
लकडाउनको २३ औं दिन : सवारी पासमा झन कडाई, सडक पुरै सुनसान
कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन सुरु भएको २३औं दिन पनि काठमाडौं उपत्यका सुनसान छ ।
सरकारले लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षा संयन्त्रहरुलाई परिचालन गरेको छ । खासगरी काठमाडौं उपत्यकामा मंगलबार दुई जनामा संक्रमण फेलापरेपछि झनै त्रास फैलिएको छ । जसका कारण पनि मानिसहरु बाहिर निस्किएका छैनन् । यसअघि फाट्टफुट्ट रुपमा सडक पेटीमा देखिने मानिसहरु बुधबार देखिएका छैनन् ।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै बुधबार सम्म कायम गरिएको लकडाउनलाई मंगलबार नै सरकारले १२ दिन समय थप गरी वैशाख १५ गते सम्म लम्ब्याएको छ ।
यस्तै प्रशासनले पास वितरणमा समेत कडाई गरेको छ । सडकमा अत्यावस्यक सामग्रीको ढुवानी गर्ने र अत्यावस्यक काम पर्नेहरुका साधनहरु फाट्टफुट्ट चलेको देखिन्छ । प्रहरीले चोकचोकमा बसेर ती साधनहरुको नियमित चेकजाँच गरिरहेको छ ।
