मेयर रेणु दाहालको पहलमा बनाइयो ३ दिनमा ५० बेडको आकस्मिक अस्पताल
चितवन, ६ चैत ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पहलमा चितवनमा ३ दिनभित्रै ५० शैयाको आकस्मिक अस्पताल निर्माण सम्पन्न गरिएको छ । कोरोना भाइरस संक्रमितको लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारबाट सञ्चालनमा आउने भएको छ ।
भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइराखेको अस्पतालमा ५० शैयाको क्षमतामा शुक्रबारबाटै ओपोडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
कोरोना नियन्त्रण कार्यदलको बिहीबार बसेको वैठकले काम तिब्र गतिमा वढेकाले शुक्रबारबाट सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिनुभयो ।
प्रमुख दाहालले भन्नुभयो, ७० शैयाको अस्पताल निर्माण गर्ने तयारी रहेको छ अहिलेलाई ओपीडी सेवा हुनेछ त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आइसियु सेवा दिने गरी तयारी तीब्र पारेको उहाँले जानकारी दिनुभयो ।
कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले भन्नुभयो,प्रदर्शनी केन्द्रको तीन वटै भवन प्रयोग गर्नु परेमा तीनसय वेड क्षमताको अस्पताल निर्माण गर्न सक्नेछौ । तत्काल ७० शैया क्षमताको निर्माण गरिने छ त्यसपछि आवश्यकताको आधारमा थपिदै जाने योजना रहेको जानकारी दिनुभयो ।
अस्पतालमा खटिने स्वास्थ्यकर्मीको पनि व्यवस्था भइसकेको महानगर प्रमुख दाहालले जानकारी दिनु भयो । शुक्रबार १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् । विरामीको चाप र आवश्यकता अनुसार जनशक्ति र उपकरणहरु थपिदै लैजाने उहाले बताउनुभयो ।
महामारीका रुपमा फैलिदै गएको कोरोना संक्रमणलाइ रोक्न र विरामी भएमा उपचारको लागि अलगै अस्पताल निर्माण गर्ने निर्णय भरतपुर महानगरपालिकाले गरेको थियो । ७२ घण्टा भित्र अस्पताल निर्माण गर्ने घोषणा गरेसंगै अस्पताल सोही समय भित्र सञ्चालनको तयारी गरिएको छ ।
बिहीबार वसेको कार्यदलको वैठकले शुक्रबारबाट चितवनमा सञ्चालन हुदै आएको हाटबजार र केबुलकार पनि बन्द गर्ने निर्णय भएको छ । अस्पताल निर्माणको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका छन् ।