प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुहुन्छ, मान्नैपर्छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा भएको निर्णयको प्रधानमन्त्रीले अवज्ञा नगर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
शुक्रबार चितवन पुग्नुभएका प्रचण्डले प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपी शर्मा ओली र आफ्नो अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत निर्णय गरेको र त्यो निर्णयलाई प्रधानमन्त्रीले अवज्ञा नगर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुबैको अध्यक्षतामा बसेको सचिवालयले सर्वसम्मतगरेको निर्णय प्रधानमन्त्रीले अवज्ञा गर्नुहुन्छ भन्ने म कल्पना गर्न पनि सक्दिन प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । मैले यति बुझेको हो । मान्नुभएन भनेपछि के हुन्छ भन्ने तर्फ अहिले म जान चाहान्न । एक दुई दिनमा तपाईहरले थाहा पाइहाल्नुहुन्छ ।’
पार्टी उपध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएपनि तत्काल संविधान संशोधनको प्रकृया अगाडी नबढ्ने दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधन आफ्नो प्रकृयामा हुदै जाने कुरा हो । उहाँ (गौतम) राष्ट्रियसभामा अहिले नै जाने भनेर निर्णय गरिएको हो ।’ राष्ट्रियसभा सदस्य थप्ने कुरा भने नभएको दाहालले बताउनुभयो । सचिवालय बैठकमा सदस्य थप्ने विषयमा कुनै निर्णय नभएको र अहिले त्यो सम्भव नरहेको उहाँको भनाई छ ।