो ठूलै क्रान्तिकारी उपलब्धि थियो । धेरैले यो विश्वकपलाई यसै कारण पनि सम्झिन्छन् ।

पेलेले हालै मात्र फिफाको वेबसाइटमा भनेका छन्, ‘अहिले पनि त्यो विश्वकपका कतिपय खेल र यससम्बन्धी टेलिभिजन कार्यक्रम अहिले पनि मज्जाले हेर्न सकिन्छ । यसलाई हेर्दा म अझै पनि भावुक हुने गर्छु ।’

यो पेलेले जितेको तेस्रो विश्वकप थियो । तर यही विश्वकपले पेलेलाई सर्वकालीन महान् फुटबल खेलाडी बनायो । पेले आफैं भन्छन्, ‘म आफ्नो खेलजीवनको उत्कृष्ट लयमा थिएँ ।’

उनी के मान्छन्, ब्राजिलको त्यो टिम अहिलेसम्मकै सबैभन्दा उत्कृष्टमध्ये एक थियो र सबैले यही टिमले विश्वकप जित्नेछ भनेर ठोकुवा गरिसकेका थिए । यस्ता दाबीले पेले आफैं भने चर्को दबाबमा आएका थिए अनि यसै विश्वकपका क्रममा पेलेले यस्ता तीन भूल पनि गरे । त्यो अन्य अवसरमा भए, शतप्रतिशत गोल हुने थियो, तर पेले ती सबैमा चुकेका थिए ।

 

प्रतियोगिताका सबै क्वाटरफाइनल जुन १४ मा भएको थियो । सबै खेल साँझ भएको थियो । त्यसमध्ये एक खेलमा इटालीले आयोजक मेक्सिकोलाई ४–१ ले हरायो । त्यसमा इटालीका लागि २ गोल गिगी रिभाले गरेका थिए । ब्राजिलले भने पेरुलाई ४–२ ले हरायो । त्यसमा रोबार्टो रिभेलिनो, टोस्टाओ र जैरजिन्होले गोल गरे । त्यसमा पेलेले भने गोल गरेनन् । इंग्ल्यान्डको टिम उस्तै थियो, सन् १९६६ मा विश्वकप जित्दाकै ।

यही टिम पश्चिम जर्मनीसँग अतिरिक्त समयमा ३–२ ले पराजित भयो । जर्मनीका लागि गोल गर्नेमा फ्रेन्ज बेकनबाउर र गड मुलर थिए । अर्को खेलमा उरुग्वे विजयी रह्यो । उसले तत्कालीन सोभियत संघलाई पन्छाएको थियो । ती दिन सोभियत संघ पनि कम्तीको टिम थिएन । यही उरुग्वेली टिमलाई ब्राजिलले सेमिफाइनलमा ३–१ ले हरायो । यसमा पनि पेलेले गोल गर्न सकेनन् ।

बरु क्लोडोल्डो, जैरजिन्हो र रिभेलिनोले गोल गरे । अर्को सेमिफाइनलमा इटालीले पश्चिम जर्मनीलाई पन्छाएको थियो । खेल आफैं भने अतिरिक्त समयसम्म पुगेको थियो । स्कोर रह्यो ४–३ । अतिरिक्त समयमा अग्रता त पश्चिम जर्मनीले नै लिएको थियो, तर जित इटालीको पक्षमा थियो । नराम्रोसँग चोटग्रस्त बेकनबाउर मैदानमा थिए, खेल्नै नसक्ने स्थितिमा । यस्तो किनभन्दा जर्मनीले दुई सब्स्टिच्युट प्रतियोगिता गरिसकेको थियो ।- कान्तिपुरबाट