प्रचण्ड-नेपाल-खनाल गठबन्धनको अडान : एक व्यक्ति एक पद, विधिमा पार्टी, निगरानीमा सरकार

मूलखबर संवाददाता
काठमाडौं, २२ बैसाख ।

सत्तारुढ दल नेकपामा देखिएको विवाद केही मत्थर भएपनि पूर्णरुपमा समाधान भइसकेको छैन । पार्टीभित्र एक व्यक्ति एक पद, विधिमा पार्टी र निगरानीमा सरकार भन्ने अवधारणा जसरी पनि लागु गराउने अडान प्रचण्ड माधव समुहको कायमै छ । जसलाई अब बस्ने स्थायी समिति बैठकले कार्यान्वयन गर्ने निर्णय गराउने विश्वास सो पक्षको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष के पी ओलीले पार्टी फुटका लागि सहज गराउने गरी संविधान संशोधन गर्न अध्यादेश ल्याउने निर्णयले बल्झीएको विवादले गम्भीर रुप लिएको थियो । विवाद समाधानका लागि बोलाइएको पहिलो सचिवालय बैठकमा अध्यादेश खारेज गर्नुपर्ने मागसँग प्रधानमन्त्री ओलीको दुबै पदबाट राजीनामा गर्नुपर्ने दबाब बढ्यो ।

पार्टीको दोश्रो सचिवालय बैठकमा खारेज गर्न प्रधानमन्त्री ओली तयार भए र खारेज पनि भयो तर उनको राजीनामाको माग झन झन बढ्यो । १७ गतेको सचिवालयको बैठकमा आफ्नो राजीनामाको माग बहुमत सचिवालय सदस्यले राखेपछि ओलीले आफूले कोरोनापछि राजीनामा दिने र बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने पासा फाले । सोही पासाले गर्दा २० गते भएको सचिवालय बैठकसम्म आइपुग्दा गौतम ओलीपक्षमा प्रस्तुत भए भने गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल पनि प्रधानमन्त्रीको राजीनामाको पक्षमा खडा नभएपछि राजीनामाको विषय मत्थर भयो र २५ गते स्थायी समितिको बैठकमा सबै विषय हल गर्ने सहमति भएको छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहितको गठबन्धन कमजोर बनोको र उनीहरुबीच विवाद बढेको समाचार पनि सञ्चारमाध्यममा आए । तर सो कुरा झुठ भएको उनीहरुले नै बताएका छन् ।
सो गठबन्धनले स्थायी समिति बैठकमा एक व्यक्ति एक पदको अवधारणा लागु गराउने स्पष्ट पारेको छ । हिजो भएको प्रचण्ड र माधव नेपालको भेटपछि नेता नेपालले आफू र प्रचण्डबीच विवाद नभएको र कुनै आशका समेत नरहेको स्पष्ट पारेका छन् ।

प्रचण्ड–नेपाल–खनाल गठबन्धनले एक व्यक्ति एक पद, विधिमा पार्टी र पार्टीको निगरानीमा सरकार भन्ने विषय स्थायी समिति बैठकमा गम्भीर ढंगले उठाउने र लागु गराई छाड्ने अडान लिएको छ ।

सचिवालय बैठकका गतिविधि र निर्णयबारे छलफल गर्न नेता नेपालले हिजो आफ्नै निवासमा आफू पक्षीय नेताहरुलाई बोलाएका थिए । जम्मा भएका नेताहरुका जिज्ञासा सुनिसकेपछि बरिष्ठ नेता नेपालले नआत्तिन आग्रह गरे । प्रचण्ड र आफ्नो वीचमा दुरी नबढेको बताए ।

पहिले पनि अध्यक्ष ओलीले सरकार चलाउने र कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको काममा ध्यान दिने निर्णय भइसकेको हुनाले दुई नेतावीच त्यस्तो छलफल हुनु नौलो नभएको नेता नेपालले भेलामा बताए । तर, अब विधि र पद्दतिअनुसार पार्टी अगाडि बढ्छ कि बढ्दैन, व्यवहारमा हेर्नुपर्ने नेता नेपालको भनाइ थियो ।

भेलामा सहभागी नेताहरुले नेपाललाई तेस्रो बरियताको अध्यक्ष पद अस्वीकार गरेर उच्च नैतिकता देखाएको भन्दै धन्यवादसमेत दिए । पार्टीभित्र केही नेताहरुको उतार(चढाव देखेर आफूलाई आश्चर्य लागेको नेता नेपालले सुनाए ।

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट तत्काल हटाउनुपर्छ भन्नेहरु नै रातारात अर्को कित्तामा उभिएर ओलीको बचाउमा लागेको देख्दा अचम्म लाग्ने गरेको भन्दै नेता नेपालले वामदेव गौतमप्रति कटाक्ष गरे ।

आफूले प्रधानमन्त्री ओलीको राजीनामा मागेको नभई पार्टीको सबै तहमा ‘एक व्यक्ति एक पद’ को अडान राख्दै आएको र त्यो अडान अहिलेसम्म कायमै रहेको नेपालले बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

खुमलटारबाट फर्किएका नेता नेपालले प्रचण्डसँग आफ्नो दूरी नबढेको स्पष्ट पार्दै यसमा आश्वस्त हुन र नआत्तिन आग्रह गरेको स्रोतले अनलाइनखबरलाई बतायो । छलफलमा सहभागी एक नेताले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘नेता नेपालले बाहिर आए जस्तो केही होइन, सबै ठीक छ भन्नु भएको छ ।’

अहिले पनि सचिवालयमा रहेका चार नेता (प्रचण्ड, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ एकठाउँमा रहेको भन्दै उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको अप्ठ्यारो हल नभइसकेको बताए । उनले भने, ‘सचिवालय बैठक बोलाइएको छ, त्यहाँ हामी आफ्नो कुरा प्रष्टसँग राख्छौं ।’