नेकपा बैठकमा प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणबारे जानकारी, स्वास्थ्य लाभको कामना

मूलखबर संवाददाता
काठमाडौं, १८ फागुन ।

सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष के पी शर्मा ओलीको स्वासथ्यबारे मात्रै छलफल भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपण आगामी बुधबार हुने जानकारी दिनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले उक्त जानकारी गराउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार नै महाराजगंज स्थित त्रिभुवन शिक्षण अस्पतालमा भर्ना हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण हुने भएपछि सचिवालय बैठकमा अन्य कुनैपनि विषयमाथि छलफल नभएको उहाँले बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको मिर्गौलाको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको लागि सचिवालय बैठकले कामना गरेको बताउनुभयो ।