स्ववियु चुनाव २० चैतभित्र गरिसक्न त्रिविको निर्देशन, कहाँ–कहाँ रोकियो चुनाव ?

मूलखबर संवाददाता
काठमाडौं, ८ चैत

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन हुन बाँकी आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा २० चैतभित्र चुनाव गरिसक्न निर्देशन दिएको छ ।

५ चैतमा निर्वाचन तय भए पनि कतिपय आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा चुनावी प्रक्रिया रोकिएपछि त्रिविले शैक्षिक क्यालेन्डरमा असर परेको भन्दै समयसीमा नै तोकेर क्याम्पस प्रशासनलाई निर्देशन दिएको हो ।

त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले चुनाव लम्बिँदै जाँदा शैक्षिक क्यालेन्डर बिथोलिने र पढाइ प्रभावित हुने भएकाले २० चैतको समयसीमा दिइएको बताए । ‘स्ववियु चुनावका लागि त्रिविका केही परीक्षा सारिएको छ । स्नातक तह र स्नातकोत्तर तहको पठनपाठन रोकिएको छ,’ उनले भने, ‘यसबारेमा विद्यार्थी संगठनले पनि बुझ्नुपर्छ ।’

यद्यपि, प्राविधिक विषय पढाइ हुने क्याम्पसमा भने नियमित कक्षा सञ्चालन भइरहेका छन् । हालसम्मको नतिजाअनुसार नेविसंघले ११९, अनेरास्ववियुले ९५ र अखिल क्रान्तिकारीले ८४ क्याम्पसमा जितेका छन् । अन्य चारवटा क्याम्पसमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । त्रिवि प्रशासनका अनुसार चुनाव तय भएका ६२ आंगिकमध्ये २१ र सम्बन्धनप्राप्तमध्ये ३६० मध्ये १४० मा चुनाव हुन बाँकी छ ।

कहाँ–कहाँ रोकियो चुनाव ?

त्रिविअन्तर्गत एक हजार ५३ वटा क्याम्पस भए पनि आंगिकसहित ४६२ मा स्ववियु चुनाव तय भएको थियो । त्रिवि प्रशासनका अनुसार चुनाव तय भएका ६२ आंगिकमध्ये २१ र सम्बन्धनप्राप्तमध्ये ३६० मध्ये १४० मा चुनाव हुन बाँकी छ । काठमाडौं उपत्यकामा त्रिवि केन्द्रीय क्याम्पस, आरआर, शंकरदेव, विश्वभाषा, पाटन, अमृत साइन्सलगायत क्याम्पसमा चुनाव हुन सकेको छैन ।

केन्द्रीय क्याम्पसमा शुक्रबारका लागि चुनाव तय भए पनि अदालतमा रिट परेपछि चुनावी प्रक्रिया अघि बढेको छैन । त्रिविले अमृत साइन्स र पोखराको पृथ्वीनारायण क्याम्पसमा ९ चैतका लागि मिति तय गरेको छ । चितवनको वीरेन्द्र क्याम्पसमा शनिबार चुनाव हुने भनिए पनि निश्चित छैन । पाटन संयुक्त क्याम्पसमा १६ चैतमा चुनाव तय भएको छ ।