अमेरिकामा रंगभेद विरुद्ध आन्दोलन उत्कर्षमा : ३० राज्यमा हिंसात्मक झडप

मूलखबर संवाददाता
काठमाडौं, १८ जेठ

अमेरिकामा रंगभेद विरोधी आन्दोलन उत्कर्षमा पुगेको छ । जर्ज फ्लोयडको मृत्युपछि प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा भएको झड्प हिंसात्मक रुप लिन थालेपछि अमेरिकी शहरहरूमा कर्फ्यु लगाइएको छ । मिनियापोलिसमा अफ्रिकी मूलका अमेरिकी नागरिकको प्रहरी नियन्त्रणमा मृत्युपछि सुरु भएको विरोध प्रदर्शन देशव्यापी हिंसात्मक रुप लिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विभिन्न शहरमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र रबरको गोली प्रहार गरेका छन् । अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन चर्किएको छ । सिकागोमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । लस एन्जेल्समा प्रहरीको कारमा आगजनी गरिएको छ ।

वासिङ्टन डिसीस्थित व्हाइट हाउसअगाडि ठूलो भिड जम्मा भएर फ्लोयडलाई न्याय दिलाउन माग गरेको छ । एटलान्टा, जर्जियास्थित दर्जनौँ भवनमा क्षति पुर्याइएको छ । सर्वसाधारणको सम्पत्ति सुरक्षित राख्न प्रशासनले केही क्षेत्रमा सङ्कटकाल घोषणा गरेको छ ।

मिनियापोलिस, न्युयोर्क, मियामी, एटलान्टा र फिलाडेल्फियासहितको शहरमा हजारौँ सर्वसाधारणले शान्तिपूर्ण र्याली निकालेका छन् । मिनियापोलिस, एटलान्टा, लास एन्जेल्स, फिलाडेल्फिया, पोर्टल्याण्ड र लुईसभिल्लोसहितका शहरमा कर्फ्यु लगाइएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै सडकमा प्रदर्शनसँगै सम्पत्ति लुटपाटमा उत्रिएका छन् ।
मिन्नेसोटामा सयौँको सङ्ख्यामा सैन्य प्रहरी तैनाथ गरिएको छ । घरेलु सङ्कटकालमा अमेरिकी राष्ट्रपति वा प्रान्तीय गभर्नरको आदेशमा स्थिति नियन्त्रणमा लिन सैन्य दस्ता परिचालन गरिने प्रावधान रहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ जर्ज फ्लोयडको निधनले अमेरिकीमा त्रास, आक्रोश र सम्वेदनाले भरिभराउ बनाएको टिप्प्णी गर्नुभएको छ । शान्ति चाहने सबै अमेरिकीसँग सहकार्य गर्न आफू सदैव उभिने ट्रम्पले एक टेलिभिजन सम्बोधनमा बताउनुभएको छ ।

मिनियापोलिसमा प्रहरीले गत सोमबार अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडलाई निहत्था नियन्त्रणमा लिएको थियो । प्रहरीले हथकडी लगाएर भुईँमा लडाइएका फ्लोयडको घाँटीमा घुँडाले च्याप्दाच्याप्दै बेहोस बनाइएको थियो । ४५ वर्षीय फ्लोयडले पटकपटक आफूलाई श्वास लिन असहज भएको भन्दै मुक्त गर्न गर्नुभएको याचना प्रहरीले अस्वीकार गरेको भिडियो सार्वजनिक हुँदा विरोध सुरु भएको हो ।
घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिनलाई मङ्गलबार निलम्बन गरिएको छ । चौभिनमाथि व्यक्ति हत्याको आरोपसहितको मुद्दा दायर गरिएको छ । सोमबार प्रहरी अधिकारी चौभिन अदालतमा उपस्थित हुनेछन् ।

(एजेन्सीहरूको सहयोगमा)