प्रचण्डको पहलपछि चिनले पठायो औषधी र उपकरण, राष्ट्रपति सि लाई प्रचण्डको बधाई

मूलखबर संवाददाता
काठमाडौं, १६ चैत ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड -१९ को प्रकोप रोकथामको लागि नेपालले कडा संघर्ष गरिरहेको अवस्थामा आज छिमेकी मुलुक चिनबाट एक जहाज औषधी र उपकरणहरु आइपुगेको छ ।

आफ्नै देशबाट शुरु भएको कोरोनाको प्रकोपमाथि कठीन संघर्ष र उच्च प्रविधिद्धारा विजय हासिल गरेको चिनले नेपाललाई आज औषधी र उपकरण पठाएको हो । नेपालमा कोरोना भाइरसका संक्रमितहरु थपिँदै जाँदा चिकित्सकहरुलाई अत्यावश्यक रहेको पीपीइलयातका साधन श्रोतहरुको अभावमा नेपाल धेरै नै भयभित र त्रसित अवस्थामा पुगेको थियो । सामाजिक सञ्जाल लगायत देशभरबाट चिकित्सकहरुलाई उपकरण र साधन उपलव्ध गराउन सरकारलाई दबाब आइरहेता पनि सरकारको तदारुकता नदेखिएको भन्दै आलोचना बढिरहेको थियो ।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको मनोभाव र आकांक्ष र देशको आवश्यकतालाई मध्यनजर गर्दै चिनियाँ राष्ट्रपति सि जिङ पिङलाई पत्र पठाई नेपाललाई सहयोग गर्न आग्रह गर्नुभएपछि चिनले औषधी र उपकरण तत्काल पठाएको हो ।

प्रचण्डले महामारीको रुपमा फैलिएको कोरोनामाथि विजय हासिल गर्न सफल भएकामा नेकपा र नेपाली जनताको तर्फबाट बधाई दिँदै नेपालमा आवश्यक परेको सामग्री जतिसक्दो छिटो पठाईदिन आग्रह गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
आज स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत चिनले औषधी र उपकरणहरु पठाएको र ती सामग्रीहरु प्रदेशमार्फत आवश्यक सबै अस्पताल र क्वारेन्टाइन स्थलमा वितरण हुने जानकारी दिएको थियो ।