१४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत : कृषि र शिक्षामा बढ्यो बजेट

मूलखबर संवाददाता
काठमाडौं, १५ जेठ

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

शिक्षामा बजेट बढाइयो

सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । गत वर्षको भन्दा ८ अर्ब बढी हो । आलु आर्थिक वर्षका लागि शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

कोभिड १९ का कारण विद्यार्थीमा परेको मनोसमाजिक असर निवारण गर्न सकारात्मक सोचसहित सिर्जनशीलता विकासका क्रियाकलाप सञ्चालिन गरिने, यो वर्ष एक हजार ८०० विद्यालय भवन तथा ३८ आंगिक क्याम्पस भवन, २ हजार ५२० कक्षा कोठा स्थापना गर्न रकमको व्यवस्था गरिएको छ ।

४६ लाख छात्रछात्राका लागि आवश्यक पाठ्यपुस्तकका लागि २ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ । ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा बिस्तार गरिने भएको छ ।

कृषिमा भारी बजेट, सात अर्बले बढी

कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको भन्दा सात अर्बले बढी हो । यस्तै, अनुदानको मल खरिदका लागि बजेटले ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन चालु आबको तुलनामा २ अर्ब रुपैयाँले बढी हो।

जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत खेतीयोग्य जमिन सिँचाइको लागि साना ट्युबेल तथा राष्ट्रिय गौरवका सिँचाइ आयोजनाका लगि दुई अर्ब ३२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। जुन चालु आवको भन्दा कम हो ।

चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ३४ अर्ब ८० करोड रुपैयाँ विनियोजना गरिएको थियो । जसमध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ८ अर्ब १० करोड तथा मल खरिदका लागि ९ अर्ब बजेट विनियोजन गरिएको थियो ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।  आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए ।