सांसद विकास काेषकाे रकम काेराेना राेकथाम काेषमा राख्न काँग्रेसका १२ सांसदकाे माग ( विज्ञप्तिसहित)

मूलखबर संवाददाता
काठमाडौं

विश्वव्यापी महामारीको रूपमा फैलिरहेकाे काेराेना राेकथाममा विभित्र देश र संस्थाहरू लागरहेकाे सन्दर्भमा नेपालकाे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका १२ जना नेताहरूले सांसद विकास कोषको रकम कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम कोषमा राख्नुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय सदस्यहरू चन्द भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले ‘यस संकटको समयमा खर्च कटौती गर्न सांसद बिकास कोषको रकम कोरोनाभाइरस नियन्त्रण कोषमा राखिनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा समेत कटौती गर्दै जनताको हितमा लगाउनु पर्दछ।’

साथै उनीहरूले लकडाउन मात्र सबै समस्याको समाधान नहुने उल्लेख गरेका छन्।

‘लकडाउन मात्र सम्पूर्ण समस्याको समाधान होइन। त्यसैले नेपालले अवलम्बन गर्नु पर्ने केही बिकल्पका बारेमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,’ उनीहरूले भनेका छन्।

कांग्रेस केन्द्रीय सदस्यहरू चन्द भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले निकालेको विज्ञप्ति यस्तो छ:

१. अहिलेसम्म भइरहेको परिक्षणको गति अत्यन्त सुस्त छ। यस्तो गतिमा गरिने परिक्षणले भाइरस संक्रमित ब्यक्तिको तिब्रगतिमा पहिचान हुन सक्दैन। तसर्थ सरकारले परिक्षणको दायरा र गति बढाउनु पर्दछ।यसका लागि परिक्षण केन्द्रहरू अविलम्ब थपिनु पर्दछ।

साथै कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचानका लागि आबश्यक पर्ने परिक्षणका लागि चाहिने परिक्षण किट, पिपिईलगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गरिनुपर्छ, जसका कारण कोरोना नियन्त्रण अभियानमा कुनै पनि कारणले अबरोध उत्पन्न नहोस्।

२. यस माहामारी कै कारण बिदेशबाट नेपाल आउन चाहने नेपालीहरुलाई सहजै आउनदिने ब्यवस्था मिलाइनु पर्छ। सिमामा आइपुगेका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई नेपाल प्रवेश गराइ क्वारेन्टाइनमा राखिनुपर्छ। आबश्यक स्वास्थ्य परिक्षणको प्रकृया पुरा भएपछि मात्र घर जाने व्यवस्था मिलाइनु पर्दछ।

३. विश्वव्यापी कोरोना संक्रमणको महामारीबाट राष्ट्र आक्रान्त बनेको समयमा आफ्नो जीवनलाई उच्च जोखिममा राखेर जनसेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका सम्बन्धित सबै ब्यक्तिहरुको बारेमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्दछ। सुरक्षाकर्मीहरुको तलब कटाउने कार्य सर्वथा अनुचित छ। सरकारको यो निर्णयले यस अभियानमा लागेका सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याएको छ।

४. स्वास्थ्यकर्मीलगायतका सम्बन्धित सबैको आर्थिक सुरक्षा र प्रोत्साहन स्वरुप बिमा र यथेष्ठ भत्ताको व्यवस्था गरिनुपर्छ।

५. यस संकटको समयमा खर्च कटौति गर्नको लागि सांसद बिकास कोषको रकम कोरोनाभाइरस नियन्त्रण कोषमा राखिनु पर्दछ। साथै पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा समेत कटौती गर्दै जनताको हितमा लगाउनु पर्दछ।

६. दैनिक ज्याला मजदुरी गरेर बाँच्ने गरिब नेपालीहरु तथा वृद्धवृद्धाका लागि यथोचित राहतको व्यवस्था गरिनु पर्दछ।

७. संसारभर रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा विदेशस्थित नेपाली दूतावास र अन्य कुटनीतिक माध्यमबाट जानकारी हासिल गरि आबस्यक सहयोग गर्नु पर्दछ।

८. यस महामारीका कारण नेपालीको दैनिक जनजीवन अस्तब्यस्त बन्दै गएको छ। किसानका पशुचौपायासमेत खाद्यान्न को अभावमा परेर मर्ने खतरा बढेको छ। सरकारले यस विषयलाई समेत गम्भिरतापूर्वक लिई उपयुक्त कदम चाल्नु पर्दछ।

९. इतिहासमा बिरलै आइपर्ने यस्ता महामारी र घनघोर संकटसँग हामी सबै नेपाली एकजुट भएर जुझ्नुको विकल्प छैन। यस्तो बिपदको बेलामा सरकार चलाउने मुख्य ब्यक्तिले टर्रो र गैरजिम्मेवार अभिव्यक्ति दिनु हुँदैन।

१०. राष्ट्र संकटबाट गुज्रिरहेको यस संवेदनशील घडीमा भष्ट्राचारको कल्पना गर्नु र त्यसमा संलग्न हुनु निम्नकोटीको अपराध हो। यस्ता अपराधीहरुलाई राष्ट्रले माफ गर्न सक्तैन। अहिले कुनै कारणबाट त्यस्ता पात्र र प्रवृत्ति ले उन्मुक्ति पाएपनि उचित समयमा उनिहरु दण्डित हुने छन्।