प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, खतरामुक्त : एक हप्ता अस्पतालमै बस्नुपर्ने

मूलखबर संवाददाता
काठमाडौं, १३ मंसिर

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षीत क्रमिक सुधार भइरहेको उपचारमा संलग्न चिकिसकले जनाएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार पत्रकार सम्मेलन गरी अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो।

‘प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र उहाँ खतरामुक्त हुनुहुन्छ’ निजी चिकित्सक डा. दिब्या सिंह शाहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री दश दिनपछि नियमित काममा फर्कन सक्ने जानकारी दिएका हुन् । त्यस्तै चिकित्सकहरुले एपेन्डिसाइटिसको शलयक्रियापछि सघनकक्षमा उपचाररत प्रधानमन्त्री ओलीको मंगलबार र बुधबार दुईपटक डायलाइसिस गरिएको पनि जनाएका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीलाई मुखबाट ठोस खानेकुरा खुवाउन थालिएको समेत जानकारी दिनुभयो । प्रधानमन्त्री ओली समान्य हिंडडुल गर्न थालेको समेत डा. सिंहले बताउनुभयो ।

उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरुले प्रधानमन्त्रीको एपेन्टिडसाइटिस फुटेको नभई पाकेर फैलिएको बताएका छन् । सामान्य बिरामीको तुलनामा अंग प्रत्यारोपण गरिएको बिरामीमा एपेन्डिसाइटिस पाकेर फैलने सम्भावना बढी हुने जानकारी चिकित्सकहरुले दिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ । पछिल्लो पटक ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिँदै आएको थियो । अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै डायलाइसिस गरिएको हो । डा सिंहले भन्नुभयो, प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ। तर, अझै एक हप्ता अस्पताल बस्नुपर्ने देखिन्छ।त्यसपछि अवस्था हेरेर डिस्चार्ज गरिन्छ’ ।

मंगलबार बिहान अचानक एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्‍त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमै स्वास्थ्यलाभ गरिरहनुभएको छ । उहाँ बुधबारदेखि सामान्य उठबस गर्न तथा कुराकानी गर्न थाल्नुभएको छ

सोमबार रातभर पेट दुस्खेपछि प्रधानमन्‍त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि मंगलबार नै त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा उहाँको सफल शल्यक्रिया भएको थियो। सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहनुभएका ओली शल्यक्रियापश्चात अनेपेक्षीत रुप्मा स्वास्थ्यमा सुधार भएको तथा आत्मबल उच्च् देखिएको भन्दै चिकित्सकले प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई परिवारका सदस्यबाहेक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाा, राष्ट्रपति विद्या देवी भण्डारी लगायतले मात्रै भेट गरेका छन् ।