मौसमी जोखीम, चट्याङ र नेपाली अर्थतन्त्र
जनसङ्ख्या वृद्धिसँगै जलवायुमा निरन्तर परिवर्तन हँुदै जाँदा मानव समुदाय जलवायुजन्य प्रकोपहरूको खतरामा परेको छ । यी प्रकोपहरूका कारण बढ्दो मृत्युदरको खतरालाई हालका वर्षमा जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी छलफल र अनुसन्धानको पक्षका रूपमा लिएको पाइन्छ । जलवायु परिवर्तनको सङ्कट जल र मौसमजन्य प्रकोपको जोखिम र अनुकूलन र समानुकूलन क्षमतामा भर पर्दछ । अग्रिमरूपमा प्रदान गरिने चेतावनीले मौसमजन्य विपद्को क्षति न्यूनीकरण गर्न सहयोग गर्छ । यद्यपि विनाशकारी प्रकोपहरूले भविष्यमा ल्याउनसक्ने महाविपत्तिको दायरालाई आँकलन गर्नका लागि ऐतिहासिक घटनाको विवरण, मृत्यदर र नोक्सानीलाई सूक्ष्म विश्लेषण गर्नुपर्दछ ।
बर्सेनि हुने प्राकृतिक प्रकोपमध्ये करिब ९० प्रतिशत मौसम सम्बद्ध हुन्छन् जुन पछिल्ला दशकहरूमा दोब्बरले वृद्धि भइरहेको देखिन्छ । नेपालमा मौसमजन्य प्रकोपबाट हुने मानवीय क्षतिको करिब १६ प्रतिशत र घटित सबै प्रकारका प्राकृतिक प्रकोपजन्य क्षतिको पाँच प्रतिशत चट्याङका कारण हुने गरेको पछिल्लो २० वर्षको तथ्याङ्कले देखाउँछ । चट्याङको स्वरूप हेर्दा सुन्दर देखिने भए पनि यसबाट निस्कने ध्वनि, मेघगर्जन, बिजुली र अत्यधिक तापप्रदायक ९सूर्यको सतहको तापक्रमभन्दा पाँच गुणा बढी र एकपटकको चट्याङका क्रममा निस्किने झुल्का ९फ्ल्यास० ले १०० वाटको बिजुली चिमलाई तीन महिनासम्म प्रयोग गर्न मिल्ने० ले निम्त्याउने मृत्युका अतिरिक्त मानसिक तनाव र त्रासले मानिस र जीवजन्तुमा असर गरिरहेको हुन्छ ।
पछिल्लो दशकमा मानवीय क्षति गराउने गरी देखापरेको चट्याङका घटनाहरूमा सन् १९७१ देखि २०१० सम्म दोब्बरले वृद्धि भइरहेको छ । ती घटना प्रायः सबै जिल्लामा बढ्दो क्रममा रहेका देखिन्छन् भने मनाङ र मुस्ताङमा क्षति भएको देखिँदैन । यद्यपि पहाडी र हिमाली जिल्लामा पहिलाभन्दा अहिले बढिरहेको देखिन्छ । सो अवधिमा मकवानपुर, झापा, मोरङ, नुवाकोट, उदयपुरमा सबैभन्दा बढी क्रमशः २१४, १४८, ११९, ९८, ८६ पटक परेको चट्याङले ११७, ९२, १०३, ६५, ४७ जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्याङ्कले देखाउँछ । ज्यान गुमाउने महिलाभन्दा पुरुषको सङ्ख्या तुलनात्मक रूपमा बढी छ । चैत, वैशाख, जेठ र असार महिनामा चट्याङसम्बन्धी घटना बढी देखापर्छ । मध्य कात्तिकदेखि पुसको मध्यसम्म यसको जोखिम न्यून देखिन्छ ।
जोगिने उपाय
मौसमसम्बन्धी सूचना र चेतावनीअनुसार सावधानी अपनाउनुपर्दछ । जल तथा मौसम विज्ञान विभागले तत्कालिक पूर्वानुमान गर्ने तथा सञ्चालित चट्याङ संवेदन केन्द्रहरूमार्फत कुन कुन स्थानमा चट्याङ हुन्छ वा भइरहेको छ भन्ने जानकारी लिन सकिन्छ ।
चट्याङबाट जोगिन गर्जन हुनासाथ अनिवार्य तत्काल घर र बन्द आश्रयस्थलभित्र जानुपर्छ । कामकाज तथा बाह्य आवागमन नगरी कम्तीमा ३० मिनेटसम्म धैर्यसाथ भित्र बस्नुपर्छ । यस अवस्थामा ३०–३० को नियमलाई नबिर्सनु भन्ने चलन लोकप्रिय छ । जसअन्तर्गत बिजुली चम्केको देख्नासाथ एक देखि ३० सम्म गन्न सुरु गर्ने र ३० नपुग्दै ९३० सेकेन्डभित्र० गर्जनको आवाज सुनियो भने चट्याङ पाँच किलोमिटरभन्दा नजिक छ भन्ने अनुमान गर्न सकिन्छ । आफू नजिक आश्रयस्थल छैन भने जमिनलाई जतिसक्दो कम छुने गरी घोप्टो परी बस्ने, भेटिएसम्म गुफा, खाडल, खोँच, खुला जङ्गलमा बाक्लो होचा रुखहरूको छहारीमुनि बस्नु सुरक्षित मानिन्छ तर बाढीको ख्याल राख्नुपर्छ ।
अग्ला वस्तुहरू, एकल अग्ला रुखहरूको उचाइभन्दा दुई गुणा टाढा हुने गरी खुला ठाउँ रोज्नुपर्छ । सकभर पहाडको टुप्पो, अग्ला स्थान, खुला ठाउँ, तारबार, धातुजन्य डण्डी, विद्युतीय सुचालकको मुनि र नजिक नरहने । यात्रा गरिरहेको अवस्थामा बन्द सवारी साधनभित्रै बस्दा सुरक्षित हुन्छ । धातुजन्य वस्तुहरू प्रयोग नगर्ने । प्रज्ज्वलनशील सामग्री र पदार्थलाई खुलारूपमा नछोड्ने ।
खुला झ्याल, ढोका, चिम्नी नजिक, ठोस वस्तु तथा भित्तामा टाँसिएर नबस्ने किनभने एकतिहाइ चट्याङले घरभित्र पनि हानि पु¥याउने गरेको दृष्टान्त छ । विद्युतीय उपकरणहरू, पाइपलाइन, धारा, तारफोन, तारयुक्त साधनभन्दा टाढा बस्ने तथा पूर्ण बन्द गर्नुपर्दछ । यी उपाय अवलम्बन गर्न नसक्दा करेन्ट लागेको महसुस (कपाल ठाडो हुने, छाला झमझमाउने) भयो भने चट्याङरूपी विद्युत्ले आफूलाई प्रहार गर्न लाग्यो भनेर बुझ्नुपर्छ ।
जोखिम न्यूनीकरणका प्रयास
विपद्सम्बन्धी कानुनी आधार र मापदण्डहरू लागु गरिएका छन् । विपद्सम्बन्धी खोज, अनुसन्धान, आधुनिक प्रविधिको पहिचानमार्फत जोखिम न्यूनीकरणसहित विपद् व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छ ।
जोखिम न्यूनीकरणका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीलाई कार्यान्वयनमा ल्याउन बहुपक्षीय, द्विपक्षीय सहकार्य र समन्वयको अभाव छ । क्षेत्रगत पक्षहरूको सूक्ष्म विश्लेषण गर्दै प्राधिकरणले विषयगत प्रकोप व्यवस्थापन प्रणालीको सुधार र सबलीकरण गर्नुपर्ने देखिन्छ । आधुनिक प्रविधिको प्रयोग र नवीनतम खोज अनुसन्धानबाट प्राप्त नतिजाहरूको प्रयोग, विपद्को पृथक्ता अनुसार विशेषज्ञताको सही र समयमै उपयोग गर्न सके विपद् जोखिम समानुकूलन क्षमता अभिवृद्धि भई क्षति न्यूनीकरण गर्न सकिन्छ ।
चट्याङलगायत जल, मौसम, जलवायुजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् प्रतिरोधी मापदण्ड बनाई लागु गर्नुपर्छ । भौतिक संरचना निर्माण, पुनर्निर्माण गर्दा जलमौसमी सूचकहरूलाई अनिवार्य ध्यान दिने, जोखिममा रहेका मानव बस्ती व्यवस्थापन तथा नदी जलाधारहरूमा हुन सक्ने बाढी पहिरो नियन्त्रणका उत्तम उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।
विदेशमा जलमौसमलाई एक महत्वपूर्ण प्रशासनका रूपमा विकास र महत्वपूर्ण स्थान दिएको पाइन्छ । नेपालमा भने छ दशक अगाडि जल मौसमसम्बन्धी कार्य गर्न विभाग स्थापना गरिएको भए पनि यससम्बन्धी छुट्टै नियम कानुन, मापदण्ड छैन । मौसम सीमाविहीन तर सबैको चासो र आवश्यकताको विषय हो । मौसम सेवाले दैनिकरूपमा राष्ट्रियस्तरमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । तथ्याङ्क तथा सूचनाहरू विश्वव्यापीरूपमा आदानप्रदान (तीन–तीन घण्टामा), सहकार्य र समन्वय पनि नियमित गर्नुपर्ने हुन्छ ।
यसप्रकारले दैनिक मौसम र बाढी पूर्वानुमान, हवाई मौसम, सुरक्षा सूचना तथा पूर्वानुमान, नदी जल सूचना, कृषि मौसम सेवालगायतका संवेदनशील कार्यको महत्वलाई ध्यान दिँदै अन्तर्राष्ट्रिय अभ्यासअनुसार जल मौसमसम्बन्धी छुट्टै ऐननियम बनाई अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्नसक्ने गरी पूर्वानुमान केन्द्रहरूको थप विस्तार गर्नुपर्ने देखिन्छ । चालु कार्यमा भइरहेको सुधारलाई गति प्रदान गर्न सके सामाजिक र आर्थिक समृद्धिमा थप योगदान पुग्ने देखिन्छ ।
(लेखक मौसमविद् हुनुहुन्छ ।)