पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति, गौरव गर्न लायक प्रगति हासिल : ज्ञवाली

मूलखबर संवाददाता
काठमाडौं,

भूकम्प २०७२ बाट क्षति पुगेका विभिन्न ६ वटा क्षेत्रको पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनको पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति हासिल भएको जनाएको छ ।
भूकम्पपछिको पुननिर्माणको कामका लागि चार वर्षअघि १२ पुसमा प्राधिकरणको स्थापना भएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शून्यबाट पुनर्निमाण थालेको भए पनि अहिले गौरव गर्न लायक प्रगति हासिल भएको दाबी गरे ।

प्राधिकरणले चार वर्षको अवधिमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको जनाएको छ । यस अवधिमा भूकम्पबाट क्षतिग्रस्त ४ लाख ८२ हजार ३ सय २३ घर पुनर्निर्माण भएको छ । १ लाख ८९ हजार घर पुनर्निर्माणको क्रममा रहेका छन् । यस अवधिमा २ खर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । यस अवधिमा गैरसरकारी संस्थामार्फत ४२ अर्ब गरी कुल ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको छ । प्राधिकरणका अनुसार पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न अझै ३ खर्ब रुपैयाँ आवश्यक रहेको छ । भूकम्पबाट सबैभन्दा बढी निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनमा क्षति पुगेको थियो ।

प्राधिकरणले कुल क्षतिग्रस्त ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५ हजार ३ सय ८० अर्थात् ७१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ । १ हजार ७ सय ८७ विद्यालयको पुनर्निर्माण भइरहेको छ । त्यस्तै, ३२ जिल्लाका ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय २३ सम्पदा पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ ।

भूकम्पबाट क्षति पुगेका ११ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ६५ को पुनर्निर्माण सकिएको छ भने १ सय ४९ संस्था निर्माणको क्रममा रहेका छन् । पूर्ण र आंशिक रूपमा क्षति भएका कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ५९ सरकारी भवनको पुनर्निर्माण सम्पन्न भएको छ । प्राधिकरणले ४९ वटाको काम जारी रहेको जनाएको छ ।
सुरक्षा निकायका १ सय ८३ संरचनाहरूको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३२ वटा बन्दै छन् । भूकम्पपछि असुरिक्षत स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाभग्राहीलाई सुरक्षित बस्तीका लागि जग्गा खरिद तथा व्यवस्थापनको व्यवस्था मिलाइएको छ । ८ हजार ७ सय ४४ भूमिहीन तथा सुकुमबासीलाई जग्गा खरिद र व्यवस्थापन गरिएको छ । ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृति भइसकेको छ । त्यसमध्ये २२ को काम सुरु भएको छ भने तीनवटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भएको छ । सो अवधिमा विभिन्न जिल्लाका ७ सय ६२ किमि सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ किमि सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३ सय १९ किमि सडकको पुनर्निर्माण भइरहेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तूपा, पाटनको कृष्ण मन्दिर, हनुमान ढोकाको गद्दी बैठक, साँखुको बज्रयोगिनी, प्रसुति गृह, वीर अस्पताल, नेपाली सेनाको जंगीअड्डा लगायतको पुनर्निर्माण सम्पन्न भएको बताए । धरहरा, रानीपोखरी, काष्ठमण्डप, वसन्तपुर दरबार, नुवाकोट दरबार, सिंहदरबार (उत्तर, पूर्व, दक्षिण र पश्चिम भाग), दरबार हाइस्कुलजस्ता मुख्य संरचनाको पुनर्निर्माण भइरहेको छ ।
ज्ञवालीले पुनर्निर्माण तथा पुनस्थापनाका बाँकी अवधिमा पनि अझै केही चुनौती रहेको बताएका छन् । ‘विशेषगरी वित्तीय स्रोतको व्यवस्थापन, सहरी क्षेत्रमा रहेको निजी आवास पुनर्निर्माण, विपन्न वर्गमा परेका लाभग्राहीको आवास पुनर्निर्माण गलत विवरण दिने व्यक्तिहरूबाट रकम फिर्ता गर्नुपर्ने कार्य मुख्य चुनौतीका रूपमा देखापरेका छन्,’ ज्ञवालीले भनेको खबर आजको राजधानी दैनिकमा छ ।