कोरोना भाइरस विरुद्धको लडाईमा सरकारसँगै छौं : कांग्रेस

मूलखबर संवाददाता
काठमाडौं, ८ चैत ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड —१९) विरुद्धको लडाईमा सरकारसँगै रहेको जनाएको छ ।

कांग्रेसले कोभिड—१९ विरुद्धको सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने प्रतिवद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडी बढ्नुको विकल्प नभएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना विरुद्धको लडाईका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

शर्माले पार्टीको क्रियाशिल सदस्यता वितरण र नविकरणका कामहरु समेत पार्टीले तत्कालका लागि स्थगित गरेको बताउनुभएको छ । चैत ९ गतेबाट चैत मसान्तसम्मका लागि सदस्यता वितरण र नविकरणका कामहरु रोकिएको उहाँले बताउनुभयो ।

फागुन दोस्रो हप्ताबाट पार्टीका सांगठनिक कार्यक्रममा रोक लगाइएको उल्लेख गर्दै शर्माले कोरोनाको सचेतना अभियानमा सक्रियताका लागि पार्टी कार्यालय भने खुला रहने बताउनुभयो । सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, १० गतेबाट लामो दुरीका यातायातका साधन बन्द गर्ने निर्णय गरिसकेको छ । यसैगरी १८ गतेसम्म सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा समेत बन्द गर्ने निर्णय गरेको छ ।