छामी हेर मुटुभित्र देश छ कि छैन ?

मिसमराज अधिकारी
काठमाडौं

छामी हेर आफ्नो मुटु देश छ कि छैन ?
जुन छातीमा नेपाल छैन त्यो नेपाली हैन ।
हिमाल झै अजर अमर गौरव छ कि छैन ?
स्वाभिमान नहुने त्यो , नेपाली नै हैन ।

छातीभरि पहरा र छहराको छाया
नशा भरि नदि नाला सिमानाको माया
मन भित्र हिमाल, पहाड , तराई छ कि छैन ?
जुन मनमा यस्तो छैन त्यो नेपाली हैन ।

नाम नेपाल थर नेपाल जात नेपाल हाम्रो
एकता र सह(अस्तित्व लाग्छ साह्रै राम्रो ।
देशको लागि मर्छु भन्ने जोस छ कि छैन ?
जस्मा जोस छैन साथी , त्यो नेपाली हैन ।

खानी खायो , पानी खायो सिमा मिच्यो आज
अझै के के खाला साथी नरभक्षी वाज ।
बिस्तारवादी शीत लडने आट छ कि छैन ?
जस्मा यस्तो आट छैन , त्यो नेपाली हैन ।

राष्ट्रिय यो संकटमा एक जुट हुनु पर्छ ।
हामी एकजुट भई लडे दुष्मन पनि हार्छ ।
त्यो दुष्मन् लाई हराउने चाह छ कि छैन् ?
जस्मा यस्तो चाह छैन त्यो नेपाली हैन ।

राष्ट्र निर्माण अभियानमा हामी हिड्नु पर्छ ।
स्वाभिमानी , आत्मनिर्भर नेपाल पार्नु पर्छ ।
देशको मुहार हसाउने चाह छ कि छैन ?
जस्मा यस्तो चाह छैन त्यो नेपाली हैन ।

जातपाति भेदभाव छुवाछूत मुक्त
नेपाल र नेपालीको बन्नु पर्छ भक्त ।
नेपाल र नेपालीको भक्ति छ कि छैन ?
जस्मा यस्तो भक्ति छैन त्यो नेपाली हैन ।

अनेकतामा एकताको पहिचान हाम्रो
माहुरी को गोला जस्तो समर्पण छ राम्रो ।
देशको लागि समर्पण को भाव छ कि छैन ?
जस्मा यस्तो भाव छैन त्यो नेपाली हैन ।।।

मिसमराज अधिकारी
रत्ननगर न.पा.वडा नं. १४
चितवन