समसामयिक परिस्थिति र अबको नेतृत्व
प्रिय पाठकहरु,
देशका नागरीकहरु, देशबाहीर रहेका तर देशको प्रगतिका खातिर चिन्ता गर्ने नेपाली जनहरु, विदेशी भएरपनि नेपालको सुखदुःखमा साथै हुने र अहोरात्र खटिने परदेशी मित्रहरु !
आउनोस् आज हामी एउटा सर्वकालिन् मन्थनमा बसौं । गन्थन त धेरै गर्यौ र देख्यौ पनि तर अब मन्थनको मदानीमा स्पष्ट परिणाम हात लाग्ने विचारको निक्र्योलमा पुग्न होस्टेमा हैसे गरौं । कुनै आग्रह–पूर्वाग्रह वाद–विवाद भन्दा पनि बिशुद्ध नेपाली भइ नेपालको हितमा आत्मसाक्षी भएर समकालिन् परिदृष्यमा देखीएका उतार–चढावको लेखाजोखा गरौं ।
मेरो राजनीति रुझान लामो छैन तर मैले सुरु गर्नेबेला वा नेपालभित्रको भइरहेको राजनीति जानेबुझेको छु भन्ने बखत राजाको राज थियो । बहुदलिय प्रजातन्त्र भनेपनि सबैदल राजा अन्तर्गत थिए । दरवार बलियो शक्तिपुञ्जका रुपमा हरेक साना ठूला घटनाहरुमा सरिक भइरहेको अवस्था थियो । नेताहरुलाई सरकार संचालन गर्न दिएपनि देशको अभिभावक म नै हुँ भन्ने राजाको बुझाइ थियो । तसर्थ पार्टीगतरुपमा जजसले जे भनेपनि राजाका अघिल्तीर दाम राख्नेहरु सबै देखेपछि राजाकै आडमा राजनीति किन नगर्ने भन्ने ध्याउन्न म भित्र पलाएको थियो । त्रिचन्द्रमा अध्ययन थियो, गगन थापा, गुरुराजहरु सक्रीय बिद्यार्थी नेताहरु थिए । मैले किर्तीनिधी विष्टको संरक्षकत्वमा दरवारसँग साठगाठ भएको बिद्यार्थी संगठनको अध्यक्षता गरेको थिए । दरवारसँगका पटक पटकका पटके भेटघाटहरुपछि परीणाम विचार गर्दा म विस्तारै निरास बन्ने अवस्था आयो । दरवार हत्याकाण्ड, माओवादीको अदृष्य सक्रियता र गृहयुद्धको भयावह अवस्था ह्याण्डल गर्न नसकेको सरकारी संयन्त्र र दरवारको ग्याप, नेताहरुले गर्ने भ्रष्टाचारको विगविगी सहनेदेखी ज्ञानेन्द्रको द्रव्यमोह र पारीवारीक कलह देखेर भित्रभित्रै मक्कियर फुट्ने अवस्थामा म थिए । तसर्थ संगठनको विधान निर्माणमा गगनसँग लिएको सल्लाह र अन्य साथीहरु जो अहिले विभिन्न दलमा गतिलो भूमिकामा सक्रिय छन् उनीहरुसँग छलफल गरेर पनि आफै निरास बनेर सक्रियता त्याग्दै गएँ । पछि राजा फालिए, माओवादीहरु सरकारमा बहुमत लिएर आए, कोइरालाले जीवनको अन्त्यसम्म देशलाई भन्दा दरवारसँग र अन्य विपक्षीसँगको इखलाई ठिक बनाउनमै व्यस्त भएदेखि म पूर्णत राजनीति नबुझ्ने दाउपेच रहेछ भनि टाढै बस्न थाले । लामो समय भयो कुनै पार्टीभन्दा पनि देशको साझा एजेण्डा बोक्ने विभिन्न पार्टिको व्यक्ति बिशेषहरु मेरो आसाका बिन्दु बन्नथाले । उनीहरुका क्रियाकलापहरु नियाल्नमै उत्सुक हुन थाले । तर पनि एकले अर्कोलाई पायो कि सिध्याउने प्रपञ्चको घृणित खेल देखेर बेला बेलामा ऐठन अनुभव गरेपनि सुनौलो नेपालको परिकल्पना मेरो मानसमा सधै बाँचिरहेकोछ र मेरो प्रयत्न एक बुँद रगत वा एक मुठी श्वास रहेसम्म रहीरहनेछ ।
भइरहेको राजनीतिक थालको चर्को आवाजलाई संगित मान्ने पक्षमा म छैन । चाहे त्यो सहमतीमा बनेको कामचलाउ सरकार होस् वा दुइतिहाइको परिचय पाएको तर आन्तरीकरुपमा चिरैचिरा परेको बर्तमान सरकारलाई ठिक भनेर विश्वास गर्न सकिने अवस्था किंचित छैन । म यही ठिक भन्ने पक्षमा छैन वा मेरो गोरुको बाह्ै टक्का भन्ने आसय पनि मेरो होइन । शक्तिको चक्रलाई हेर्दा परिवर्तन अपरिहार्य भएर जोडिएकोछ । अहिलेको मेरो मानक वा ठानेको ठिक केही कालपछि बेठीक भएर जानेछ । जसरी एउटा दलको सरकार बन्छ र उसले आफ्ना आदर्शका नाम अंकित अस्पताल, स्कुल, पार्क वा सरकारी भवन निर्माण गराउँछ । क्षमताले भ्याएसम्म मुलबाटो, चौबाटोमा अर्ध, पूर्णकदका सालिक बनाउँछ । र त्यससँगै घडिको घडा पनि फेरिन्छ । सरकारमा बस्ने दल फेरिन्छ, उसले पुराना मान्यतालाई बदलिन्छ, नयाँ सरकार एकएक गरेर पुराना सबैको नाम फेर्छ, रंग फेर्छ आसनको डसना फेर्छ तर बिर्सन्छ उ पछि आउने अर्को ज्ञात अज्ञातमा रहेको दलले पनि सरकारमा आउँदा उसका परिवर्तीत स्फुर्तीलाई उसैगरी फेर्छ जसरी पहिले फेरीएका थिए ।
प्रधानमन्त्री खड्गप्रशाद शर्मा ओली सरकारमा रहीहरनुको पहिलो कारण उनको क्षमता नभइकन उनको शारिरीक अस्वस्थता थियो र छ पनि । उनको निजी स्वास्थ्यलाई लिएर नेपाली जनताले सधै सुस्वास्थ्य र दिर्घायूको कामना गरिरहे तर उनले इमोशनल ब्ल्याकेमल गरिरहे । उनले के भ्रम पाले भने जनताहरु मेरो शासनप्रणाली देखी खुशी छन् । नेपाल कम्युनिष्ट आन्दोलनमा प्रख्याती कमाएका स्वर्गीय नेता मदन भण्डारीको हत्याका बिषयमा छानबिनको कुरा कहिकतै सुनिदैन । उनको सालीक पार्टीकार्यलयमा झारले पुरीएकोछ, जसरी सैद्धान्तक स्खलनता पार्टीमा आएकोछ । स्व. भण्डारीको योगदानलाई सम्झदै उनकी श्रीमतीलाई देशको सर्वोच्च पद दिने निणर्य यही नेपाली जनताले भावनामा आएर गरेका थिए । यी त्यही जनता हुन् जो अहिले मदन भण्डारीले गरेका भाषणका टुक्रालाई टिकटकमा समेटर त्यो बेला र यो बेला भनि हिसाब मागीरहेकाछन् । पुराना भिडीयोलाई ब्यूँताएकाछन्, क्षमताविहीन् व्यक्तिद्धारा शाशित हुनुपरेको पिडामा बर्बराइरहेकाछन् । उनको हत्याको कारण त्यसपछि पार्टी भित्र फाइदा लिनेहरु हुन् वा देशलाई शताब्दीयौं पछाडी धकेलेर आफ्नो स्वार्थ पुर्ति गर्ने बिदेशी तत्वहरु हुन् त्यस बिषयमा कहिल्यै कसैले फाइल उघार्ने हिम्मत गरेनन् । दुइतिहाइको सरकार शक्तिको भागबण्डामा र पूर्व माओवादीका नाममा वा पूर्व विरोधीका निहुमा आफ्नै पार्टीका शिर्षस्थ नेताहरुको साख सखाप पार्ने ध्याउन्नमा ओली लागेको देखियो ।
सारा संसारका मुलुकहरु कोभिड१९ लाई परास्त गर्ने रणनीतिमा लागेका छन् भने ताजा नेपाली राजनीतिमाथि त्राटक दृष्य लाउदा हामी देख्न सक्छौ ओली आफ्नो वशमा रहेका थोरै उद्यमीहरुको हितमा ठेक्कापट्टाको जोहो गरिरहेकाछन्
प्रचण्डको सर्वपक्षिय संयन्त्र निर्माणमा जुटौ भन्दा सुन्ने धैर्यता समेत छैन, अरु बिज्ञलाई ओभरटेक गरेर कोरोनाको मनगढन्ते व्याख्या र रोकथामका उपायबारे बोलिरहेकाछन् । रोगका बारेमा संसार अनभिज्ञ भएको अवस्थामा ओलीले ज्ञान आर्जन कसरी गर्नसके त्यो देखेर पेशामा रहेका चिकित्सकहरु पनि लेट्स रिफ्रेश भनि हाँसीरहेकाछन् । गर्नुपर्ने काम छोडेर जनताका आधारभूत आवश्यकता र अभावमा जेनतेन चुपचाप सास्तीलाई ओली असारे बर्षाका चटारोमा किसानलाई घरभित्र थुनेर आफू भने सत्ताको सूरक्षित खेतीमा खेल खेलीरहेकाछन् । आश्चर्य त तब भयो जब अध्यादेशबारेको उनको तयारी र निणर्यका बारेमा शिर्षस्थ पार्टीका, सरकारका व्यक्तिहरुलाई समेत छैन । कोरोनाको कुहीरो बढीरहेको अवस्था छ, मृत्यु नभएपनि मनोबैज्ञानिक त्रास चारैतिर छ तर शक्तिको खोरमा बसेर अध्यादेशका नाममा ओलीले बर्षाएको गोली अध्यादेश फिर्ता लिय पनि कालान्तरमा गएर निशाना स्वयंमाथि पर्ने निश्चित छ वा ज जसलाई साँचेर उनले अध्यादेश ल्याए ती सम्भावित शक्तिहरु एकजुट भएर व्यवहारीकरुपमै प्रतिकार गर्नेछन् त्यो पक्का हो तर पनि कानूनी लेप दिएर अपराधीक क्रियाकलापहरु भइरहेकाछन् । बिरुद्धमा बोल्नेहरुलाई मध्यरातमा घरबाट अपहरण गरिएको छ, यस्तै अराजक श्रृंखलाहरु चलिरहेकाछन् ।
ओलीको योग्यता भनेकै उनको विगत हो । यदी तटस्थरुपमा ओलीका बारेमा सुन्ने धैर्यता र जान्ने कौतुहलता छ भने जेलजीवनका बारेमा राधकृष्ण मैनाली र जेल बाहीरका बारेमा सिपि मैनालीले एक्सरे शैलीमा बिस्कुन लाउन सक्छन् । राजनीतिमा सधै चातुर्यतालाई हतियार बनाउने, लुकेर हिड्ने गुप्तवासका क्रममा बनारसबाट फर्कदा विराटनगरमा पक्राउ परेका उनले अहिलेसम्म देशको लागि १४ बर्ष जेलजीवन भोगे भन्दै सहानुभूति पाइरहेकाछन् । हामी कल्पना गरौ जेल बसेकै कारण कोही १६ बर्ष वा २० बर्षे पूर्वबन्दी आएको खण्डमा उसलाई देश चलाउने भूमिकामा राख्न सकियला त ? यो बेला भनेको देशको समुचित सेफ ल्याण्डिगं हो, जनताको न्युनतम् आवश्यकताबारे बोल्ने हो तर त्यो कहिकतैबाट पनि यो सरकारबाट सुन्न सकिएको छैन । अब बिकल्प तिर मनन् गरौं ।
जतिबेला ओली जेलमा बेकामे दिनहरु व्यथित गरिरहेका थिए अर्को सहअध्यक्ष प्रचण्ड सैद्धान्तिकरुपमा उही तर फरक जोश र सन्देश लिएर हिडिरहेका थिए । ०५२पछि शसस्त्र द्धन्दमा पूर्णकालिन भएर लागेका प्रचण्डले आमूल परिवर्तनको पक्षमा तत्कालिन् व्यवस्थाको विरुद्धमा ज्यान हातमा राखेरै आक्रमणमा ओर्लीए । हामी मानौ नमानौ नेपाली भूमिमा माओवादी प्रकृतीको बलियो सरकार विरोधी समूह कहिल्यै भएको थिएन जसले आम जनतालाई राजनीति जान्ने र बुझने मार्ग प्रशस्त गरेकोथियो ।
माओवादी शान्तिप्रक्रियामा आएदेखिनै नेपाली जनतालाई आसा थियो, अब सुनौला दिन आउनेछन् । तर संसदीय अभ्यासको अभाव हो वा सैद्धान्तिक, आर्थीक कारणले बलियो माओबादी भिन्न भिन्न गुटमा बाँडिन थाल्यो । आम कम्युनिष्ट पार्टीको नियती नै फुट्ने जुट्ने नै हो तर नेपालीलाई जसरी हुन्छ देशले गति लिनुपर्छ । बलियो दिर्घकालिन् सरकार हुनुपर्छ भन्ने नै थियो । माओवादीभित्रको कलह टुक्रने जोडिने भइरदा समेत नेता प्रचण्डमा भने कुनै हतोत्साही भावना थिएन ।
शान्तिप्रक्रिया र राजा फाल्ने क्रममा जश पाएका मुलतत्व स्वर्गीय नेता गिरीजाप्रशादको अर्को विकल्पका रुपमा प्रचण्डलाई लिन थालिएको थियो । सारमा नेपालको राजनीति संचालन गर्न चाहीने योग्यता सक्रीय अन्य नेताहरुका तूलनामा प्रचण्डमा बढी देखिन्थ्यो । गिरीजा समयले बनाएका नेता थिए, उनी हुनुमाकोइराला परिवारको निरन्तरता थियो, उनी पछि पनि अहिलेसम्म आइपुग्दा नेपाली काँग्रेसको बिउ कोइराला परिवारको इर्दगिर्दमा नै घुमिरहेकोछ ।
ससर्ती हेर्दा मुलरुपमा चलायमान पार्टीहरुभन्दा पनि सम्पूर्ण नेताहरुमध्ये प्रचण्ड नै निर्विकल्प नेताको रुपमा देखिन्छ । यो सत्य पार्टीभित्रका असुीरीतत्व वा अन्य पार्टीभित्रका देशविरोधीलाई छाडेर भन्ने हो भने प्रचण्ड उपायहिन् पात्र हुन् । भनिन्छ कुनैपनि देशको राजनीति गर्न त्यो देशका भूभाग घुमेको, जनतालाई बुझेको, सिद्धान्तलाई मुलमन्त्र मानी जस्तोसुकै अवस्थामा पनि विचलीत नहुने, मृत्यु स्विकार्ने तर पार्टी र देशले लिएको बिषयलाई हार्न नदिने मुल तत्वहरु प्रचण्डका गहना थिए । ७१ बर्षे नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकाललाई हेर्दा प्रचण्डको तिक्ष्णगत् सक्रियता चौथो महाधिबेशनको भेलादेखिको मसाल, एकता केन्द्र, माओवादी केन्द्र देखी हालको नेपाल कम्युनिष्ट पार्टी सम्म आइपुग्दा उनको लयबद्धता सैद्धान्तिकरुपमा आफैमा एउटा सजिव प्रमाण हो ।
भूमिगतकालखण्ड पार गरेर सरकारमा आएर पनि उनी कहिले परिवारको कलहमा, कहिले पार्टीका साथीहरुको लहलहैमा, कहिले कुटिल छद्मरुपी दलालीहरुको दलदलमा थाहौ नपाइकन परेर उनका दुबै कार्यकाल नै आशातित रुपमा सफल हुन सकेनन् । तर हामी हिसाब गरौं, विकास र समृद्धी स्थिरताको सुचकांक हेर्यौ भने अहिले ओलीको सरकारभन्दा कैयौ गुणा सवलढंगले प्रचण्डको सरकार (सन् २००८–२००९, सन् २०१६–२०१७) ले छोटोसमयावधीमा गरेका कामहरु देख्न सकिन्छ ।
गल्ती मान्छेबाटै हुने हो, यदी गल्ती नभए त उ भगवान् भइहाल्यो । हो प्रचण्डमा निजीगत प्रभावबाट, देशीविदेशी चलखेल आदी कारणले मुखर हुन नसकेकै हो त्यसबेला तर अहीले बलियो एकल सरकार भइकन पनि ओलीको अर्कमण्यताबाट आजित भएर फेरि विकल्प खोज्नेक्रममा निर्विकल्प प्रचण्डले नै सक्रिय भइ देशलाई अन्धकारबाट उठाउनुपर्ने देखिन्छ । अवश्यपनि प्रचण्ड पूर्व सुसुचित हुनुपर्छ बिचौलियाहरुदेखी, पारिवारीक प्रभाव र भावनात्मक सम्बन्धदेखि माथि उठेर कोरोनाका कारण मात्र होइन ओलीसरकारका कारण भएका अनियमितताका फाइलहरु सच्चाएर देशलाई सुत्रबद्ध गरी अघि बढाउनुपर्ने देखिन्छ ।
स्वास्थ्यको महामारीका कारण बेलायत, अमेरीका, युरोपका अधिकांश देशहरु त पछि धकेलिएका छन् भने नेपालजस्तो गरीब देशको अवस्था पक्कैपनि अझ खस्कनेमा कुनै शंका छैन तर देशमा भएका स्रोतसाधनको भरपुर प्रयोग गरेर, विदेशमा रहेका नेपालीको अनुभव र ज्ञानलाई यथोचित स्थान दिएर, रैथाने उद्यमका बाटाहरु पहिल्याई रोजगार सृजना गरेर, क्षमताले भ्याउने र आवश्यकता परेका ठूला कलकारखानाहरु व्यूँताएर देश हाँक्ने बेला भएकोछ । अहिले ओलीलाई पाखा लगाएर मात्र समस्याको समाधान नठानी सिंगो पार्टीको हितमात्र होइन देशको हितलाई सर्वोपरीतालाई अंगिकार गर्दै वास्तवमै सर्वमान्य नेताका रुपमा अघि आउनुपर्ने देखिएकोछ ।
प्रिय पाठकहरु,
आसा गरौं यो कोरोनामय त्रास पनि बिलाएर जानेछ जसरी रात निख्रीएर दिन आउँछ । र हामीहरु आफ्नो परिवारका सदस्यसँग एकबद्ध हुनसक्नेछौ, इलममा फर्कन सक्नेछौं । एकबद्ध भई प्रण गरौं कोरोनासँगै ओलीसरकारको आहारामा परेर दुःखको आहलमा डुेबेका आम नेपालीहरु तंग्रिएर फेरि एकजुट हुनेछौं ।
राल्फाली गायक रामेशले गाएको गीत जसरी ..,,,,,,जो जस सँग जे छ त्यही लिएर उठ्नुपर्ने बेला भएकोछ, गाउँ गाउँ बाट उठ्ने बेला आएको छ, बस्ती बस्तीबाट जाग्ने बेला आएकोछ । विश्वयुद्धपछि कसीएका जापानीहरु जसरी हामी नेपाली श्रममा जोतिनुपरेकोछ । श्रमको पसिनाले माटोका डल्ला फुटाउने बेला आएकोछ । जो सँग जे छ त्यहीलाई सिप मानि देशको शिर उठाउने बेला भएको छ ।
नेपाल र नेपालीको सदैव जय होस् ।